मंगलबार, वैशाख २९, २०८३

नयाँ आर्थिक वर्षको पहिलो साता सरकार नाफामा

१० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख आम्दानी गरेको छ भने यो अवधिमा खर्च १२ अर्ब ६४ करोड ६४ लाख भएको महालेखाको विवरण।
 |  बिहीबार, साउन ११, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ११, २०८०

काठमाडौं– नयाँ आर्थिक वर्ष २०८०/८१ को पहिलो साता १० साउनसम्म सरकार नाफामा देखिएको छ। सरकारको खर्चभन्दा आम्दानी बढी भएपछि नाफामा गएको देखिएको महालेखा नियन्त्रक कार्यालयको विवरणले देखाएको हो।

National life

महालेखाका अनुसार १० साउनसम्म सरकारले राजस्व र अन्य आम्दानीबाट १४ अर्ब ५५ करोड २३ लाख आम्दानी गरेको छ। जबकि यो अवधिमा सरकारको खर्च १२ अर्ब ६४ करोड ६४ लाख भएको छ।

सरकारले १० साउनसम्म राजस्वबाट १० अर्ब ९६ करोड र अन्य आम्दानी ३ अर्ब ५८ करोड भएको महालेखाले बताएको छ। १० दिनमा चालू प्रकृतिको खर्च ५३ करोड ६४ लाख भएको छ भने पुँजीगत खर्च सुरु भइनसकेको महालेखाको विवरणमा उल्लेख छ। गत १५ जेठमा सार्वजनिक आगामी आर्थिक वर्ष २०८०÷८१ को १७ खर्ब ५१ अर्ब ३१ करोडको बजेट वरपर रहेर सरकारले खर्च गरिरहेको छ।

बुधबार मात्रै अर्थमन्त्री प्रकाशशरण महतले कात्तिक मसान्तभित्र ठेक्का प्रक्रिया सम्पन्न गरी १५ दिनभित्र काम सुरु गर्न सम्बन्धित मन्त्रालयका सचिवलाई निर्देशन दिएका छन्। चालू आर्थिक वर्षको बजेट कार्यान्वयनमा अर्थमन्त्री महतले सुरु महिनामै सक्रियता देखाएका हुन्।

विभिन्न भन्सार र राजस्व कार्यालय अवलोकन गरेका अर्थमन्त्री महतले १५ साउनदेखि नै समयसीमाअनुसार बजेट कार्यान्वयनलाई प्राथमिकता दिन सबै मन्त्रालयका सचिवसँग अर्थ मन्त्रालयमा सामूहिक छलफल गरेका हुन्। छलफलमा मन्त्री महतले डीपीआर भइसकेका आयोजनाको मात्रै ठेक्का प्रक्रियामा जाने गरी काम गर्न सचिवलाई निर्देशन दिए।

‘कतिपय दायित्व सिर्जना भए पनि सरकारले तिर्न सकेको छैन। ठेक्का लागिसकेको आयोजनाको ठेकेदारले दिएको बिल एक महिनाभित्र अर्थ मन्त्रालयमा आउनुपर्छ। एक महिनाभित्र आएको बिल अर्थले १५ दिनभित्र पास गरेर पठाउनेछ। असारमा खर्च हुँदैन,’ उनले भने।

प्रकाशित: Jul 27, 2023| 14:32 बिहीबार, साउन ११, २०८०
प्रतिक्रिया दिनुहोस्