शुक्रबार, जेठ २९, २०८३

मधेस प्रदेशमा ५९ प्रतिशत मात्र धान रोपाइँ

 |  बिहीबार, साउन १८, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन १८, २०८०

धनुषा- साउनको दोस्रो सातासम्म मधेश प्रदेशमा जम्मा ५८ दशमलव ८१ प्रतिशत रोपाइँ भएको छ। मधेस प्रदेशस्थित कृषि निर्देशनालयका अनुसार देशकै कृषि क्षेत्रका रुपमा चिनिने मधेशप्रदेशभित्र धान दिवस अर्थात् असार १५ गतेसम्म ११ प्रतिशत मात्र धान रोपाइँ भएको थियो।

National life

समान्यतया रोपाइँ सम्पन्न भइसक्नुपर्ने समयमा आइपुग्दासमेत मधेसका आठ जिल्लामा समग्रमा लगभग ४१ प्रतिशत खेतमा रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कमलदेव कुशवाहाले जानकारी दिए। 

देशको कूल ग्राहस्थ उत्पादनमा धानको उल्लेखनीय भूमिका रहेको छ। मधेश प्रदेशमा सबैभन्दा बढी धान नै उत्पादन हुँदै आएको थियो तर एक दशकयतादेखि उत्पादनमा कमी हुँदै आएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्यांक अनुसार देशको कूल धान उत्पादनको २० देखि २५ प्रतिशत उत्पादन मात्रै यस प्रदेशमा हुने गरेको छ।

प्रदेशका आठवटै जिल्लामा गरी कूल पाँच लाख ७४ हजार तीन सय ६० हेक्टर खेतीयोग्य जमिन रहेकामा चार लाख पाँच हजार चार सय ५० हेक्टर क्षेत्रफल धान रोपाइँयोग्य जग्गा रहेको छ। अहिलेसम्म मात्र दुई लाख ३८ हजार चार सय ४६ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुन नसकेको प्रदेश कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिएका छन्।

यसपालि धनुषासहित मधेस प्रदेशको जिल्लामा लामो समयदेखि वर्षा नै नभएका कारण सिँचाइका लागि निर्मित नहरमा पानी नै आएको छैन। भूमिगत सिँचाइको वैकल्पिक व्यवस्था गरिएको क्षेत्रमा जसोतसो धान रोपाइँ भए पनि नहरबाट सिँचाइ हुने क्षेत्र साउनको दोस्रो साता बिते पनि सुक्खा छ।

Shivam cement

यस प्रदेशमा साना तथा ठूला सिँचाइका स्रोतसमेतलाई आधार मान्ने हो भने तीन लाख ५७ हजार सात सय ९३ हेक्टर क्षेत्रफलमा मात्र सिँचाइको व्यवस्था रहेको कृषि निर्देशनालयले जनाएको छ। खडेरीले यसवर्ष मधेस प्रदेशमै धानखेती प्रभावित भएको छ। अधिकांश खेत सिँचाइको अभावमा बाँझै छ भने रोपाइँ भइसकेको खेत पनि सुकेर चिरा पर्न थालेको छ। 

बोरिङमा विद्युतीय मोटर जडान गरी रोपाइँ भएको खेतमा पनि पर्याप्त पानी नपुगेर बाली सप्रिन नसकेको धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–४ का किसान दिपो यादवले दुःखेसो गरे। ‘पाँच बिघा धानखेती गर्ने तयारी थियो, दुई बिघामा मोटरले पानी लगाएर रोपाइँ त गरेँ, तर खेतमा पानी जमिरहन सक्ने अवस्था छैन, बाँकी दुई बिघामा कहिलेसम्म रोपाइँ गर्ने हो भन्ने ठेगानै छैन’, धनुषाको धनुषाधाम नगरपालिकाका किसान फुलगेन महतोले भने। 

प्रदेश कृषि निर्देशनालयको तथ्यांकअनुसार मधेस प्रदेशमै सबैभन्दा बढी रोपाइँ सप्तरीमा भएको छ। सप्तरीमा ८४ प्रतिशत धान रोपाइँ सम्पन्न भइसकेको छ भने धनुषामा जम्मा २७ प्रतिशत रोपाइँ भएको कृषि निर्देशनालयका निमित्त निर्देशक कुशवाहाले जानकारी दिए।

कुशवाहाका अनुसार बारामा ७५, रौतहटमा ७०, महोत्तरीमा ६० र पर्सामा ५५ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। सर्लाही र सिरहामा ५० प्रतिशत रोपाइँ सम्पन्न भएको निर्देशनालयले जनाएको छ। धान उत्पादनको दृष्टिकोणले मधेसको सबैभन्दा बढी धान फल्ने जिल्लाको रुपमा धनुषा चिनिन्छ। 

प्रकाशित: Aug 03, 2023| 18:19 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्