आइतबार, वैशाख २७, २०८३

माओवादीले तीन महिने रुपान्तरण अभियान चलाउने

 |  आइतबार, साउन २१, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन २१, २०८०

काठमाडौं- नेकपा माओवादी केन्द्रले तीन महिने पार्टी रुपान्तरण अभियान सञ्चालन गर्ने भएको छ। पार्टीको जारी केन्द्रीय कमिटी बैठकले 'जनतासँग माओवादी विशेष रुपान्तरण अभियान' सञ्चालन गर्ने निर्णय गरेको हो।

National life

अभियान भदौ १६ देखि मंसिर १५ सम्म सञ्चालन गरिनेछ। अभियान अन्तर्गत अध्यक्ष प्रचण्ड सातवटै प्रदेशका ७ वटा वडामा जानेछन्। त्यहाँ उनले जनतासँग प्रत्यक्ष साक्षात्कार गर्नेछन्।

अभियान घोषणा गर्दै अध्यक्ष प्रचण्डले देशभर एकैसाथ यो अभियान चलाउन नेता-कार्यकर्तालाई निर्देशन दिए। उनले अभियानका लागि सबै वडामा एउटा घर पनि नछोडी जानका लागि केन्द्रीय सदस्यहरुसँग आग्रह गरे।

‘तीन महिनामा कुनै पनि घर छुट्न हुँदैन। तपाईंहरु राप्रपाको घरमा जानुस्, कांग्रेसको घरमा जानुस्, एमालेको घरमा जानुस्। हाम्रो पार्टी नै नभएको ठाउँ किन नहोस्, प्रत्येक घरमा जानुस्, गएकै हुनुपर्छ। त्यसको रेकर्ड पार्टीले राख्छ,’ उनले भने। देशभरका सबै ६ हजार ७ सय ४३ वटै वडामा कमिटी बनाउन र त्यसको नेतृत्व लिन केन्द्रीय सदस्यहरूलाई उनले निर्देशन दिए। ‘यो तीन महिना एकताबद्ध भएर अभियान चलाएपछि नयाँ पार्टी बन्ने अवस्था देख्छु,' उनले भने।

साउन १७ गतेदेखि काठमाडौंमा सुरू माओवादीको केन्द्रीय कमिटी बैठक विशेष अभियान घोषणा र पदाधिकारीको जिम्मेवारी हेरफेर लगायतको निर्णय गर्दै आज सकिएको छ।

प्रकाशित: Aug 06, 2023| 15:52 आइतबार, साउन २१, २०८०
प्रतिक्रिया दिनुहोस्