शुक्रबार, जेठ २९, २०८३

तीन सय ८० हेक्टर जमिनमा सिँचाइले उत्पादन बढायो

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

रसुवा- क्रमिकरूपमा कुलो निर्माणबाट रसुवामा भएको सिँचाइको व्यवस्थाले कृषि उपज बढ्न थालेको छ। सिँचाइ डिभिजन कार्यालयले किसानको माग र टट्कारो आवश्यक्ताअनुसार गत आर्थिक वर्षमा १२ वटा नयाँ सिँचाइ कुलो निर्माण र १० वटा भइराखेको सिँचाइ  कुलो मर्मत भएसँगै उर्वर भूमिमा पानीको आपूर्तिले कृषिउपज बढ्न थालेको हो।

National life

समय समयमा पानी नपर्दा कोदो खेतीसमेत बिग्रने जिवजिवेको भदौरे पाखामा सिँचाइको व्यवस्थाले अहिले धानसमेत फल्न थालेको छ। विगत वर्षदेखि पाखोबारीमा खेत बनाएर धान रोप्ने काम अगाडि बढिसकेको भदौरे क्षेत्रका किसानले बताएका छन्।

सिँचाइ  डिभिजन प्रमुख इञ्जिनियर गोविन्द्रप्रसाद भुर्तेलका अनुसार जिल्लामा गत वर्ष कूल तीन सय ८० हेक्टर जमिनमा सिँचाइको सुविधा पुर्‍याई सकिएको र निर्माणका चरणमा अगाडि बढिरहेका क्रमागत केही सिँचाइ योजना भने चालु आर्थिक वर्षमा सम्पन्न हुनेछन्।

सङ्घीय एवं प्रदेश सरकारको अनुदानबाट सिँचाइ कुलो निर्माण र मर्मतका साथै जिल्लाका विभिन्न भागमा १७ वटा नदी नियन्त्रणका काम सम्पन्न गरिएको बताइएको छ। सिँचाइ कुलो निर्माण, मर्मत तथा नदी नियन्त्रणलगायत कार्यसम्पन्न गर्न गत आर्थिक वर्षमा कूल  १३ करोड पाँच लाख खर्च भएको उनीजानकारी दिन्छन्।

यसरी निर्माण गरिएका सिँचाइमा ठूला तथा मझौलासमेत रहेका छन्। उपभोक्ता समितिले जिम्मा पाएको प्रायः सिँचाइ योजना निर्माण सम्पन्न भइसकेका र टेन्डर गरिएका काम भने विविध कारणले अगाडि बढ्न नसकेको प्राविधिकले बताएका छन्।

Shivam cement

यस्तै जिल्लाको दक्षिणी भेकस्थित कालिका गाउँपालिका क्षेत्रभित्र अवस्थित जिवजिवेको आसपासमा पर्ने भदौरे गाउँ क्षेत्रमा निर्माण गरिएको नमुना थोपा सिँचाइले भने तीन सय ५० रोपनी जमिनमा सिँचाइ सुविधा पुगेकोे छ।

पाखोबारीलाई खेतमा रूपान्तरण गर्दै वर्षा याममा सौरेनी मुलको पानीबाट धान रोपाइँ गराउने र धाराबाट खेर जाने पानीलाई ट्याङ्कीमा सङ्कलन गरी हिउँद याममा तरकारी उत्पादन गराउने व्यवस्थापनले किसानमाझ उत्साह बढेको हो।

वर्षायामको धान खेतीका लागि ६० हजार क्षमताको दुई र ३० हजार क्षमताको एउटा  एवं हिउँद याममा धाराबाट खेर जाने पानी सङ्कलनका लागि ५० वटा सिमेन्टका ट्याङ्की निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष तारानाथ पौडेल उल्लेख गर्छन्।

पानीको स्रोत नहुँदा बाँझो रहने जमिनलाई थोपा सिँचाइको अवधारणाअनुसार विसं २०७४ बाट क्रमागतरूपले निर्माण भएको भदौरे नामक थोपा सिँचाइ योजनाबाट तीन सय ५० घर परिवार लाभान्वित भएको बताइएको छ।

सधैँभरी अधिकांश बाँझो बस्ने जमिनमा गरिएको सिँचाइको व्यवस्थाले मङ्सिरमा धान काट्ने र हिउँ याममा रोपिएका विभिन्न प्रकारका तरकारी टिप्न पाउँदा स्थानीय किसान हर्षविभोर भएको स्थानीय सामाजिक अभियानकर्मी बताउँछन्। भदौरे थोपा सिँचाइ योजना देशकै नमुना बन्दै गएको सिँचाइसँग सम्बन्धित प्राविधिकको भनाइ छ।

विकासको पहुँचबाट पछाडि परिरहेको भदौरे क्षेत्रमा ढिलै भए पनि निर्माण भएको थोपा सिँचाइ  विकासले  समुदायको जीवनमा परिवर्तन ल्याएको र यस्तो जनहितकारी योजनाको डिजाइन गरी सञ्चालन गराउने डिभिजन सिँचाइ कार्यालयका तत्कालीन कार्यालय प्रमुख ई कृष्णबहादुर पाण्डे धन्यवादको पात्र रहेको यहाँका बासिन्दा बताउँछन्।

सिँचाइ क्षेत्रमा सरकारले गरेको लगानी जनहितकारी बन्दै गएको बताउँदै स्थानीय किसानले बढी भिरपाखामा  समय समयमा पहिरो जाने समस्या हुन थालेकाले विशेष जोखिम स्थानको भाग मर्मत गराउन वार्षिकरूपले थोरबहुत रकम मर्मतसम्भारका लागि उपलब्ध गराउन सरकारसमक्ष मागसमेत राखेका छन्।

प्रकाशित: Aug 03, 2023| 19:41 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्