काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेका छन्। एमालेका प्रमुख सचेतक पदम गिरीले छानबिन समिति नबनेसम्म एमालेले संसद् चल्न नदिने बताए।
उनले भने, ‘अहिलेको सुन सेटिङ बिग्रिँदा पक्राउ परेको हो। यसअघि ३३ पटक आएको छ। त्यसका लागि उच्चस्तरीय छानविन समिति बनाउन माग गर्छु। गृहमन्त्रीदेखि तल्लो तहसम्म रहेकाहरुमाथि छानबिनका लागि रुलिङ होस् अन्यथा अघि बढ्न दिइँदैन।’
सुन तस्करलाई कारबाही गर्, उच्चस्तरीय छानविन समिति गठन गर् भन्दै सांसदहरुले बेल घेरेर नाराबाजी गरेपछि सभामुख देवराज घिमिरेले बैठक १५ साउन सोमबारसम्मलाई स्थगित गरेका छन्।
सय किलो सुन तस्करी प्रकरणलाई लिएर सांसदहरु आरोप-प्रत्यारोपमा उत्रिएपछि आजको बैठक नियमित कार्यसूचीमा प्रवेश गर्नै पाएन। ११ दिनपछि बसेको आजको बैठमा बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची थियो। त्यस्तै सभामुख घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएको सम्बन्धी पत्रहरुको व्यहोरा पढेर सुनाउने कार्यसूची बनाइएको थियो।
आजको बैठकमा संसदीय मामिला मन्त्री धनराज गुरूङले नेपाल सरकार, मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरूपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ को उपदफा (२) बमोजिम सदन समक्ष पेश गर्ने कार्यसूची रहेकोमा त्यो पनि हुन सकेन।
आजकै बैठकमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस् भनेर प्रस्ताव पेश गर्ने सम्भावित कार्यसूची थियो।