शुक्रबार, जेठ २९, २०८३

राती साढे १२ बजे हात्तीले घर भत्काउन थालेपछि...

हात्तीको त्रासका कारण नसुतेरै रात कटाउने बाध्यतामा छन् राजीपुरबासी। 
 |  सोमबार, साउन १५, २०८०

नेपाल समय

नेपाल समय

सोमबार, साउन १५, २०८०

टीकापुर– कैलालीको टीकापुर नगरपालिका–२ राजीपुर मिलनचोकका कालीदेवी सुनारको परिवार मस्त निद्रामा थियो। निदाएका कालीदेवीको घर एक्कासि हल्लिन थाल्यो। कालीदेवीले घर किन हल्लियो भनी टर्च बालेर हेर्दा घर हात्तीले भत्काउन थालेको थियो।

National life

कालीदेवीले केही सोच्नै सकिनन्। हात्तीले उनको ठाटी घरका साथै भकारीमा भण्डारण गरेको धान, गहुँलगायत खाद्यान्न सबै नष्ट गरिदियो। ‘हात्तीले पछाडि घरमा हान्न थाल्यो, भूकम्प आयो कि भन्ने सोचें,’ कालीदेवीले भने, ‘घरका भित्ता भत्किन थालेपछि टर्च बालेर हेर्दा हात्ती मच्चिएको थियो। हामी घरमा चार जना थियौं। छोरीछोरा र १३ वर्षको नाति। बालबच्चालाई कसरी उठाएर सुरक्षित स्थानसम्म लगें, थाहा छैन।’

हात्तीले पछाडितिर भत्काउन थालेपछि अगाडिपट्टिको ढोकाबाट उनको परिवार भाग्न सफल भएको थियो। कालीदेवीका अनुसार हात्ती अगाडितिरबाट आएको भए भाग्न सकिने थिएन। ‘हात्ती देखेपछि डरले मुटु काँप्यो, ज्यान जोगाउन ढोका खोलेर भाग्यौं’, उनले भनिन्, ‘यसरी भागिएछ कि भाग्दाभाग्दै बर्दिया जाने पुलसम्म भागिएछ। हामी कराउँदै भागेका थियौं। खुट्टामा चप्पल पनि लगाएनौँ, ज्यान मात्र सम्झियौं।’

कालीदेवीका श्रीमान् दानबहादुर सुनार रोजागारीका लागि भारतमा छन्। परिवार कराउँदै दौडिन थालेपछि गाउँले हल्ला सुनेर हात्ती भगाएको दानबहादुरले बताए। राजीपुरका स्थानीय हात्तीको त्रासका कारण रातीको समयमा सुत्न मुस्किल भएको बताउँछन्। यहाँ जंगली हात्तीले अहिलेसम्म चार घर भत्काइसकेको स्थानीयको भनाइ छ।

विगतमा पनि यहाँ हात्तीले नोक्सानी गर्ने गरेको थियो। यसरी पटक–पटक नोक्सानी गर्दा पनि स्थानीय सरकारले चासो नदेखाएको उनीहरुको गुनासो छ। गाउँमा हात्तीको आक्रमण बढिरहेकाले नागरिकको सुरक्षाका लागि स्थानीय सरकारले सडकबत्तीको व्यवस्था गर्नुपर्ने स्थानीय सुनारले बताए। ‘अहिलेसम्म चार घर हात्तीले भत्काइसकेको छ’, उनले भने, ‘वर्षौंदेखि यही बसिरहेका हामी कहाँ जानू? त्रासमा पनि कसरी बस्ने होला?’

Shivam cement

हात्तीले क्षति गरेको स्थानको वडाध्यक्ष दीपक चौधरीले अनुगमन गरेका छन्। अनुगमनका क्रममा एउटा घर, धान बालीमा क्षति हुनुका साथै भकारीमा रहेको धान खाएको उनले बताए। क्षतिको यकिन विवरण संकलन गरी त्यहीअनुसार राहत उपलब्ध गराइने वडाध्यक्ष चौधरीले जानकारी दिए।

‘हात्ती तथा जंगली जनावरको जोखिम छ, सुरक्षित हुनुस् भनी स्थानीयलाई नियमित सूचना जारी गरिरहेका छौं’, उनले भने, ‘जंगल बस्ती नजिक भएकाले यहाँका नागरिक असुरक्षित छन्। क्षति भएका परिवारलाई राहत दिन पालिकाले सक्दो सहयोग गर्नेछ।–रासस

प्रकाशित: Jul 31, 2023| 17:06 सोमबार, साउन १५, २०८०
प्रतिक्रिया दिनुहोस्