शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाणसहितका नेताहरू थुनामुक्त माग गर्दै उच्च अदालत पाटन पुगे

नक्कली शरणार्थी प्रकरणः बालकृष्ण खाणसहितका नेताहरू थुनामुक्त माग गर्दै उच्च अदालत पाटन पुगे

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतबाट जेलबास पठाउने निर्णय बदर माग गर्दै उनीहरूले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका हुन्।
 |  मंगलबार, साउन १६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

vianetvianet

काठमाडौं– नक्कली शरणार्थी प्रकरणमा मुछिएको दाबीसहित जिल्ला अदालत काठमाडौंले कारागार पठाएका नेता, कर्मचारी तथा बिचौलियाले थुनामुक्त माग गर्दै उच्च अदालत पाटनमा रिट दायर गरेका छन्। नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालतबाट जेलबास पठाउने निर्णय बदर माग गर्दै उनीहरूले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध पाटन उच्च अदालतमा रिट दायर गरेका हुन्।

नक्कली शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंको आदेशबाट जेलबासमा रहेका तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, गृहमन्त्री बालकृष्ण खाण, नेपाल सरकारका सचिव टेकनारायण पाण्डे, पूर्वसांसद आङटाबा शेर्पा, बिचौलिया केशव दुलाललगायतले थुनामुक्त माग गर्दै रिट निवेदन दर्ता गराएको उच्च अदालत पाटनका रजिस्ट्रार ठगीन्द्र कट्टेलले पुष्टि गरे। नक्कली शरणार्थी प्रकरणमा डामिएकाले जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध उच्च अदालतमा दिएको रिट निवेदनमाथि एक सातापछि पेसी तोकिने उनको भनाइ छ।

नक्कली शरणार्थी प्रकरणमा सुरुमा पक्राउ परेका १८ मध्ये १६ जनालाई जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेमप्रसाद न्यौपानेले गत १ असारमा थुना पठाउने आदेश दिएका थिए। तर सोही प्रकरणमा सजाय सुनाइएका ललितपुरकी लक्ष्मी महर्जन ५ लाख, होटल व्यवसायी टंक गुरुङ १० लाख र केशव तुलाधर १५ लाख रुपैयाँ धरौटीमा छुटिइसकेका छन्।

बाँकी १६ जनालाई हाल केन्द्रीय कारागार सुन्धारामा चलान गरिएको छ। नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने धन्धा चलाइरहेको ठगी प्रकरणमा गत १० जेठमा जिल्ला सरकारी वकिल कार्यालयले ठूला पार्टीका नेता, कर्मचारीसहित ३० प्रतिवादीविरुद्ध मुद्दा दायर गरे पनि अहिलेसम्म ११ जना फरार छन्।

प्रकाशित: Aug 01, 2023| 13:40 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्