काठमाडौं– बुधबार र आज दुई दिनसम्म गरिएको केरकारपछि सरकारले विभिन्न देश तथा कूटनीतिक नियोगका लागि सिफारिस गरेका ६ राजदूतलाई संसदीय सुनुवाइ समितिले सर्वसम्मत अनुमोदन गरेको छ।
राजदूत सिफारिस समावेशी भए÷नभएको बुझ्न समितिले हिजो मात्रै परराष्ट्रमन्त्री एनपी साउदलाई सिंहदरबार कार्यालय बोलाएको थियो।
सरकारले न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको नेपाल नियोगमा लोकबहादुर थापा, जेनेभास्थित संयुक्त राष्ट्रसंघीय नेपाली नियोगमा रामप्रसाद सुवेदी, संयुक्त अरब इमिरेट्सका लागि राजदूतमा तेजबहादुर क्षेत्री, कुवेतका लागि राजदूतमा घनश्याम लम्साल, थाइल्यान्डका लागि राजदूतमा धनबहादुर ओली र फ्रान्सका लागि राजदूतमा सुधीर भट्टराईलाई सिफारिस गरेर नाम अनुमोदनका लागि संसदीय सुनुवाइ समितिमा पठाएको थियो।
गत २६ असारको मन्त्रिपरिषद् बैठकले ६ कूटनीतिक नियोगका लागि राजदूत सिफारिस गरेको थियो। संसदीय सुनुवाइ समितिबाट अनुमोदित राजदूतलाई राष्ट्रपतिले नियुक्त गरेपछि सम्बन्धित मुलुकमा जिम्मेवारी लिन जानेछन्।