शुक्रबार, जेठ २९, २०८३

सभामुख छाडेका बाबुरामले मन्त्री पाए

 |  बुधबार, साउन १७, २०८०

नेपाल समय

नेपाल समय

बुधबार, साउन १७, २०८०

काठमाडौं- कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाले बुधबार पद तथा गोपनीयताको शपथ लिएका छन्। नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम नियुक्त मुख्यमन्त्री थापालाई प्रदेश प्रमुख पर्शुराम खापुङले पद तथा गोपनीयताको शपथ गराएका हुन्।

National life

मुख्यमन्त्री थापाले आजै तीन जनालाई मन्त्रिमण्डलमा समावेश गरेका छन्। सभामुखबाट राजीनामा दिएका बाबुराम गौतम पनि मन्त्री नियुक्त भएका छन्। उनलाई आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यसैगरी खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रीमा प्रदीपकुमार सुनुवार र भौतिक पूर्वाधार विकास मन्त्रीमा कमलप्रसाद जवेगु नियुक्त भएका छन्। तीनै जना नवनियुक्त मन्त्रीहरूलाई पनि प्रदेश प्रमुख खापुङले शपथ गराएका छन्।

थापाले एक महिनामै दोस्रोपटक मुख्यमन्त्रीको शपथ लिएका छन्। हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेपछि थापा पहिलोपटक असार २१ गते थापा मुख्यमन्त्री नियुक्त भएका थिए। तर तत्कालीन सभामुख बाबुराम गौतमले पनि गरेको हस्ताक्षरलाई सर्वोच्चले असंवैधानिक ठहर गरेपछि उनको नियुक्ति बदर भएको थियो।

सर्वोच्चको पूर्ण इजलासले साउन ११ गते उनको नियुक्ति बदर गरेर सात दिनभित्र नयाँ मुख्यमन्त्री नियुक्तिको प्रक्रिया गर्न प्रदेश प्रमुखको कार्यालयलाई आदेश दिएको थियो। त्यसपछि प्रदेश प्रमुख खापुङले बहुमत पुर्‍याएर मुख्यमन्त्रीको दाबी पेश गर्न मंगलबार साँझ ५ बजेसम्मको समय दिएका थिए।

Shivam cement

सभामुख गौतमले मंगलबार दिउँसो नै राजीनामा गरेपछि थापाले बहुमत प्रदेश सभाका बहुमत सदस्यको समर्थन भएको दाबी पेश गरेका थिए। लगत्तै उनी मुख्यमन्त्री नियुक्त भएका थिए। उनले अब ३० दिनभित्र प्रदेश  सभाबाट विश्वासको मत लिनुपर्नेछ।

 

प्रकाशित: Aug 02, 2023| 18:50 बुधबार, साउन १७, २०८०
प्रतिक्रिया दिनुहोस्