काठमाडौं- प्रतिनिधि सभाको बैठक आज बस्दैछ। दिउँसो एक बजे बस्ने बैठकमा सभामुख देवराज घिमिरेले नेकपा एमालेका सांसद टोपबहादुर रायमाझी निलम्बनमा परेको जानकारी गराउने सम्भावित कार्यसूची छ।
रायमाझी नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पुर्पक्षका लागि कारागारमा छन्। नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा मुछिएपछि जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले गत वैशाख ३१ गते बुढानीलकण्ठ–४ बाट रायमाझीलाई पक्राउ गरेको थियो।
रायमाझीले ठगी गर्ने गिरोहलाई सहज हुने गरी नीतिगत निर्णय गराउन भूमिका खेलेको आरोप छ। उनीविरुद्ध जिल्ला अदालत काठमाडौंले २० वैशाखमा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसदिन अर्घाखाँचीमा रहेका उनी पक्राउ पुर्जी जारी भएपछि फरार थिए।
संसद् बैठकमा रायमाझी निलम्बनको सूचना सुनाउने कार्यसूची भए पनि रायमाझीकै पार्टी नेकपा एमालेले बैठक चल्न दिने छाँट छैन। सुन तस्करी प्रकरणलाई लिएर प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संसद् बैठक सञ्चालनमा अवरोध गर्दै आएको छ।
सभामुख देवराज घिमिरेले सदनको अवरोध हटाउने विषयमा हिजो दलका सचेतकहरूसँग छलफल गरेका थिए। तर, छलफलमा सत्तापक्ष र प्रतिपक्ष दुवैले सुन तस्करी प्रकरणका विषयमा आ-आफ्नो अडान कायम राखेपछि निकास निस्किएन।
आज सभामुखले दलका शीर्ष नेताहरूसँग छलफल गर्ने भएका छन्। आज संसद् बैठक बस्नुअघि शीर्ष दलका नेतासँग छलफल गर्ने कार्यक्रम तय भएको उनको निजी सचिवालयले जनाएको छ।