शुक्रबार, जेठ २९, २०८३

पर्वतमा पहिरोले ६ घर विस्थापित, एकसय घर जोखिममा

 |  मंगलबार, साउन ९, २०८०

नेपाल समय

नेपाल समय

मंगलबार, साउन ९, २०८०

पर्वत- पर्वतको जलजला गाउँपालिका–५ कुवापानीको पहाडबाट खसेको पहिरोले पाँच बस्ती जोखिममा परेका छन्। बस्तीभन्दा माथिको पहाडको डिल चिरा परेर जङ्गलमा खसेको पहिरो लेदो बनेर बग्न थालेपछि खेतीयोग्य जमिनमा क्षति पुग्नुका साथै ६ घरपरिवारसमेत विस्थापित भएका छन्।

National life

पहाड नै चर्किएर झर्न थालेपछि तल रहेका बस्तीका एक सयभन्दा बढी घर जोखिममा परेको जलजला गाउँपालिकाका अध्यक्ष राजु आचार्यले जानकारी दिए।

गत असार ११ गते राति कुवापानीको चिहानडाँडाबाट खसेको पहिरो बगेर तलका बस्तीमा आएपछि जोखिम बढ्दै गएको छ। पहिरो रोकथाम तथा नियन्त्रणका विषयमा जिल्ला विपद् व्यवस्थापन समितिका पदाधिकारीले समेत स्थलगत अनुगमन गरी आवश्यक योजना निर्माणको तयारी गरेको उनले बताए।

स्थानीय मूलघडेरी बस्तीका पदमबहादुर कार्की, रेशमबहादुर कार्की, नगेन्द्र कार्की, रजिन मगर, अमिर मगर र डम्मरबहादुर खत्रीका परिवार पहिराका कारण विस्थापित भएको जलजला–२ का वडाध्यक्ष प्रकाश जिसीले बताए।

पहिराले जलजला–२ को मूलघडेरी, पूर्णगाउँ, नेपाने, टमिलाखर्क, गौरेटो हुँदै कालीगण्डकी किनारमा रहेको म्याग्दीको गलेश्वरसम्म जोखिम बनाएको छ।

Shivam cement

स्थानीय पदमबहादुर कार्कीले पहिरो खस्न थालेपछि पूर्णगाउँको नवजागरण आमा समूहको भवनमा बस्ने गरेको बताए। ‘यसअघि जङ्गल र मूलघडेरीको पाखोमा अडिएको पहिराको लेदो शनिबारको वर्षापछि पूर्णगाउँको तालसम्म पुगेको छ’, उनले भने, ‘बराहताल परिसरमा रहेका दुईवटा मन्दिर पनि जोखिममा परेका छन्। पौवाभित्र बाढी पसेको छ।’

स्थानीय डम्मरबहादुर खत्रीको सुन्तला बगैँचा र बारी बाढीले पुरेको छ। मूलघडेरीमा करिब ७० रोपनी खेत र बारी पहिराको लेदोले पुरिएर क्षति पुगेको छ। लेदोले पुरिएपछि यसपालि धान र कोदो रोपाइ पाएका छैनन्। खेतीयोग्य जमिन बाँझै राख्नुपर्ने अवस्था आएको छ।

पहिरो र जोखिममा परेका ठाउँका तीन चरणमा स्थलगत अध्ययन गरी थप क्षति हुन नदिन सतर्कता अपनाइएको अध्यक्ष आचार्यले बताए। ‘चर्किएको पहाडको डिललाई व्यवस्थापन गर्न सक्ने विकल्प छैन्’, उनले भने, ‘पहिरोबाट आउने लेदोलाई बस्ती र खेतीयोग्य जमिनमा पस्न नदिन मूलघडेरीमा बाँध र नहर बनाइएको छ।’

मूलघडेरीबाट खोल्सा र सडकमा लेदो बगाएर तल्लो क्षेत्रका बस्तीमा क्षति हुन नदिन गाउँपालिकले डोजरसहित कामदार परिचालन गरेको उनले बताए।

विसं २०७२ को भूकम्पपछि यो पहाड चर्किन थालेको हो। यसअघि पनि उक्त स्थानका पाँच घरपरिवार विस्थापित भएका थिए।

प्रकाशित: Jul 25, 2023| 09:46 मंगलबार, साउन ९, २०८०
प्रतिक्रिया दिनुहोस्