शुक्रबार, साउन १, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सिंहदरबारमा बस्दै संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीश सिफारिस हुन सक्ने

सिंहदरबारमा बस्दै संवैधानिक परिषद् बैठक, नयाँ प्रधानन्यायाधीश सिफारिस हुन सक्ने

पदावधि सकिन एक महिना बाँकी हुँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिनुपर्नेमा कांग्रेस, माओवादी र प्रतिपक्षी एमालेबीच संवैधानिक पदमा भागबन्डा नमिल्दा सर्वोच्चमा भावी प्रधानन्यायाधीसमेत सिफारिस हुन सकेका छैनन्।
 |  मंगलबार, साउन १६, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १६, २०८०

काठमाडौं– सर्वोच्च अदालतका प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको उमेर हदका कारण २० साउनदेखि अनिवार्य अवकाशमा जाने भएपछि न्यायालयको नेतृत्व चयन गर्न आज अपराह्न ४ बजे सिंहदरबारमा संवैधानिक परिषद् बैठक बस्ने भएको छ।

संवैधानिक प्रावधानअनुसार पदावधि सकिन एक महिना बाँकी हुँदै नयाँ प्रधानन्यायाधीश सिफारिस गरिनुपर्नेमा मुख्य तीन दल कांग्रेस, नेकपा माओवादी केन्द्र र प्रतिपक्षी एमालेबीच संवैधानिक पदमा भागबन्डा नमिल्दा सर्वोच्चमा भावी प्रधानन्यायाधीसमेत सिफारिस हुन सकेका छैनन्। 

संविधानको धारा १८४ को उपधारा ३ मा प्रधानन्यायाधीश अवकाशमा जानु एक महिनाअघि नयाँ प्रधानन्याधीश सिफारिस गरिसक्नुपर्ने व्यवस्था छ। प्रधानन्यायाधीश नियुक्तिको सिफारिसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अध्यक्षताको संवैधानिक परिषद् बैठक आज बस्दै छ।

विभिन्न संवैधानिक पदमा बाँडीचुँडी गर्न सत्तारुढ दल र एमालेबीच बार्गेनिङ भइरहेको छ। सोही सिलसिलामा मुख्य प्रतिपक्षी एमाले अध्यक्ष केपी ओलीसँग प्रधानमन्त्री प्रचण्डले बारम्बार र कांग्रेस सभापति देउवाले समेत भेट गर्दै आएका छन्।

संवैधानिक परिषद् बैठकले नयाँ प्रधानन्यायाधीश सिफारिस गर्ने सम्भावना छ। संवैधानिक परिषद् बैठक बोलाउन प्रधानमन्त्री प्रचण्डले प्रमुख प्रतिपक्षी दलका नेता तथा एमाले अध्यक्ष ओलीसँग पनि छलफल गरिरहेका छन्।

हाल सर्वोच्चमा १४ न्यायाधीश छन्। आज बस्ने बैठकले हालका प्रधानन्यायाधीश कार्कीपछि वरीयतामा अगाडि रहेका विश्वम्भरप्रसाद श्रेष्ठलाई न्यायालय हाँक्ने नेतृत्वमा सिफारिस गर्ने सम्भावना छ। न्याय परिषद्ले हालका प्रधानन्यायाधीश कार्कीको एक महिना पदावधि बाँकी भएकै दिन सर्वोच्चमा नियुक्तिका लागि योग्यता पुगेका न्यायाधीशको सूची पठाएको थियो।

प्रकाशित: Aug 01, 2023| 11:42 मंगलबार, साउन १६, २०८०
प्रतिक्रिया दिनुहोस्