शुक्रबार, साउन २३, २०८२

सार्वजनिक लेखा समितिको बैठक लाइभ गरिने

 |  आइतबार, साउन १४, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

vianetvianet

काठमाडौं- प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले आफ्ना बैठकहरू प्रत्यक्ष प्रसारण गर्ने निर्णय गरेको छ। समितिको आइतबार बसेको बैठकले प्रत्यक्ष प्रसारणसहितका प्रावधान राखेर आन्तरिक कार्यविधि पारित गरेको हो।

समितिको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले प्रत्यक्ष प्रसारणले जिम्मेवार प्राप्त अधिकारीको जवाफदेहिता देखिने बताए। संवेदनशील विषयमा गोप्य बैठक गर्न सकिने र अरू बेला प्रत्यक्ष प्रसारण गर्दा जनप्रतिनिधिको कार्यसम्पादन जनताले थाहा पाउने उनले बताए।

आइतबारको बैठकमा समितिमा विचाराधीन एक सय उजुरीको संक्षिप्त विवरण सदस्यहरूलाई वितरण गरिएको थियो। समितिमा विद्युत प्राधिकरण, कपिलवस्तुको बाल मन्दिर, सुरक्षण मुद्रण, चिनी मिलले भुक्तानी नदिएको, छायादेवी कम्प्लेक्सले ऐतिहासिक सम्पदा मासेको, प्रहरी प्रधान कार्यालयमा भएको अनियमितता, एन्फामा भएको अनियमितता आदि  विषयका उजुरी विचाराधीन छन्।

बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सय किलो सुन तस्करीबारे छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गरेका थिए। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतमाथि नै छानबिन गर्नुपर्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने एमालेका सांसदहरूको माग छ।

एमाले सचिवसमेत रहेका सांसद योगेश भट्टराईले गृहमन्त्री र अर्थमन्त्रीमाथि पनि छानबिन गर्न प्रहरीले नसक्ने भएकाले उच्चस्तरीय समिति गठन गर्नुपर्ने बताए। सत्तारूढ दलका नेता सुन तस्करीमा संलग्न रहेको आरोप लगाउँदै भट्टराईले सरकारलाई ध्यानाकर्षण पत्र लेख्नुपर्ने बताए।

Metro Mart

एमालेकै सांसद ऋषिकेश पोखरलेलले पनि सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने बताए। कांग्रेस सांसद तेजुलाल चौधरीले पनि सुन तस्करी प्रकरणमा समितिले छानबिन गर्नुपर्ने बताए। सत्तारूढ दल जसपाका सांसद प्रदीप यादवले लेखा समितिले उपसमिति गठन गरेर छानबिन हुनुपर्ने बताए।

कांग्रेस सांसद रामकृष्ण यादवले पनि सार्वजनिक लेखा समितिमा गृहमन्त्री र अर्थमन्त्रीलाई बोलाएर जानकारी लिनुपर्ने बताए। भन्सार प्रमुखलाई पनि समितिमा बोलाउनुपर्ने उनले माग गरे।

 

प्रकाशित: Jul 30, 2023| 14:37 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्