काठमाडौं– सत्तारुढ नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सुन तस्करी छानबिन गर्न संसदीय वा न्यायिक समिति गठनको प्रस्ताव गरेका छन्। गत बुधबार त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास भई बाहिरिएको अवैध एक क्विन्टल सुन प्रकरणमा वर्षमानको नाम जोडिएको छ।
सुन तस्करी प्रकरणमा आइतबार पक्राउ परेका बेल्जियम नागरिक दाबा छिरिङको सुन तस्करीलाई वर्षमानले सघाएको आरोप लागेको छ। तर वर्षले दाबासँग आफ्नो कुनै सम्बन्ध नरहेको दाबी गरे।
आज बालुवाटारमा बिहान बसेको माओवादी पदाधिकारी बैठक समापनपछि पत्रकारले सोधेको प्रश्नमा नेता पुनले सरकारले सञ्चालन गरेको भ्रष्टाचार र अनियमितता विरोधी अभियानलाई अन्यत्रै मोड्न नियोजित चलखेलका रूपमा आफ्नो नाम दाबासँग मुछिएको दाबी गरे।
गृहजिल्ला रोल्पा थवाङकी पार्टी कार्यकर्ता अमला रोकाले दाबासँग विवाह गरेको, अमलाले चिनजान गराउन एक पटक डेरामा लिएर आएका बेला दाबासँगै खाना खाएको उनको भनाइ छ। उनले भने, ‘दाबा पक्राउपछि आठ वर्ष पहिला भएको भेटघाटको समय खिचिएको सामूहिक तस्बिरलाई अहिलेको घटनासँग जोडेर प्रचार गरिएको हो। यसमा मेरो संलग्नता छैन। चरित्र हत्या गरिएको हो।’
सुन तस्करी प्रकरणमा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग, पार्टी उपाध्यक्ष कृष्णबहादुर महरा र आफ्नो नाम मुछ्ने प्रयास भएकाले सत्यतथ्य छानबिन हुनुपर्ने माग उनले गरे।
‘बरामद सुन प्रकरणमा नाम आएका सबैबारे छानबिन गर्न प्रहरीको अपराध अनुसन्धानमा विज्ञ टोली, संसदीय समिति वा विशेष समिति बनाउनुपर्छ। हामी नेता, हाम्रा आफन्त वा ज–जसको यो काण्डमा संलग्नता देखिन्छ, त्यसले सजाय भोग्नुपर्छ। जेल जान तयार हुनुपर्छ,’ उनले भने।
बैठकमा पार्टी अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सुन तस्करी र भ्रष्टाचारका सबै घटनाको निष्पक्ष छानबिन हुने विश्वास दिलाएका थिए।