शुक्रबार, जेठ २९, २०८३

बाढीपहिरोबाट बाजुराका युना र बौडीका केही परिवार विस्थापित

 |  आइतबार, साउन १४, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन १४, २०८०

बाजुरा- लगातारको अबिरल वर्षाका कारण जिल्लामा बाढी र पहिरोका कारण केही बस्ती जोखिममा परेका छन्। बिहीबारबाट आएको लगातारको वर्षाले हिमाली गाउँपालिका-३ युना र बौडीका केही परिवार विस्थापित भएका हुन्।

National life

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार शुक्रबार र शनिबार आएको वर्षाका कारण युनाका दिपलाल बुढा, जंगबहादुर सुनार, रंगमल सुनार, शक्ति सुनार र प्रदीपलाल सुनारको घर भत्किएर पूर्णरूपमा क्षति भएको छ।

जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक रवीन्द्रसिं कठायतले वर्षाले हिमाली-३ युना र बौडीका पाँच घर भत्केको बताए। वर्षाले बौडीका पेमा कार्की, पदम कार्की, कृष्ण कार्की, दावा थापा र सोनाम थापाको घर भत्किएका छन। युनाका १३ परिवार बाढी र पहिरोको जोखिममा रहेको प्रहरीले जनाएको छ।

बौडीका पाँच परिवार गुम्बामा बसोबास गर्दै आएकाले मानवीय र पशु चौपायाको कुनै क्षति नभएको प्रहरी निरीक्षक कठायतको भनाइ छ।

वर्षाका कारण पूर्णरूपमा क्षति भएका युनाका परिवार युना आधारभूत सहरी स्वास्थ्य केन्द्रमा बस्दै आएका छन। घर वरिपरि चिरा परेको र घरभित्रबाट पानी निस्केर बग्न थालेपछि उनीहरू विस्थापित भएका हुन्।

Shivam cement

लगातारको अबिरल वर्षाका कारण गौमुल गाउँपालिका–३ बेहरी ढल्काँडाका पाँच परिवार विस्थापित भएका छन्। विस्थापित भएका पाँच परिवार आफन्तको घरमा बसेका छन्।

अन्य आठ घर जोखिममा रहेको प्रहरी निरीक्षक कठायतले बताए। घर माथिबाट पहिरो आएको र तलबाट नदीले कटान गर्न थालेपछि उक्त बस्ती जोखिम बढेपछि ती परिवार पूर्णरूपमा विस्थापित भएका छन्।

बाजुरा बाढी पहिरोका लागि उच्च जोखिममा पर्ने जिल्ला हो। साविक २७ गाविसमध्ये १६ बढी गाविसको मानव बस्ती सार्नुपर्ने भू-गर्भविद्ले सुझाव दिएका जनाइएको छ।

यही सिफारिसका आधारमा २०७२ मा एकीकृत बस्ती विकासको परीक्षणका लागि ७४ करोड रकम पनि विनियोजन गरिएको थियो। हाल त्यसको कुनै कार्यान्वयन र निरन्तरता हुनसकेको छैन्।

जिल्लाका दुई हजार बढी परिवार अहिले उच्च जोखिममा देखिन्छन्। वर्षात्का अधिकांश रात ननिदाएरै सुत्नुपर्ने अवस्था यहाँका स्थानीयको छ।

भिरालो र पाखो जमिन, चारैतर्फबाट पहिराको डर र बेला-बेलाको भूकम्पले चिराचिरा परेका जमिन र घर झनै जोखिम रहेको स्थानीय बताउँछन्।

पहिराको प्रकोपबाट उच्च जोखिममा दर्जनौँ बस्ती रहेपनि पालिकास्तरीय विपद् जोखिम व्यवस्थापन समितिले दीर्घकालीन योजना भने बनाएको देखिँदैन।

बाढी र पहिरोबाट दर्जनौँ बस्तीका स्थानीय विस्थापित हुने र जोखिममा पर्ने गरेका भएपनि स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन समितिले पूर्वतयारी कार्ययोजना बनाएका छैनन्।

विपद्मा के गर्ने भन्ने कार्ययोजना नबन्दा उनीहरूलाई राहत र उद्धारकार्यमा समस्या हुने गरेको छ। 

प्रकाशित: Jul 30, 2023| 11:45 आइतबार, साउन १४, २०८०
प्रतिक्रिया दिनुहोस्