आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न लेखा समितिको ध्यानाकर्षण

सुन तस्करी छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न लेखा समितिको ध्यानाकर्षण

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

काठमाडौं- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले सय किलो सुन तस्करीका सम्बन्धमा छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। समितिको आजको बैठकले यो निर्णय गरेको हो।

National life

समितिको सभापतित्व गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सारबाट बाहिरिएको सुन तस्करीको छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको जानकारी दिए।

आजको बैठकमा सुन तस्करीसँग राजस्वको विषय जोडिने भएको र त्यो विषय समितिको क्षेत्राधिकारमा पर्ने भन्दै सरकारको ध्यानाकर्षण गराउने निर्णय भएको केसीले बताए। एमालेका सांसद ऋषिकेश पोखरेलले भने सरकारलाई सुन तस्करीबारे उच्चस्तरीय छानबिन समिति गठन गर्नका लागि निर्देशन नै दिनुपर्ने माग गरेका थिए।

केसीले भने संसद्‌मा उक्त विषय उठेको र निष्कर्षमा संसद् नपुगेकाले ध्यानाकर्षण गराउनुपर्ने बताए। 'त्रिभुवन विमानस्थलबाट ठूलो परिमाणमा गैरकानुनी रुपमा भित्रिएको सुनको छानबिन गर्न-गराउन उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारको गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँछ,'  समितिको निर्णयमा भनिएको छ।

राजस्व अनुसन्धान विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्कर गरी ल्याएको सय किलो सुन बरामद गरेको थियो। ठूलो परिमाणमा तस्करीको सुन बरामद भएपछि प्रमुख प्रतिपक्षी दल एमालेले गृहमन्त्री श्रेष्ठको राजीनामा माग्दै संसद् अवरुद्ध गरेको थियो।

समितिको बैठकले आफ्नो आन्तरिक कार्यविधि पारित गरेको छ। लेखा समितिले आफ्ना बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकले प्रत्यक्ष प्रसारणसहितका प्रावधान राखेर आन्तरिक कार्यविधि पारित गरेको हो।

समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रत्यक्ष प्रसारणले जिम्मेवार प्राप्त अधिकारीको जवाफदेहिता देखिने बताए। संवेदनशील विषयमा गोप्य बैठक गर्न सकिने र अरू बेला प्रत्यक्ष प्रसारण गर्दा जनप्रतिनिधिको कार्यसम्पादन जनताले थाहा पाउने उनले बताए। समिति सभापति अविलम्ब चयन गर्नका लागि सम्बन्धित पक्षलाई ध्यानाकर्षण गराउने निर्णय पनि समितिले गरेको छ।

 

प्रकाशित: Jul 30, 2023| 15:26 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्