काठमाडौं–कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका गतिविधिमाथि प्रश्न गरेर संस्थापन इतर समूहका नेताका रुपमा चिनिएका शेखर कोइरालाले आफू कतै नढल्किएको प्रस्टीकरण दिएका छन्।
संस्थापन इतरकै नेताबाट सभापति देउवाप्रति नरम हुँदै गएको गाली गरिरहेका बेला शेखरले आफू कतै नढल्किएको बताएका हुन्।
आज नेपाल प्रेस युनियन काठमाडौंको कार्यक्रम उद्घाटन गर्न निम्ताइएका नेता शेखरले मुलुक अराजकतातिर जान लागेको धारणा व्यक्त गरे। उनले भने, ‘देश अराजकतातिर गइराखेजस्तो मलाई लागेको छ। मुलुकमा दण्डहीनता पनि छ। अदालतले दोषी ठहर गरेकालाई पनि हामी छाडिदिन्छौं। यसले देश अराजकतातिर जान्छ।’
भ्रष्टाचारकै कारण नेपालमा विकास हुन नसकेको शेखरले दाबी गरे। ‘नेपालमा एफडिआई (विदेशी लगानी)को प्रचुर सम्भावना छ तर भ्रष्टाचार, ब्युरोक्रेसीको ढिलासुस्ती, अस्थिर सरकार, नियम ऐन झन्झटिलो हुँदा विकास हुन सकेको छैन भनेर नेपालबारे अमेरिकी रिपोर्टमा उल्लेख छ’, उनले भने।
उनले ललिता निवास, सुन काण्डमा कर्मचारी र भरियालाई मात्र पक्राउ गरिएको दाबी गरे। ‘सुन काण्डमा संसद् अवरुद्ध भइरहेको छ। संसद्मा कुरा राख्ने हो। संसद् अवरुद्ध गर्दा राष्ट्रलाई कति घाटा भइरहेको छ। यो कुरा विपक्षीले बुझ्नुपर्छ,’ उनले भने।
भ्रष्टाचार र तस्करीका नाइकेहरू छुट्ने तर टिप्पणी उठाउने शाखा अधिकृत जेल पर्ने खाले गतिविधि भइरहेको उनको भनाइ छ। ‘सुन काण्ड पनि सामसुम हुन्छ किनकि माथि कोही न कोही इन्भल्व छ’, शेखरले भने।
उनले सुन तस्करीमा संलग्न नेपाली बिचौलियाका पनि बिचौलिया रहेको कुरा खुलिरहेको बताए। उनले भने, ‘१३ सय टन खपत हुने भारतमा ८ सय टन मात्र आयात गर्दो रहेछ । नेपालीहरू बिचौलियाका पनि विचौलिया रहेछन् । नेपालबाट कति सुन गइरहेको होला?’
कुनै इस्यु आउँदा प्रधानमन्त्री तथा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच हुने छलफललाई मार्क गर्नुपर्ने कोइरालाले बताए। ‘हामीले पनि बुझ्नुपर्छ । कुनै इस्यु आउँदा शीर्ष नेता बसिहाल्छन्। के छलफल गर्छन् ? यसलाई मार्क गर्नुस्,’ उनले भने।
यस पटकको केन्द्रीय समिति बैठक आरोप–प्रत्यारोपमै सकिएको आफूलाई लागेको उनले सुनाए। १५औं महाधिवेशन आउन साढे दुई वर्ष बाँकी रहेकाले पार्टीमा गुटको गन्ध र द्वन्द्व देखाउन जरुरी नभएको उनले बताए।
‘मलाई सभापति देउवासँग मिलेको भनेर भाष्य खडा गरिँदै छ। शेरबहादुर देउवाजीसँग म कहाँ मिलें? कहिले मिलें? यस्तो कुरा नलेखिदिनुस्। केन्द्रीय समिति बैठकमा मैले राखेका १५ बुँदा पढेर लेखिदिनुस्,’ उनले पत्रकारलाई भने।
पार्टी सभापतिका नाताले देउवासँग भेटवार्ता गर्न जाने कुरालाई मिलेको भन्न नहुने शेखरले बताए। कांग्रेसलाई मजबुत बनाएर आगामी निर्वाचनमा बहुमतको सरकार बनाउनतिर नेता, कार्यकर्ता लाग्नुपर्ने उनले सुझाए।
उनले भने, ‘१४औं महाधिवेशनमा पाएको ४० प्रतिशत मतलाई ६० प्रतिशत कसरी पुर्याउने भनेर जान्छु। ‘कांग्रेसको मात्रै सांसद हो। कुनै ग्रुपको सांसद होइन। मन्त्री मैले पठाउने कुरा आउँदैन।’