काठमाडौं– कांग्रेस नेता प्रकाशमान सिंहले पार्टी संगठनलाई बलियो र चलायमान बनाएर गति दिन प्रशिक्षण अनिवार्य रहेको बताएका छन्। आज कांग्रेस काठमाडौं महानगर सम्मेलन उद्घाटन गर्दै पार्टी कार्यकर्ताले परिवर्तनको अनुभूति गर्ने गरी प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा नेता सिंहले जोड दिएका दिएका हुन्।
‘कांग्रेसको प्रशिक्षण पार्टी संगठनलाई सुदृढ र अझ राम्रो गर्न हो। प्रशिक्षणले कार्यकर्तालाई पार्टीप्रति थप लगाव बढाउन सकिन्छ। पार्टी चलायनमान हुन सक्छ,’ उनले भने। सानेपा केन्द्रीय समिति बैठकको निर्णयअनुसार जनतासँग प्रत्यक्ष जोड्ने खाले कार्यक्रमसहितको सर्कुलर छिट्टै जारी हुन लागेको उनले बताए।
सानेपा सर्कुलरमा उल्लेख भएका नीति तथा कार्यक्रमलाई व्यवहारमा कार्यान्वयनमा ल्याउन कांग्रेसको प्रशिक्षण देशैव्यापी बनाउने उनको भनाइ छ। केन्द्रीय समिति बैठकपछि कांग्रेसमा नयाँ ऊर्जा थपिएकाले सोहीअनुसार फिल्डमा खटिन उनले नेता, कार्यकर्तासँग आग्रह गरे।
उनले भने, ‘कांग्रेस संगठन बलियो भए मात्र पार्टी बलियो हुन्छ। आगामी चुनौती सामना गर्न सकिन्छ। यसतर्फ जिम्मेवारीमा रहेका सबै नेता–कार्यकर्ताले थप मिहिनेत गर्नुपर्छ’, सिंहले भने।
स्थानीय सरकारका जनप्रतिनिधि र स्थानीय पार्टी कमिटीबीचको सहकार्य प्रभावकारी हुनुपर्नेमा उनले जोड दिए। कांग्रेस क्रियाशील सदस्यताको महत्त्वलाई ध्यान दिन जरुरी रहेको उल्लेख गर्दै उनले पार्टीलाई आवश्यकता पर्दा कहीँ नदेखिने तर अधिवेशनमा कसैलाई जिताउन मात्रै देखिने गर्दा समस्या भएको बताए।