काठमाडौं– श्रीलंकाको कोलम्बोमा आइतबार राती सम्पन्न एसीसी मेन्स इमर्जिङ एसिया कपमा प्रतिद्वन्द्वी भारत ‘ए’ लाई फराकिलो अन्तरले हराउँदै पाकिस्तान ‘ए’ च्याम्पियन बनेको छ।
श्रीलंकाको राजधानी कोलम्बोमा अवस्थित आर प्रेमदाशा क्रिकेट रंगशालामा भएको खेलमा भारतलाई १२८ रनले हराउँदै पाकिस्तान च्याम्पियन भएको हो।
टस हारेर पहिले ब्याटिङ गरेको पाकिस्तानले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३५२ रन बनाएको थियो। पाकिस्तान ‘ए’ले दिएको ३५३ रनको लक्ष्य पछ्याउने क्रममा भारत ए ४० ओभरमा २२४ रन बनाउँदै अल आउट हुन पुग्यो। सोही कारण पाकिस्तानको ‘ए’ टिमले फराकिलो जित निकालेको हो।
पाकिस्तान ‘ए’ ले १२१ रनमा मात्र पहिलो विकेट गुमाएको थियो। पाकिस्तान ‘ए’का लागि तैयव ताहिरले ७१ बलमा १२ चौका र ४ छक्काको सहयोगमा १०८ रनको शतकीय पारी खेलेका थिए।
भारत ‘ए’का लागि रियान पराग र राजवद्र्धन हंगेरकरले समान २–२ तथा हर्षित राना, मानव सुतार र निशान्त सिधुले समान १–१ विकेट लिए। जवाफमा भारत एका लागि ओपनर अभिषेक शर्माले ५१ बलमा ५ चौका र १ छक्काको सहयोगमा ६१ रनको अर्धशतक बनाए पनि टोलीलाई जिताउन सकेनन्।
पाकिस्तान लगातार दोस्रो पटक च्याम्पियन बनेको हो। यसअघि २०१९ मा भएको पछिल्लो संस्करण समेत पाकिस्तानले जितेको थियो। प्रतियोगितामा सहभागी नेपाल भने भारत र पाकिस्तानसँग हार बेहोरेर समूह चरणबाटै बाहिरिएको थियो।