काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले प्रधानमन्त्री आउने-जाने क्रम चलिरहेने भए पनि मुल नेता कांग्रेस सभापति शेरबहादुर देउवा नै भएको बताएका छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा जवाफ दिँदै महामन्त्री थापाले भने, 'यो गठबन्धनको नेता प्रमुख मान्छे हाम्रो आदरणीय सभापति शेरबहादुर देउवा हो। प्रधानमन्त्री आउने-जाने क्रम चल्छ तर यसको नेता नेपाली कांग्रेसको सभापति शेरबहादुर देउवा हो।'
उनले अहिले इमान्दारिताका साथ माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएको सरकारलाई सहकार्य गरिरहेको उल्लेख गर्दै भने, 'गठबन्धन सरकारमा हाम्रा केही शर्तहरु छन्। जसमा डेमोक्रेसी हाम्रो आधारभूत शर्त हो। गठबन्धन टिकाउनुपर्छ भन्ने नाममा हाम्रा आधारभूत मान्यतामा सम्झौता नगरौं। गर्नु हुँदैन।'
उनले अहिले व्यवस्थाको विकल्प खोज्ने नभइ व्यवस्थाभित्र विकल्प खोज्नुपर्ने पनि महामन्त्री थापाले बताए। उनले थपे, 'नेपाली कांग्रेस भएन संविधान र व्यवस्था क्र्यासमा पर्छ। त्यसकारण हामीले यो संविधानलाई मानेर संघीय लोकतान्त्रिक गणतन्त्रलाई बलियो बनाउँदै असन्तुष्टिका रुपमा उठेका आवाजहरुलाई सकारात्मक लिनुपर्छ।'
संसद थप समावेशी बनाउने र सँगसँगै स्थिर सरकार दिन सकिने विषयमा पनि छलफल गर्नुपर्ने पनि उनले बताएका छन्। उनले थपे, 'प्रदेश हामीले बनाएका हौं, प्रदेशका विषयमा ठूला-ठूला गुनासा छन्। केही स्वभाविक प्रश्नहरु पनि छन् ती प्रश्नहरुलाई सकारात्मक रुपमा लिँदै प्रदेश बलियो बनाउनुपर्छ। प्रदेशलाई काम गर्छ भन्ने बनाउने हो।'
प्रदेश सरकार बनाउन होस् वा यो सरकार टिकाउन वा गठबन्धनको कुनै अमुक दलको माग पूरा गर्न कांग्रेसले आफ्ना आधारभूत मान्यतामा सम्झौता गर्न नहुने पनि बताएका छन्। उनले थपे, 'गठबन्धन तलमाथि भए हुन्छ हामीले मान्दैनौं भन्नसक्नुपर्छ। हामी मन्त्रालय बढाएर सरकार टिकाउने पक्षमा छैनौं। त्यसपछिको कुरा भनेको डेलिभरी नै हो।'
उनले ०७९ देखि ०८४ र ०८४ देखि ०८९ गरी सरकारदेखि सरकारको गोलचक्करमा फस्न नहुने पनि महामन्त्री थापाले बताएका छन्। उनले भने, 'नागरिकले यो कुरा महसुस गर्न पाउनुपर्छ। हामीले समुन्नत नेपाल, सम्मानित नेपालीको एजेण्ड र सामाजिक लोकतन्त्रको सिद्धान्तलाई लिएर अघि बढ्नुपर्छ। हातमा संविधान छ, लोकतान्त्रिक व्यवस्था छ। हामीले गरेका वाचा पूरा भएका छैन। यसको स्वामित्व हामीले लिने हो र सभापतिज्यूको नेतृत्वको रहेको कांग्रेसले सुधार गर्ने हो।'