काठमाडौं– नेकपा माओवादी केन्द्रको आजदेखि सुरु भएको केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जम्बो केन्द्रीय समितिसमक्ष प्रतिवेदन पेस गरेका छन्। प्रचण्डको सांगठनिक प्रतिवेदनमा नेकपा माओवादी केन्द्रका स्वेदश, विदेश गरेर साढे सात लाख कार्यकर्ता रहेको उल्लेख छ।
अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गरेको सांगठनिक प्रतिवेदनमा ७ लाख ५२ हजार ९५६ माओवादी कार्यकर्ता रहेको बताइएको हो।
सांगठनिक हिसाबले कमजोर बागमतीमा माओवादीका कार्यकर्ता सबैभन्दा धेरै रहेको प्रचण्डको प्रतिवेदनमा उल्लेख छ। बागमतीमा १ लाख ४७ हजार ५५३, मधेसमा १ लाख १६ हजार ९७५, लुम्बिनीमा १ लाख १२ हजार ९१०, कोशीमा ९९ हजार ६०१, कर्णालीमा ८५ हजार ७७४, सुदूरपश्चिममा ८० हजार ४८२, सम्पर्क समितिमा १९ हजार ३१२, उपत्यकामा १८ हजार ३२५ र प्रवासमा ५ हजार ५३७ जना कार्यकर्ता रहेको प्रचण्डको सांगठनिक प्रतिवेदनमा दाबी गरिएको छ।