शनिबार, साउन २४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • सानेपामा तीतोमिठो ओकलेका नेताहरूलाई 'रिफ्रेस' गराउन लैनचौरमा शशांकको चियापान

सानेपामा तीतोमिठो ओकलेका नेताहरूलाई 'रिफ्रेस' गराउन लैनचौरमा शशांकको चियापान

सानेपा बैठकमा नेताहरूबीच एकापसमा भएको तुष्टिलाई बिर्साउने गरी पार्टीका संस्थापक बीपी कोइरालाका छोरा शशांकले लैनचौर बैंक्वेटमा चियापान आयोजना गरेर नेताहरूलाई निम्त्याएका हुन्
 |  मंगलबार, साउन ९, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

vianetvianet

काठमाडौं- दुई साउनदेखि मुख्यालय सानेपामा कांग्रेस केन्द्रीय समिति बैठक जारी छ। सम्भवतः भोलि बुधबार पार्टी सभापति शेरबहादुर देउवाले सम्बोधन गरेपछि एक वर्षपछिको केन्द्रीय समिति बैठकले विश्राम लिनेछ। बैठकमा १६८ मध्ये १५८ जना केन्द्रीय सदस्यले पार्टी संगठनलाई बलियो बनाउनुको साटो नेतृत्वको स्तुति र विरोधमा आफ्ना शब्द खर्चिए। कसैले सभापति देउवाप्रति दरिलो समर्थन व्यक्त गरे भने कसैले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मामाथि धारेहात लगाए।

प्रविधिलाई पछ्याएर पहिलोपल्ट कांग्रेस केन्द्रीय सदस्य बोलेको कुरा सबैले सुनिने गरी लाइभ गरिएकाले पनि यसपालिको बैठकमा सदस्यहरूबाट व्यक्त विचार गाउँटोल, छरछिमेक सबैले सुन्न, हेर्न सके। बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको दसबुँदे कार्ययोजना र सांगठनिक संरचनाबारे कमैले मात्रै बोले। केहीले आलोचना गरे। केहीले ठीक भने।

कांग्रेस बैठक समापनतिर आइरहेका बेला आज बेलुकी सभापति देउवाले आफ्नै निवासमा पदाधिकारी बैठक बोलाएका छन्। यो बैठकमा भोलि हुने केन्द्रीय समिति बैठकका निष्कर्षलाई अनुमोदन गर्ने विषयमा छलफल हुने नेता रमेश लेखकले बताए।

सानेपा बैठकमा नेताहरूबीच एकापसमा भएको तुष्टिलाई बिर्साउने गरी आज मात्रै पार्टीका संस्थापक बीपी कोइरालाका छोरा शशांकले लैनचौर बैंक्वेटमा चियापान आयोजना गरेर नेताहरूलाई निम्त्याए। चियापानमा पार्टी सभापति देउवादेखि लिएर सबै तहका नेता, कार्यकर्ता उपस्थित भए पनि महामन्त्री विश्वप्रकाश शर्मा भने देखिएनन्। केन्द्रीय सदस्य अर्थमन्त्री डा. रामशरण महत लुम्बिनी भ्रमणमा रहेका कारण चिया खान आएनन्।

चियापानमा सरिक नेता विमलेन्द्र निधिले कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी नेपालमा दोस्रो नरहेको दाबी गरे। उनले कांग्रेस संगठनभित्र स्वच्छ प्रतिस्पर्धा हुनु स्वाभाविक भए पनि नेताहरूबीच एकापसमा व्यक्तिगत लान्छना लगाउन नहुने बताए। देशमा कम्युनिस्ट, क्षेत्रीयवादी, लोकप्रियतावादी पार्टी धेरै भए पनि लोकतन्त्र, गणतन्त्रमा विश्वास गरेर काम गर्ने पार्टी कांग्रेस मात्रै रहेको जिकिर उनले गरे। उनले पार्टीमा ‘सभापति भर्सेस महामन्त्री’ भन्ने कुरा नरहेको बताए। उनले कांग्रेस लोकतन्त्रमा विश्वास गर्ने पार्टी भएकाले पार्टीका गतिविधि पनि लोकतन्त्रमै विश्वास गरेर अघि बढाइएको दाबी गरे। नेता निधिले संविधानको सफल कार्यान्वयन र जनता र देश हितमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य रहेको सुनाए।

Metro Mart

उनले भने, ‘पार्टी सभापति भर्सेस पार्टी महामन्त्री भन्ने कुरा छैन। भर्सेस केही पनि छैन। पहिला पनि थिएन, अहिले पनि छैन, कांग्रेस डेमोक्रेसीमा विश्वास गर्ने पार्टी हो, मनमा लागेको कुरा सबैले भन्छन्। संविधानको सफल कार्यान्वयन र जनता र देशको हीतमा काम गर्नु नै कांग्रेसको अबको लक्ष्य हो। किसान, मजदुर, दलित, महिलाको पक्षमा काम गर्ने हो। केन्द्रीय समितिमा सबैले छलफल गर्नुभएको छ, एकताबद्ध भएर जनताको लोकतन्त्रको पक्षमा काम गर्नेछ। जनताको काम गर्ने एउटा आवाज लिएर निस्किन्छ। कांग्रेसजस्तो लोकतान्त्रिक पार्टी कुनै छैनन्।’ उनले एकताबद्ध भएर लोकतन्त्रको पक्षमा काम गर्न केन्द्रीय समिति बैठकमा छलफल भएको बताए।

चियापानमा सहभागी पुराना नेता एवं पूर्वसभामुख तारानाथ रानाभाटले नेपालका राजनीतिक दलहरूमा देश विकासका लागि सबै मिल्नुपर्छ भन्ने चेत नआएको प्रतिक्रिया दिए। रानाभाटले अहिलेसम्मका मुलुकका परिवर्तनको संवाहक भएकाले कांग्रेसले नै जनताको जीवन परिवर्तनको मुद्दा लिएर अघि बढ्नुपर्ने औंल्याए। राष्ट्रिय एकता कायम गर्ने भूमिकाबाट कांग्रेस पछि हट्न नहुने उनको भनाइ छ।

पूर्वसभामुख रानाभाटले भने, ‘जहिलेदेखि नै जुनसुकै परिवर्तनको संवाहक कांग्रेस हो। मुलुकको आर्थिक, सामाजिक परिवर्तन गराउने अगुवा कांग्रेस हो। राष्ट्रिय एकता कायम गर्ने अनि त्यसको प्रणेता पनि कांग्रेस हो, त्यो भूमिकाबाट पछि हट्दैनौं। राष्ट्रिय एकताका लागि सबै मिल्नुपर्छ। विचारधारा, झन्डा, नाराको झगडा चुनावमा हो। चुनावपछि सबै मिलेर देश विकास गर्नुपर्छ भन्ने चेत राजनीतिक पार्टीमा आएन।’

चियापानका आयोजक कोइरालाले कांग्रेसको विकल्प अरु हुन नसक्ने बताए। नेता कोइरालाले कांग्रेस एक भए देशमा ठूलो परिवर्तन आउने भन्दै अहिलेको आवश्यकता एकताबद्ध पार्टी हुनु रहेको औंल्याए। चियापान कांग्रेसबीचको भाइचारा सम्बन्ध स्थापित गराउने माध्यम भएको उनको भनाइ छ।

नेता कोइरालाले भने, ‘पार्टी एक भएको छ। यो पार्टी एक भएको खण्डमा कांग्रेसले धेरै ठूलो परिवर्तन ल्याउन सक्छ। हामी एकताबद्ध भएर हिँड्नुपर्छ भनेर चिया खान बोलाएको हो। सानेपामा पाँच दिन छलफल भयो। एक किसिमले रिल्याक्स गर्न पनि हो। भाइचाराको सम्बन्ध स्थापित गर्न चियापान आयोजना गरेको हो। आउँदा दिनमा कता जाने हो, त्यो तय गर्नुपर्छ। कांग्रेसको विकल्प अरु छैनन्, कांग्रेस नै हो। त्यसका लागि सबै एक हुनुपर्यो।’

चियापानमा सरिक संसदीय दलका मुख्य सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले कांग्रेस अब नयाँ ध्रुवीकरणको चरणमा प्रवेश गरेको बताए। उनले पार्टीमा नेतृत्व परिवतर्नको कुरा स्वाभाविक प्रक्रिया रहेको प्रतिक्रिया दिए। केन्द्रीय समिति बैठक असाध्यै राम्रोसँग सञ्चालन भइरहेको र बैठकको निर्णय बुधबार सार्वजनिक गरिने उनको भनाइ छ।

‘कांग्रेस केन्द्रीय समिति बैठक राम्रोसँग सञ्चालन भएको छ। मूलतः दुई कोणमा व्यापक कुरा भयो, आन्तरिक जीवनका बारेमा अनि विधान कार्यान्वयन, समितिलाई पूर्णता दिने, राजनीतिक अभियान सञ्चालन गर्ने कुरामा धेरै छलफल भए। पार्टी जीवनभन्दा बाहिर आमनागरिकको जनजीविकाबारे छलफल भएको छ। बैठकले पार्टीभित्र र बाहिर पनि सकारात्मक सन्देश प्रवाह गरेको छ’, उनले भने। बैठक सार्वजनिक ढंगबाट फेसबुकमा ओपन गरिएकाले सकारात्मक रहेको उनको दाबी छ। बैठकमा निर्णयलाई पार्टी संगठन बलियो बनाउने गरी भोलि निष्कर्षमा लगिने उनले जानकारी दिए।

कांग्रेस केन्द्रीय सदस्य विजयकुमार गच्छदार भने निराश सुनिए। उनले देशको राजनीतिक अवस्था खराब रहेको बताए। गच्छदारले नेपालको राजनीति अनिश्चितताको भूमरीमा फसेको दाबी गरे। कांग्रेस कमजोर भए लोकतन्त्र कमजोर हुने र पार्टी सभापति विमानको पाइलट भए अन्य पदाधिकारी सहायक पाइलट रहेकाले सबै मिलेर काम गर्नुपर्ने अवस्था आएको गच्छदारको भनाइ छ। उनले भने, ‘केन्द्रीय कार्यसमिति बैठक ६ दिनसम्म लगातार चल्यो। हिजो बोल्ने क्रम सकिएको छ, भोलि निर्णय सार्वजनिक हुँदै छ। बैठकको प्रत्यक्ष प्रसारण भयो। ऐतिहासिक मानिएको छ। समय अभावका कारण नेताहरूले आफ्ना सबै भनाइ राख्न पाएनन्। ७ मिनेटमा बोल्न धेरै गाह्रो थियो। नेपालको राजनीति अन्योलपूर्ण भएको छ, अनिश्चितताको भूमरीमा फसेको छ। यसलाई कांग्रेसले मात्रै पार लगाउन सक्छ।’

चियापानमा सहभागी अर्का नेता दिलेन्द्र बडुले केन्द्रीय समितिका एजेन्डा सही र व्यवस्थित रूपमा आएको बताए। तर समय कम दिइँदा एजेन्डामा सबैले आफ्ना विचार राख्न नपाएको उनले गुनासो व्यक्त गरे। ‘सबै एजेन्डामा सबैको विचार आउँथ्यो। समय सीमित भयो। लाइभ गर्ने कुरा नयाँ भयो। लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन। कुनै केन्द्रीय सदस्यले एजेन्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो। केन्द्रीय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत। यो सबैको एजेन्डा र कार्यक्रम हो। संस्थागत कार्यक्रम हो। यसको कार्यान्वयनका लागि पार्टीको संस्थागत र एकताबद्ध ढंगले जुट्नुपर्छ,’ उनले भने। महामन्त्रीले प्रस्तुत गरेका कार्यतालिका र एजेन्डा पार्टीको संस्थागत भएकाले कार्यान्वयनमा जानुको विकल्प नभएको बडुको भनाइ छ।

चियापानमा सरिक सभापति देउवा भने चिया खाएर मात्रै बाहिरिए, कुनै प्रतिक्रिया दिएनन्।

 

प्रकाशित: Jul 25, 2023| 16:05 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्