आइतबार, साउन २५, २०८२

कांग्रेस केन्द्रीय समिति बैठक

लाइभमा देखिएको देउवा-गगन हार्दिकता 

बैठक सकिएपछि सभापतिले महामन्त्री थापाको जन्मदिन मनाउँदै केक खुवाएका थिए। थापालाई केक खुवाएपछि थौरै आफूले पनि खाँदै हँसीमजाक गरे।
 |  सोमबार, साउन ८, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

सोमबार, साउन ८, २०८०

vianetvianet

काठमाडौं- सभापति शेरबहादुर देउवाकै पहलमा करिब एक वर्षपछि बसेको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक पार्टीको आधारिक फेसबुक पेजबाट लाइभ गरियो। पुराना पार्टीले आफूलाई रुपान्तरण गर्न सकेनन् भन्‍ने आरोप लगाइरहने नयाँ दलले बैठकमा मोबाइल लैजान समेत निषेध गरिरहँदा कांग्रेसले भने केन्द्रीय समिति बैठक लाइभ गरेर 'क्रान्तिकारी' कदम चालेको टिप्पणी भइरहेका छन्। 

सभापति देउवाले नै केन्द्रीय समिति बैठक बस्‍नुअघिको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकमा लाइभ गर्नुपर्ने प्रस्ताव गरेका थिए। बैठकमा देउवाले भनेका थिए, 'दलहरूको बैठक लाइभ गर्ने विदेशतिर पनि अभ्यास छ। कांग्रेस लोकतान्त्रिक पार्टी पनि हो, लुकाउनुपर्ने गरी के नै हुन्छ र ? यसै पनि कांग्रेसको बैठकका विषयहरु आमसञ्चार माध्यममा आउने गरेकै छन्। यसपालिदेखि बैठक लाइभ गरौं।'

पदाधिकारी बैठकपछि सभापति देउवाले बैठक कसरी सञ्‍चालन हुन्छ भन्‍ने जनतालाई देखाउन र केन्द्रीय समितिभित्र बोलेका कुरा जस्ताको त्यस्तै बाहिर ल्याउने चाहनाअनुसार लाइभ गर्न निर्देशन दिए। कांग्रेस मुख्यालय सानेपामा चलिरहेको बैठकलाई संसारभरका नेपालीहरुले लाइभ हेरेर विभिन्‍न प्रतिक्रियाहरु दिइरहेका छन्। बैठक 'लाइभ' गर्ने सभापति देउवाको कदमको कांग्रेसका नेतामात्र नभई अन्य पार्टीका नेताहरुले समेत प्रशंसा गरेका छन्। कांग्रेसको लाइभलाई कम्युनिस्ट नेता वामदेव गौतमले संसद्‌मै प्रशंसा गरे। 

'कांग्रेसले केन्द्रीय कमिटी बैठक लाइभ गरेको छ। यो कम्युनिस्टलाई चुनौती हो। कम्युनिस्ट पार्टीहरू हो, त्यो बाटोमा हिँड्न सक्छौ कि सक्दैनौ? अब भ्रष्टाचार गर्नका निम्ति, व्यभिचार गर्नका निम्ति, दुराचार गर्नका निम्ति बाहेक गोप्य निर्णय गर्नुपर्ने अर्को कुनै विषय छैन,' उनले भने, 'संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएपछि सबै प्राप्त भयो। खुला गरेर कांग्रेसले धेरै राम्रो काम गरेको छ।' 

बैठक लाइभ गरिएकोमा प्रशंसा गर्दै केन्द्रीय सदस्यहरुले पार्टी 'आधुनिकीकरण' मा प्रवेश गरेको, लाइभले 'अनुशासित' बनाएको, कांग्रेस 'प्रविधमैत्री' बनेको, 'लोकतन्त्र र अभिव्यक्ति स्वत्रतन्त्रता'को पक्षमा उभिने प्रतिबद्धता गरेको र कांग्रेसको 'मुड'बारे जनतालाई जानकारी गराएको, कांग्रेस बैठकले 'पारदर्शिता' कायम गरेको बताएका छन्। पहिलो पटक लाइभ गरिएको कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले केही रणनीतिक विषयबाहेक बैठक लाइभ गर्ने विषयलाई निरन्तरता दिनुपर्ने धारणासमेत राखेका छन्। 

Metro Mart

गत मंगलबारदेखि सुरु भएको बैठकमा केन्द्रीय सदस्यहरुले धारणा राखेपछि सोमबार महामन्त्रीसहितका पदाधिकारीहरुले बैठकमा उठेका प्रश्‍नको जवाफ दिँदै आएका सुझावलाई ग्रहण गरेको बताएका छन्। देशको सबैभन्दा ठूलो र पुरानो पार्टीको लामो समयपछि बसेको केन्द्रीय समिति बैठकले कस्तो निर्णय गर्छ भन्‍ने विषयलाई निकै चासोका हेरिएको थियो। त्यसमा पनि विभिन्‍न सार्वजनिक मञ्‍चमा सभापति देउवाविरुद्ध आक्रामक देखिने महामन्त्री थापाले कस्तो बोल्छन् भन्‍ने विषयले पनि उत्सुकता जन्माएको थियो। 

सार्वजनिक मञ्‍चबाट देउवाले सभापति पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए गगनले। अहिले देखिएका सबै समस्याको मूल कारण सभापति देउवा भएको निष्कर्ष सुनाउँदै महामन्त्री थापाले एक कार्यक्रममा भनेका थिए, 'पार्टी नेतृत्व परिवर्तन हुनेबितिक्कै हाल देखिएका सबै चुनौतीलाई पार लगाउन सकिन्छ।' 

यतिमात्र नभई सार्वजनिक मञ्‍चबाट नै महामन्त्री थापाले संसदीय दलबाट पनि देउवाले राजीनामा दिनुपर्ने माग गरेका थिए। उनले भनेका थिए, 'नेपाली कांग्रेसबाट भूतपूर्व भएको प्रधानमन्त्री कांग्रेसले प्रधानमन्त्री बनाउन पाएको बेलामा बन्‍नु हुँदैन। त्यसकारणले फेरि कांग्रेसको संसदीय दलको नेता बदल्ने कुरामा म लाग्छु। बदल्छु, बदल्छु। सके आफैं बन्छु, नसके पनि दलको नेता फेर्ने कुरामा म लाग्छु।' 

यसअघि गत वैशाखको उपनिर्वाचनपछि 'अत्ति भो' भन्दै महामन्त्री थापाले स्टाटस लेखेपछि पार्टी फुटाउन लागेको आरोप खेपेका थिए। महामन्त्री थापा सोमबार केन्द्रीय समिति बैठकमा भने 'कुल' देखिए। उनले संसदीय दलको नेता फेर्ने कुरालाई आज पनि दोहोर्‍याए। तर, निकै संयमित र हार्दिकताका साथ। गत वर्ष पुस ६ मा भएको संसदीय दल नेताको चुनावमा सभापति शेरबहादुर देउवासँग प्रतिस्पर्धा गरेर पराजित भएका महामन्त्री थापाले भने, 'मैले संसदीय दलको नेता परिवर्तन गर्न खोजेको हुँ, सकिनँ। तर म अब पनि लागिरहन्छु।' 

बैठकमा केन्द्रीय सदस्यहरुले बाहिर धेरै बोलेर पार्टी कमजोर बनाएको भन्‍ने आरोपको जवाफमा महामन्त्री थापाले सभापति देउवातिर हेरेर मुस्कुराउँदै भने, 'तपाईंहरुले भनेको कुरा म मान्छु, यसका बारेमा धेरै बोलिराख्‍नु पर्दैन भन्‍नुभएको छ। अब लाइभ नै भइहाल्यो, सबैले थाहा पाइसक्‍नु भयो- अब कसैले मलाई प्रश्‍न पनि नगर्नुहोला। म बदल्न लागिरा'छु। सक्‍ने भए बदल्छु, नसक्‍ने भए चुप लागेर बस्छु, बसेकै छु।' 

उनले थपे, 'सभापतिज्यूले नै म पाँच पटक भइसकेँ छैटौं पटक को हुने अगाडि आउ यार भन्‍नुहुन्छ कि?' सभापति देउवा पनि मुस्कुराए।

करिब ३० मिनेट समय पाएका महामन्त्री थापाले सरकारका कामकारबाही, संसद् र पार्टी जीवनका विषयमा लामो बोलेपछि अन्य पदाधिकारी र सदस्यजस्तै सभापति देउवाले ३५ मिनेटपछि उनलाई समयको पावन्दी स्मरण गराए। त्यसपछि थापाले भने, 'सभापतिज्यू, ३० मिनेट दिनुभएको हो, समय घर्किसक्यो अब टुंग्याएँ।' 

सभापति देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई पनि हाँस्दै समयको स्मरण गराएका थिए। देउवाले भनेका थिए, 'एक घन्टा बोलिसक्नुभयो। बोल्नुस्-बोल्नुस्।' खड्काले आफूले अझै केही कुरा राख्न चाहेको उल्लेख गर्दै समय बढी लिएकोमा माफी मागे। उपसभापति खड्काले भने, 'एक घन्टा भयो र? सरी सभापतिज्यू।' 

महामन्त्री थापाले बैठकमा सभापति देउवाको प्रशंसा गर्दै अहिले मुलुकको नेता शेरबहादुर देउवा नै भएको पनि बताए। उनले भने, 'यो गठबन्धनको नेता प्रमुख मान्छे हाम्रो आदरणीय सभापति शेरबहादुर देउवा नै हो। प्रधानमन्त्री आउने-जाने क्रम चल्छ तर यसको मूल नेता नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हो। हामी इमान्दारिताका साथ गठबन्धन सरकारसँग सहकार्य गरिरहेका छौं। यसमा हाम्रा केही शर्तहरु छन्- जसको आधारभूत शर्त डेमोक्रेसी नै हो। यसमा हामीले सम्झौता गर्नु हुँदैन।' 

महामन्त्री थापाले सभापतिसँग भेट्दा आफू निकै हार्दिकतापूर्वक कुराकानी हुने गरेको पनि जानकारी गराए। उनले भने, 'सभापतिज्यू र म भेट्दा कसरी कुरा गर्छौं, तपाईंलाई थाहै छैन। सभापतिज्यूप्रति मेरो अति श्रद्धा छ।'

महामन्त्री थापाले आफ्नो चर्को आलोचना भएको विषय राख्दै गर्दा सभापति देउवाले मुस्कुराउँदै 'मेरो पनि त आलोचना भएको छ' भन्दै चिन्तित नहुन आश्वासन दिएका थिए। महामन्त्री थापाले भने, 'केही साथीहरुले यहाँ बोलेको हो कि थर्काको हो भन्‍ने लागेको हुन सक्छ। मेरो त्यस्तो केही पनि होइन।' बैठक सञ्‍चालन गरिरहेका देउवाले टाउको हल्लाउँदै आश्वस्त पार्ने भावमा बीचमै भने, 'मेरो पनि त आलोचना भएको छ।' 

त्यसपछि महामन्त्री थापाले 'मैले आफ्नो कुरा गरेको हो सभापतिज्यू' भनेर कुरा अघि बढाए। उनले थपे, 'बैठकमा हाम्रा थुप्रै कुरामा मन्थनहरु भए। अब यो बैठकबाट निस्किँदै गर्दा यो पार्टी एक ढिक्का बनाएर, देशभरका साथीहरुलाई उत्साहित बनाएर, आजको दिनमा जनताले जे नैराश्यता भोगिरहेका छन्, त्यसलाई चिर्नका लागि नेपाली कांग्रेस आयो, अब यहाँका दक्षिणपन्थीलाई पनि, पपुलिस्टलाई पनि विचारका हिसाबले नेपाली कांग्रेस एकताबद्ध भएर आयो भन्‍ने गरिकन हामी बैठकका निर्णयहरु गरेर बाहिर जान्छौं भन्‍ने विश्वास लिएको छु।' 

आफ्नो भनाइ टुंग्याउँदै गर्दा महामन्त्री थापाले सभापतिको तारिफ गर्दै थपे, 'सभापतिज्यू यति धैर्यतापूर्वक मेरो कुरा सुन्‍नुभएको छ। यति उदारता राख्‍नुभएको छ। यसको प्रशंसा गर्छु।' 

केन्द्रीय समिति बैठकको तेस्रो दिन महामन्त्री थापाको जन्मदिन परेको थियो। सो अवसरमा पार्टी बैठक सकिएपछि सभापतिले महामन्त्रीको जन्मदिन मनाउँदै महामन्त्री थापालाई केक खुवाएका थिए। देउवाले थापालाई केक खुवाएपछि थौरै आफूले पनि खाँदै हाँसिमजाक गरे र महामन्त्री थापाले पनि सभापतिलाई केक खुवाए। उक्त दृश्यलाई लिएर कांग्रेसमा आफ्नै प्रतिस्पर्धीसँग सभापतिले राखेको हार्दिकताको प्रशंसा गरिएको थियो। 

प्रकाशित: Jul 24, 2023| 21:40 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्