काठमाडौं– गत बुधबार त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भएर ट्याक्सीमार्फत लैजाँदै गरेको अवैध एक क्विन्टल सुनको मुख्य मालिक सरकारकै संरक्षणमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले दाबी गरेका छन्।
ट्याक्सीमार्फत लगिँदै गरेको अवैध सुन राजस्व अनुसन्धान विभागको टोलीले बरामद गर्नुअघि मालिक पछ्याउनुपर्नेमा त्यसो नगरिएकाले सरकारी संरक्षण प्रस्टै देखिएको उनले दाबी गरेका हुन्।
आज भक्तपुरमा रास्वपा भक्तपुर नगर समिति गठन तथा घोषणासभामा सहभागी सभापति लामिछानेले सुन प्रकरणमा सरकारले ठूला मालिक देखेपछि अनुसन्धान टुंग्याउनुको साटो अर्को फाइल खोल्नतिर लागेको आरोप लगाए।
सरकार सुन प्रकरणमा व्यक्ति हेरेर अनुसन्धानलाई निचोडमा नटुंग्याई अर्को फाइल खोल्ने तयारीमा लागेकाले रास्वपाले खबरदारी गरिरहेको उनले बताए। ‘सुन बोकेर मालिकसम्म जान लागेको ट्याक्सीलाई बीच बाटोमै समातेर मालिक जोगाउन खोजिएको हो कि भन्ने आशंका छ। ट्याक्सीको पछि लागेको भए सुनको मालिकसम्म पुग्न सकिने भए पनि त्यसो गरिएन,’ उनले भने।
गत बुधबारको सुन तस्करी परिमाण हेर्दा मालिक ठूलै मान्छे हुन सक्ने उनको दाबी छ। ‘बीच बाटोसम्मको खबर पाएर भरिया समाउन सक्ने सरकार मालिकसम्म किन पुगेन? सुनका मालिक हेर्न बसेका छौं,’ उनले भने। लामिछानेले आगामी निर्वाचनमा रास्वपालाई एकल सरकार बनाउने गरी जनताले विश्वास गरे भ्रष्टाचार मुद्दामा सबैमाथि अनुसन्धान गरिने जानकारी दिए।