काठमाडौं– संसद् बैठक अवरोधमा नाम कमाएको मुख्य प्रतिपक्ष एमालेले आजको राष्ट्रिय सभा बैठक पनि अवरुद्ध गरेको छ। आजको बैठकमा एमाले सांसद दिलकुमारी रावलले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नगरिएकाले बैठक चल्न नदिइने घोषणा गर्दै अवरोध गरिएको हो।
राष्ट्रिय सभा बैठकको सुरुमै एमाले सांसदहरुले कुर्सीबाट उठेर विरोध जनाएका थिए। त्यसपछि सभाध्यक्ष गणेश तिमिल्सिनाले रावललाई बोल्न समय उपलब्ध गराएका थिए।
एमाले सांसद रावलले सरकारमा आवद्ध राजनीतिक दलकै नेता, कार्यकर्ता सुन तस्करीमा मुछिएकाले छानबिनमा सरकारले तत्परता नदेखाएको आरोप लगाए। एमालेले लगातार अवरोध गरेपछि सभाध्यक्ष तिमिल्सिनाले अर्को बैठक २४ साउन दिउँसो १ बजे बस्ने गरी स्थगित गरेको घोषणा गरेका छन्।