काठमाडौं– विमानस्थलबाट अवैध एक क्विन्टल सुन बरामद प्रकरणलाई लिएर गत बुधबार संसद् अवरोध गरेपछि आजका लागि प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ। बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने संसद् सचिवालयले जानकारी दिएको हो।
बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची छ। सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र पढेर सुनाउनेछन्।
यस्तै, नक्कली भुटानी शरणार्थी प्रकरणमा डामिएका एमाले सांसद टोपबहादुर रायमाझी निलम्बन भएको जानकारी आजकै बैठकमा सभामुख घिमिरेले जानकारी गराउने सम्भावित कार्यसूचीमा भनिएको छ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोगका पदाधिकारीको कार्यावधि थप गर्ने प्रस्ताव सदनमा पेस गर्ने सम्भावित कार्यसूची छ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राइले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख छ।
संसद्लाई नियमित काम गर्न दिन आग्रह गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारलाई बालुवाटार बोलाएर छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान साढे ७ बजे भएको छलफलमा संसद्को भूमिका प्रभावकारी बनाउने विषयमा कुराकानी भएको रास्वपाले जनाएको छ। ‘संसद सञ्चालनमा यहाँहरूले राम्रै भूमिका खेलिरहनुभएको छ। यसलाई अझ प्रभावकारी बनाउन थप भूमिका अपेक्षित छ भनेर प्रधानमन्त्रीज्यूले भन्नुभयो,’ उनले भने। छलफलमा संसदीय समिति सभापति चयनमा भएको ढिलाइबारे प्रधानमन्त्री प्रचण्डको ध्यानाकर्षण गराएको उनले बताए।
प्रधानमन्त्री प्रचण्डले संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा पनि सहयोगका लागि आग्रह गरेको बुझिएको छ। ‘हामीले राज्य र विद्रोही दुवैतर्फबाट पीडितलाई बोलाएर छलफल ग¥यौं। विधेयकका अन्तरवस्तुबारे राष्ट्रिय मानवअधिकार आयोग, कानुनविद्, सरोकारवाला, प्रबुद्ध व्यक्तित्वसँग पनि कुराकानी गरेर प्रतिवेदन लेखन भइरहेको जानकारी गराएँ’, उनले भने। संक्रमणकालीन न्यायसम्बन्धी विधेयक यथाशीघ्र टुंग्याउन प्रधानमन्त्री गम्भीर रहेको आफूले पाएको परियारले सुनाए।
दिउँसो १ बजे बस्ने कार्यसूची रहेको संसद् बैठकलाई आज पनि एमालेले अवरोध गर्ने संकेत दिएको छ। अवैध सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय आयोग गठन माग गरिए पनि सरकारले त्यसमा चासो नदेखाएकाले आजको बैठक पनि चल्न नदिइने एमाले नेता गोकर्ण विष्टले बताए।
उनले भने, ‘अवैध सुन तस्करीबारे सरकारले अहिलेसम्म उच्चस्तरीय छानबिन आयोग गठनमा चासो दिएन। आजको संसद् बैठक पनि चल्न दिँदैनौं। संसदीय छानबिन समिति गठनको घोषणा गरे मात्र संसद् चल्छ, नभए चल्दैन।’ गत बुधबार बसेको बैठकमा पनि एमाले सांसदले सुन तस्करी प्रकरण छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठनको माग गर्दै अवरोध गरेका थिए।