काठमाडौं– एक क्विन्टल अवैध सुन बरामद प्रकरणपछि लगातार अवरुद्ध हुँदै आएको संसद् अवरोध खुलाउन सभामुख देवराज घिमिरेले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।
प्रमुख प्रतिपक्षी एमाले अवरोधका कारण गत बुधबारदेखि प्रतिनिधिसभा बैठक अवरुद्ध हुँदै आएको छ। सोमबारको संसद् बैठक बस्दै नबसी स्थगित भएकामा आज दिउँसो १ बजेका लागि बोलाइएको छ। निरन्तर संसद् बैठक अवरुद्ध भएपछि सभामुख घिमिरेले सबै राजनीतिक दलका प्रतिनिधि सम्मिलित कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन्।
आज बस्ने भनिएको प्रतिनिधिसभा बैठकअघि मध्याह्न १२ बजे बस्ने गरी सभामुखले कार्यव्यवस्था समिति बैठक बोलाएको सभामुख घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले पुष्टि गरे।
आजै बिहान उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख विपक्षी दलका नेता केपी ओलीसँग टेलिफोन संवाद गरेका थिए। सभामुखले सदन अवरोध खोल्ने विषयमा हिजो पनि प्रधानमन्त्री, विपक्षी दलका नेता, गृहमन्त्री, प्रमुख सचेतक र सचेतकसँग समेत पटक–पटक सामूहिक छलफल गरेका थिए।