काठमाडौं- ११ दिनपछि बस्न लागेको प्रतिनिधि सभाको बैठक अवरुद्ध हुने देखिएको छ। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले संसद् बैठक अवरुद्ध गर्ने संकेत दिएको छ।
त्रिभुवन विमानस्थलबाट बाहिरिएको १०० किलो सुन बरामद प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजीनामा दिनुपर्ने एमालेको माग छ।
यसबारे छलफल गर्न एमालेले संसदीय दलको बैठक बोलाएको छ। संसद् बैठक दिउँसो १ बजे बस्ने तय छ भने लागि एमालेले १२ बजे संसदीय दलको बैठक बोलाएको छ।
हिजोमात्रै एमाले अध्यक्ष केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका थिए। उनले गृहमन्त्रीको 'बद्तमिज र गैरजिम्मेवारी' ले हद नाघेको उल्लेख बताएका थिए।
कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि आपत्ति जनाएका हुन्।
'नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ। उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नुभएको छ कि छैन? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन?' अध्यक्ष ओलीले भने, 'अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ। गृहमन्त्री 'कोट'को गाला र 'टार'को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो। गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ। आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने?'
एमालेको भ्रातृ संगठन युवा संघ नेपालले गृहमन्त्री श्रेष्ठविरूद्ध प्रदर्शनसमेत गरेको थियो।