काठमाडौं– केन्द्रीय कमिटी बैठकको एजेन्डा तयार गर्न प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादी पदाधिकारी बैठकमा वरिष्ठ उपाध्यक्षसमेत रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अनुपस्थित भएका छन्। एक क्विन्टल सुन तस्करी प्रकरणमा नेकपा माओवादी केन्द्रका नेताहरुको नाम जोडिएको विषयमा पार्टी पदाधिकारी बैठकमा समेत छलफल भएको छ।
यसअघि गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट अवैध रूपमा सुन भित्र्याउने जोसुकै भए पनि कारबाही गरिने र जरैसम्म पुग्ने बताएका थिए। गत ५ साउनमा विमानस्थल भन्सार र अध्यागमन कार्यालयको अनुगमन गर्न पुगेका गृहमन्त्री श्रेष्ठले अहिलेको घटनाका दोषीलाई कारबाही र आगामी दिनमा यस्ता घटना हुन नदिन नयाँ योजना बनाइने प्रतिबद्धता व्यक्त गरेका थिए।
‘कतै तीन ‘ब’ (बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन’ भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भनेका थिए, ‘भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दा मलाई कुनै कोट, टार र पार्टी मतलब छैन। सुन आयात काण्डको जरैसम्म पुगेर दोषीलाई कारबाही गर्छौं।’
अपराधको जरैसम्म पुग्ने बताएका गृहमन्त्री श्रेष्ठ सय केजी सुन प्रकरणमा आफ्नै पार्टीका पदाधिकारीको नाम आएपछि भने मौन छन्। उनी पदाधिकारी बैठकमा पनि उपस्थित भएनन्। यद्यपि मन्त्रालयको काममा भने गएका थिए।
सय केजी सुन तस्करी प्रकरणमा आफ्नो नाम जोडिएकोप्रति प्रतिरक्षा गर्दै उपमहासचिव वर्षमान पुनले फरक सन्दर्भका पुराना तस्बिर राखेर बदनाम गराउन खोजिएको प्रस्टीकरण दिएका छन्। उनले उच्चस्तरीय संसदीय छानबिन समिति गठनको माग गरेका थिए। पक्राउ परेका व्यक्ति र भूतपूर्व उपराष्ट्रपति नन्दबहादुर पुनको फोटो पनि सार्वजनिक भएको छ।
त्यस्तै, पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र उनका छोराको नाम पनि अर्को सुन तस्करी प्रकरणमा जोडेर समाचार आइरहेका छन्। गृहमन्त्री श्रेष्ठ अनुपस्थित बैठकमा सुन तस्करी प्रकरणबारे छलफल भएको उल्लेख गर्दै महासचिव देव गुरुङले भने, ‘सरकारको अभियानप्रति सबैको समर्थन र ऐक्यबद्धता छ। यसलाई अझ प्रभावकारी र सशक्त बनाउनुपर्छ। विज्ञहरू लगाएर न्यायिक ढंगले छानबिन गर्ने र दोषी देखिए जोसुकैले कारबाही भोग्न तयार हुनुपर्छ भन्नेमा सबैको धारणा छ।’
प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले दोषी देखिए आफ्नै पार्टीका नेतालाई पनि नछोड्ने चेतावनी बैठकमा प्रधानमन्त्रीले दिएको बताएका छन्। उनले भने, ‘तथ्य र प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ। प्रमाणले देखाए पार्टीकै भए पनि कसैलाई छाडिँदैन भन्ने प्रधानमन्त्रीको भनाइ थियो।’
गृहमन्त्री श्रेष्ठ अस्वस्थताका कारण बैठकमा सहभागी नभएको बताइए पनि अनुसन्धान चलिरहेको फौजदारी कसुरमा पार्टीकै नेताको नाम जोडिएका बेला उनको अनुपस्थिति अर्थपूर्ण भएको माओवादी नेताहरुले बताएका छन्।
विभागका सूचना अधिकारी नवराज अधिकारीका अनुसार सुन बरामद प्रकरणमा हालसम्म १८ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा नेपाली र विदेशी नागरिक पनि छन्। उनीहरूलाई थुनामै राखेर अनुसन्धान गर्न हिजो मात्रै अदालतबाट १५ दिने म्याद थपेको छ। उनीहरूको मोबाइलको कल डिटेल नेपाल टेलिकमसँग माग गरिएकाले सम्पर्क कुन तहका व्यक्तिसँग थियो भन्ने खुल्ने अपेक्षा जाँच अधिकारीले गरेका छन्।