शुक्रबार, साउन २३, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाहीः गृहमन्त्री नारायणकाजी

भ्रष्टाचारमा संलग्न जुनसुकै पार्टी र परिवार भए पनि कारबाहीः गृहमन्त्री नारायणकाजी

राजनीतिक परिवर्तनपछि पनि भ्रष्टाचार र कमिसनले जरा गाड्दा देशलाई बर्बाद बनाएको नारायणकाजीको बुझाइ।
 |  शनिबार, साउन १३, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन १३, २०८०

vianetvianet

काठमाडौ–उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले भ्रष्टाचार र ठगी प्रकरणमा संलग्न जुनसुकै दल र परिवारका सदस्य भए पनि  कारबाहीको दायरामा ल्याइने बताएका छन्।

आज गोकर्णेश्वरको जगडोलस्थित राष्ट्रिय सहिद तथा शान्ति उद्यानमा आयोजित कार्यक्रममा सरिक गृहमन्त्री श्रेष्ठले भ्रष्टाचारमा जुनसुकै राजनीतिक दल, परिवार तथा ओहोदाका व्यक्ति संलग्न भए पनि कारबाही गरिने बताएका हुन्। सरकारले सुशासनलाई पहिलो सर्त बनाएको उल्लेख गर्दै उनले सुशासनबिना समृद्धिको यात्राले फड्को मार्न नसक्ने दाबी गरे।

‘भ्रष्टाचार, बेथिति र ठगी विरोधी अभियान रोकिँदैन। जुनसुकै राजनीतिक पार्टी, परिवार, व्यापारिक घराना र नाता सम्बन्धका हुन्, कसैसँग सरकारलाई मतलब छैन, अनुसन्धानका आधारमा दोषी देखिन्छ भने कारबाहीको दायरामा ल्याइन्छ,’ उनले भने। मुलुकमा सुशासन स्थापना गर्न सरकारले चालेको भ्रष्टाचारविरुद्धको अभियानमा सबैको साथ आवश्यक रहेको उपप्रधानमन्त्री श्रेष्ठले उल्लेख गरे।

‘आमजनता अब देशमा केही हुन्छ भन्नेमा आशावादी छन्। भ्रष्टाचारविरुद्धको अभियानको विपक्षमा उभिनेका सम्बन्धमा सचेत हुनुपर्छ,’ उनले भने। भ्रष्टाचार विरोधी अभियानको विपक्षमा आवाज उठाउनेबाट सरकारको यस अभियानलाई कुनै पनि हालतमा विश्राम दिन नसक्ने उनको भनाइ थियो। 

भ्रष्टाचार र कमिसनले जरा गाड्दा राजनीतिक परिवर्तनपछि समृद्धिको यात्राले गुणात्मक फड्को मार्न नसकेको उल्लेख गर्दै उनले कमिसन र भ्रष्टाचारले देशलाई बर्बाद बनाएको बताए। उनले समृद्धिको यात्रालाई अगाडि बढाएर मुलुकलाई समुन्नत बनाउने शहीदका सपना पूरा गर्न बाधक बनेको भ्रष्टाचारलाई जरैदेखि उन्मूलन गर्न आवश्यक रहेको उल्लेख गरे।

Metro Mart

‘अब भ्रष्टाचार र कमिसनखोरी अन्त्य गरिदिनुपर्छ, जसले नियमविपरीत काम गरेका छन्, तिनलाई कानुनको दायरामा ल्याउनुपर्छ’, उनले भने, ‘तब मात्रै सुशासन स्थापित हुन्छ। यसबाट मात्रै समृद्धिको लक्ष्य हासिल हुन सक्छ।’

समृद्धिपछि मात्रै सामाजिक न्याय स्थापित गर्न सकिने उल्लेख गर्दै उपप्रधानमन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको उद्देश्य पूरा गर्न राजनीतिक दलका नेता कार्यकर्ताले सोच्नुपर्ने बताए।

‘राजनीतिक परिवर्तनलाई माध्यम बनाएर सामाजिक, आर्थिक रुपान्तरण कसरी गर्ने? नसोची आफ्नो पद कसरी प्राप्त गर्ने, पदको दुरूपयोग गरेर परिवारको मात्रै समृद्धिको कल्पना गर्ने, संविधान र कानुनलाई तोडेर भए पनि आफ्ना पार्टी वरिपरिका मान्छेलाई कसरी पोस्ने भनेर सोच्यौं भने सहिदको सपना पूरा हुँदैन’, उनले भने।

प्रकाशित: Jul 29, 2023| 13:52 शनिबार, साउन १३, २०८०
प्रतिक्रिया दिनुहोस्