काठमाडौं– सुदूरपश्चिम प्रदेशको कांग्रेस सरकारलाई टेको दिँदै आएको रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी अन्ततः सरकारमा सहभागी हुन सहमत भएको छ। एक साताअघि मन्त्री हुनेको नामसमेत घोषणा गरेर सपथ लिनै लागेका बेला केन्द्रमा कुरा नमिलेको भन्दै अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीले अड्काइदिएकी थिइन्।
केन्द्रमा गठबन्धन दलका नेतासहित प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग मन्त्रालय भागबन्डामा सहमति भएसँगै सुदूरपश्चिम प्रदेशको सरकार विस्तार बिहीबार हुने भएको छ। सहमतिअनुसार नागरिक उन्मुक्तिले १ मन्त्री, १ राज्यमन्त्री र २ समिति सभापति पाउनेछ। खाली रहेको अर्को एक मन्त्रालय कांग्रेसलाई दिइनेछ।
यसअघि नागरिक उन्मुक्तिले २ वटा मन्त्रालय दाबी गर्दै आएको थियो। सहमतिअनुसार प्रदेशको भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्रालय नागरिक उन्मुक्तिको पाउनेछ भने आन्तरिक मामिला तथा कानुन मन्त्रालय कांग्रेसको भागमा परेको छ।
यसअघि नागरिक उन्मुक्तिले रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरीलाई सपथ गराउन पत्र पठाएको थियो। तर २ वटा मन्त्रालयको दाबी कायमै राखेपछि सपथ रोकिएको थियो।