काठमाडौं– प्रतिपक्षी एमालेले त्रिभुवन विमानस्थलको भन्सारबाट जाँचपास भइसकेपछि अवैध एक क्विन्टल सुन बाहिरिनुमा सरकारकै संरक्षण रहेको दाबी गरेको छ।
बुधबार सिंहदबारमा बसेको संसदीय दलको बैठकमा एमालेले अवैध सुन प्रकरणबारे सरकारसँग जवाफ माग्ने निर्णय गरेको हो।
संसदीय दलको बैठकले गृहमन्त्रीको संलग्नताबिना विमानस्थलबाट ठूलो परिमाणको सुन पार गराउन सम्भव नभएको दाबी गरेको छ।
अवैध सुन प्रकरणमा गठबन्धन सरकारका मन्त्री र सरकारमै रहेका दलका नेताको संलग्नता रहेकाले छानबिन समिति गठनका लागि दबाब दिन संसद् अवरुद्ध गरिने एमाले प्रमुख सचेतक पद्म गिरीले बताए।
‘विमानस्थलमा गृहमन्त्रीको संलग्नताबेगर सुन पार गराउन सम्भव छैन। यसबारे छानबिन हुनुपर्छ। सरकारी छानबिन नभई संसदीय वा न्यायिक छानबिन समिति गठन गर्नुपर्छ’, उनले भने।