शनिबार, साउन १७, २०८२

गाउँमा बत्ती पुग्दा पुरुषभन्दा महिला बढी खुसी

बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेको छ।
 |  बिहीबार, साउन १८, २०८०
nespernesper

नृपेन्द्रबहादुर मल्ल

नृपेन्द्रबहादुर मल्ल

बिहीबार, साउन १८, २०८०

vianetvianet

मुगु- सोरु गाउँपालिका–१ जवलधारा र गहताडी गाउँमा बिजुली बलेपछि त्यहाँका बासिन्दा खुसी भएका छन्। बिजुलीका कारण महिलालाई काम गर्न सहज हुनाका साथै कार्यबोझ पनि घटेकाले पुरुषभन्दा बढी महिला खुसी देखिएका छन्। बत्ती बलेपछि भान्सा, चुलोचौको, सरसफाइदेखि वनजंगलबाट दाउरा, दियालो ल्याउने काममा सहज हुनाका साथै र कामको बोझ घटेकाले उनीहरूमा खुसी छाएको हो।

'परिवारका लुगा छिट्टै मैला हुन्थे, भाँडाकुडा काला हुन्थे। अब बत्ती बलेपछि खाना बनाउन प्रयोग हुने दाउराको खपत कम हुने, घरमा उज्यालो गर्न दियालोको प्रयोग घट्नाका साथै धुँवा कम हुने भएपछि आफूहरुको आधा काम कम भएको छ,' जवलधारा गाउँकी झपु मल्लले भनिन्, 'हामीले जति राम्रो र सफासुग्घर गरे पनि धुँवाले गर्दा मैला देखिन्थ्यौं। अब राम्रो र चिटिक्क देखिने भयौं।’

सोही गाउँकी जालगेडी मल्ल पनि गाउँमा बिजुली बलेपछि खुसी छन्। उनले भनिन्, ‘बत्ती नहुँदा घरको काम गर्न असहज हुन्थ्यो। छोराछोरीको पढाइलेखाइमा पनि गाह्रो हुनाका साथै घरका प्रायलाई स्वासप्रस्वास तथा अन्य समस्या देखा परेको थियो। यी सबै समस्या बत्ती आएपछि हट्ने र आफूहरुको कार्यबोझ घटेर आराम गर्न फुर्सद मिल्ने आश पलाएको छ।’

पानीको स्रोत नै नभएका यी बस्ती झिलिमिली भएपछि सबै हर्षित छन्। बालबालिका विद्यालयबाट घर आएपछि बेलुका बत्ती नहुँदा दियालो र टुकीमा पढ्न बाध्य थिए। दियालोका कारण बालबालिकालाई कहिले पोल्ने त कहिले घर नै आगलागी हुने घटना हुँदै आएको थियो। अब बिजुलीका कारण बालबच्चाको पढाइ, सरसफाइ र आनीबानीमा समेत सुधार आउनाका साथै देशविदेशका खबर टेलिभिजनमा हेर्न पाइने भएको सोही गाउँका चक्र छत्यालले बताए।

वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रको चार करोडको लागतमा गुल्माघाट जलविद्युत आयोजनाबाट ३८ किलोवाट विद्युत उत्पादन भएपछि पहिलो चरणमा जवलधारा गाउँको ९७ र गहताडी गाउँका २२ घरधुरी लाभान्वित भएका हुन्।

कर्णाली प्रदेशका पूर्वमन्त्री चन्द्रबहादुर शाहीको सक्रियतामा गाउँमा बत्ती बालिएको गुल्माघाट जलविद्युत आयोजना निर्माण समितिका अध्यक्ष कमानसिंह मल्लले सुनाए। बत्तीले गाउँ झिलिमिली भएपछि गहताडी र जवलधारा गाउँबासीलाई मोबाइल चार्ज गर्न, रेडियो बजाउन र राति पढ्न पनि सहज भएको छ।

बत्तीले घरमा उज्यालो भएपछि बालबालिका खुसी भएर राति अबेरसम्म पढ्न थालेको शिक्षक हीरालाल शाहीले बताए। 'बिजुली बल्नेबित्तिकै विद्यार्थी कापीकलम समातेर पढ्न सुरु गर्छन्। पहिले स्कुलबाहेक घरमा पढ्ने बानी प्राय: विद्यार्थीमा थिएन,' शिक्षक शाहीले भने। गुल्मा जिउलादेखि पाँच किलोमिटर टाढा हुम्ला कर्णाली नदी मुगु किनारबाट नहर बनाई सोही नगरबाट पानी ल्याएर जलविद्युत उत्पादन गरिएको उक्त आयोजना निर्माण समितिले जनाएको छ।

उक्त विद्युत निर्माणका लागि वैकल्पिक ऊर्जाले सहयोग गरेको करिब चार करोड बजेटमा विद्युतको पोल, वाइरिङ, आवश्यक उपकरण, पाइप खरिद तथा ढुवानीमा खर्च भएको र पावर हाउस स्थानीयवासीको श्रमदानबाट निर्माण गरिएको जलविद्युत आयोजना निर्माण समितिका सचिव लोकबहादुर मल्लले जानकारी गराए। सो आयोजनाबाट उत्पादन गरिएको ३८ किलोवाट विद्युत गहताडी गाउँका २२ घरधुरीमा पनि पुर्‍याइएको स्थानीयवासी ऐनबहादुर मल्लले बताए।

उक्त आयोजनाबाट नचारा गाउँका ५६, जोगीबाडा गाउँका २७, नार्थपु गाउँका ६४, धुपीगाउँका १० र जडेपानी गाउँका ४२ घरधुरीमा पनि विद्युत पुर्‍याउने लक्ष्यका साथ पोल विस्तार र वाइरिङ गरी बत्ती बाल्ने काम अन्तिम चरणमा पुर्‍याइएको वडा नम्बर १ का वडाध्यक्ष धनकर्ण मल्लले बताए।

हुम्लाको कर्णाली नदीबाट गुल्मा सिँचाइ नहर प्रयोग गरेर ल्याइएको पानीबाट जलविद्युत उत्पादनसँगै करिब १२ हेक्टर खेतीयोग्य जमिनलाई सिँचाइ गर्न टेवा पुगेको छ। पानीको स्रोत नहुँदा धान र गहुँ उत्पादनमा कठिनाइ हुँदै आएकामा गुल्मा क्षेत्रको नहरबाट पानी पुगेपछि सिँचाइमा समेत सुबिधा पुगेको छ।    - रासस

प्रकाशित: Aug 03, 2023| 07:22 बिहीबार, साउन १८, २०८०
प्रतिक्रिया दिनुहोस्