शुक्रबार, जेठ २९, २०८३

खोलामा फोहोर फाल्नेलाई जरिवाना

 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

म्याग्दी- बेनी नगरपालिका–७ स्थित कालीगण्डकी र म्याग्दी नदी तथा सार्वजनिकस्थलमा फोहोर फाल्नेलाई जरिवाना तिराउन थालिएको छ। सात नं वडा कार्यालयले वडा भेलाबाट भएको निर्णयअनुसार खोलामा फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाएको हो। जिल्ला सदरमुकाम रहेको बेनी बजारको उक्त वडा भएर बग्ने म्याग्दी र कालीगण्डकी नदीको दोभान पनि छ।

National life

धार्मिक एवम् पर्यटकीय महत्वको कालीगण्डकी र म्याग्दी नदीको जैविक विविधता संरक्षण एवम् प्रदूषण न्यूनीकरण गर्न फोहोर फाल्नेलाई जरिवाना तिराउने नियम बनाइएको वडाध्यक्ष रमेश श्रेष्ठले जानकारी दिए। “नगरपालिकाले घरघरमा गाडी पठाएर कुहिने र नकुहिने फोहोर विभाजन गरेर सङ्कलन गर्ने व्यवस्था मिलाए पनि अटेरी गरेर खोलामा फोहोर फाल्ने समस्या रहेकाले त्यसलाई हटाउन वडा भेलाबाट जरिवाना तिराउने नियम बनाएका हौ,” उनले भने, “फोहोर फाल्ने व्यक्ति र सम्बन्धित घरधनीलाई जरिवाना तथा सूचना दिनेलाई पुरस्कारको व्यवस्था गरेका छौँ।”

फोहोर फाल्ने भाडावालालाई पहिलोपटक एक हजार र दोस्रो पटक   दुई हजार, घरधनीलाई पहिलो पटक  दुई हजार र दोस्रो पटक  चार हजार जरिवाना तोकिएको छ। तेस्रो पटक पनि फोहोर फालेको भेटिएमा घरधनीलाई छ महिना वडाले दिने सुविधा रोक्का राख्ने नियम बनाएर बेनी बजारको सार्वजनिक स्थलमा टाँसिएको छ।

सूचना दिने व्यक्तिलाई जरिवानाको ५० प्रतिशत रकम पुरस्कार दिने पनि व्यवस्था मिलाइएको छ। हिन्दू धर्मावलम्बीहरुले भगवान् विष्णुका रूपमा पूजा गर्ने शालग्रामको शिला पाइने विश्वको एकमात्र कालीगण्डकी नदीमा सिधै फोहोर फालिँदा प्रदूषणको चपेटामा पर्दै आएको थियो।

कालीगण्डकी नदीमा स्नान गर्ने भक्तजन तथा जलयात्रा गर्ने पर्यटकहरु फोहोर तथा प्रदूषणका कारण पीडित भएका थिए। वडा कार्यालयले बर्खामा कालीगण्डकी र म्याग्दी नदीले बगाएर ल्याउने दाउरा सङ्कलन गरी विपन्न परिवारको दाहसंस्कारमा निःशुल्क उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

Shivam cement

यसैगरी कपडा बैंक पनि सञ्चालन गरिएको छ। प्रयोग गर्न योग्य तर लगाउन नचाहेको कपडा बजारवासीले बैंकमा लगेर जम्मा गर्छन्। विपन्न नागरिकले आवश्यक परेमा वडा कार्यालयमा सम्पर्क गरेर बैंकमा भएको कपडा लगेर प्रयोग गर्छन्। यस्तै धार्मिक र पौराणिक महत्वका चौतारी र पोखरी संरक्षण अभियान पनि सञ्चालन गरिएको छ।

प्रकाशित: Aug 01, 2023| 19:41 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्