काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक क्विन्टल सुन बाहिरिएको सन्दर्भमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले दिएको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गरेका छन्। उनले गृहमन्त्रीको 'बद्तमिज र गैरजिम्मेवारी' ले हद नाघेको उल्लेख गरेका छन्।
कम्बोडिया भ्रमणबाट फर्केका अध्यक्ष ओलीले सोमबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्रीले दिएको अभिव्यक्ति र उनको कार्यशैलीमाथि आपत्ति जनाएका हुन्। 'नारायणकाजी श्रेष्ठ गृहमन्त्री हुनुहुन्छ। उहाँले एयरपोर्टमा सेक्युरिटी बन्दोबस्त गर्नुभएको छ कि छैन? एयरपोर्टमा सेक्युरिटी गर्ने काम उहाँको हो कि होइन? यहाँको आउने जानेहरुको निरीक्षण गर्ने काम उहाँको हो कि होइन?' अध्यक्ष ओलीले भने, 'अनि क्विन्टलका क्विन्टलका सुन बाहिर जान्छ। गृहमन्त्री 'कोट'को गाला र 'टार'को गालामा काँक्राको बियाँ टाँस्दै हुनुहुन्छ। यो अत्यन्तै अनैतिक क्रियाकलाप हो। गृहमन्त्रीको क्रियाकलाप गैरजिम्मेवार छ। आफू गृहमन्त्री भएर यस्ता खालका गैरजिम्मेवार कुरा गरेर हिँड्ने?'
गृहमन्त्री श्रेष्ठले सुन पक्राउ परेपछि विमानस्थल भन्सार र अध्यागमनको निरीक्षण गर्ने क्रममा बालुवाटार र बालकोटप्रति संकेत गर्दै कुनै पनि 'टार, कोट र पार्टी' ले पनि यसको छानबिनमा रोक्न नसक्ने बताएका थिए। 'कतै तीन ब (बालकोट, बालुवाटार र बूढानीलकण्ठ) मिलेर यो घटना सामसुम पारिने त होइन' भन्ने सञ्चारकर्मीको प्रश्नमा गृहमन्त्री श्रेष्ठले भनेका थिए, 'भ्रष्टाचार र अपराधका कुरा अनुसन्धान गर्दाखेरी मलाई कुनै कोट, टार र पार्टी मतलब छैन।' गृहमन्त्री श्रेष्ठले दिएको यही अभिव्यक्तिप्रति संकेत गर्दै अध्यक्ष ओलीले यत्रो घटना हुँदा गृहमन्त्रीको भूमिका के थियो त्यसमाथि नै आशंका गरेका छन्।
ओलीले भने, 'गृहमन्त्रीले बताउन पर्यो सुन प्रकरणमा उहाँको संलग्नता छ कि छैन? सानोतिनो संलग्नताबाट त यो काम भएको छैन होला ! उहाँको चाहिँ संलग्नता छ कि छैन? छैन भने कोचाहिँ संलग्न छ? यत्तिकै 'कोट'का गालामा काँक्राको बियाँ टाँस्ने होइन। म उहाँलाई सचेत गराउन चाहन्छु। गृहमन्त्रीको हैसियतले उहाँले बोल्दाखेरी तरिका पुर्याएर बोल्नुहोस्। बद्तमिज हुनु एउटा कुरा हो। तर यो बद्तमिज मात्र होइन गैरजिम्वारीको हद भयो। गृहमन्त्री भएर जथाभावी बोल्ने? जथाभावी बोल्न गृहमन्त्रीलाई छुट छ?'
अध्यक्ष ओलीले अरु कसैले गृहमन्त्रीको जवाफदेहीताको कुरा उठायो भने मुद्दा हाल्न जाने? भन्दै आक्रोश व्यक्त गरे। एमालेको भ्रातृ संगठन प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतले फेसबुकमा गृहमन्त्रीको नाम जोडेर स्टाटस लेखेपछि गृहमन्त्रीको सचिवालयले उनीबिरुद्ध साइबर ब्यूरोमा उजुरी दिएको थियो। त्यसैप्रति ओलीले संकेत गर्दै भने, 'गृहमन्त्रीको जवाफदेहीताको कुरा उठायो भने मुद्दा हाल्न जाने? गृहमन्त्रीमाथि मुद्दा हाल्ने कि नहाल्ने? गृहमन्त्रीले कोट र टारका सम्बन्धमा चर्चा गरेको कुराको अर्थ के हो?'
उनले एक व्यापारीसँग कुनै कार्यक्रममा खिचेको फोटो अहिलेको प्रसंगमा ल्याएर जोडेर एक पत्रिकाले आफ्नो छापेको भन्दै त्यसप्रति पनि आपत्ति जनाए। उक्त पत्रिका माओवादीनिकट भएको आरोपसमेत लगाउँदै ओलीले भने, 'उता आकाशतिर चिल देखाएर यता के छोप्प लुकाउन खोजिँदैछ? अब यो सुनकाण्डको नतिजा अन्तिमसम्म नपुर्याउँदासम्म हामी पनि छोड्दैनौं। गृहमन्त्रीलाई थाहा होस्।' नयाँ पत्रिका दैनिकले व्यापारी दीपक मलहोत्राको ओलीसँगको तस्बिर छाप्दै सय क्विन्टल सुनको मालिक मलहोत्रा नै भएको दलिल पेश गरेको थियो।
पहिले पनि सुन तस्करी हुने गरेको र त्यसलाई आफूहरुले समातेको ओलीले दाबी गरे। 'फेरि पनि हामी खनेर ननिकालेसम्म छोड्दैनौं। यसमा कारबाही के हुन्छ हामी हेरिरहेका छौं। कसमाथि कारबाही हुन्छ? को जिम्मेवार छ? बोक्न त प्लेन, गाडी, भरियाले बोक्यो होला। बोकाउने को हो? प्लेनलाई, गाडीलाई, भरियालाई कसले बोकायो प्रश्न यो हो। त्यसकारण यो ढाकछोप गर्न सकिँदैन,' अध्यक्ष ओलीले भने।