शनिबार, साउन १२, २०८१

जनकपुर चुरोट: जिवन्त कारखानादेखि कंकालसम्मको कथा

रुस सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा बनेर २०२१ पुस २९ मा तत्कालीन राजा महेन्द्रले उद्घाटन गरेको यो कारखाना २०७० असार २० बाट पूर्ण रूपमा बन्द छ।
 |  सोमबार, साउन ८, २०८०

टीकाराम सुनार

टीकाराम सुनार

सोमबार, साउन ८, २०८०

जनकपुरधाम- पञ्चायत जन्मिनुअघि नै जनकपुर चुरोट कारखाना लिमिटेड (जचुकाली) स्थापनाको योजना बन्यो।

triton college

त्यो योजना प्रजातन्त्र बहालीपछि वि.सं २०१६ मा नेपाली कांग्रेसका सभापति बिपी कोइराला नेतृत्वको सरकारले बनाएको थियो तर जनकपुरमै कारखाना ल्याउने श्रेय भने सो सरकारका उद्योग तथा वाणिज्य मन्त्री रामनारायण मिश्रलाई दिने गरिएको छ। योजना त बन्यो तर त्यसको कार्यान्वयन सुरु हुन नपाउँदै २०१७ पुस १ गते राजनीतिले अर्को मोड लियो।

निर्दलीय पञ्चालतको उदयपछि त्यो योजना तुहिन्छ कि भन्ने धेरैलाई शङ्का थियो तर त्यसो भएन बरु योजनालाई मूर्तरुप दिन थालियो। त्यहीक्रममा सबैभन्दा पहिले केही कर्मचारी नियुक्त गरियो। ती कर्मचारीमध्ये एक थिए महोत्तरीको मनरा सिशवा—४ जाउखका रामनरित शर्मा। उनले २०१८ असार ३१ गते स्टोरकिपरको रुपमा जागीर सुरु गरेका थिए भने २०५० सालमा व्यक्ति व्यवस्थापन महाशाखा प्रमुख (निर्देशक) का रहँदा सेवानिवृत्त भए।

लगत्तै सोभियत रूस सरकारको आर्थिक तथा प्राविधिक सहायता र तत्कालीन श्री ५ को सरकारको पहलमा २०१९ मङ्सिर ८ गते तत्कालीन उद्योग वाणिज्यमन्त्री वेदानन्द झाले जचुकालि निर्माण कार्यको शिलान्यास गरे। त्यसको दुई वर्षमै निर्माण कार्य सम्पन्न भयो।

churot karkhana janakpur 8867091690174765.jpg

Metro Mart
vianet

‘दलमाथि प्रतिबन्धको अवस्थामा एकखालको निराशा थियो। जब तत्कालीन राजा महेन्द्रले २०२१ पुस २९ मा जचुकालिको उद्घाटन गरे, यस क्षेत्रमा नयाँ उमङ्ग फर्कियो। हजारौं मान्छे त्यो क्षणको साक्षी र हर्षबढाई गर्न आए’, शर्माले त्यो क्षण सम्झिए, ‘त्यो बेला अहिलेको जस्तो काम लिने तर समयमा नसक्ने अवस्था थिएन। त्यही कारण दुई वर्ष नबित्दै जचुकालिको उद्घाटन भयो।’

जनकपुरधाम उपमहानगरपालिका–९ मा करिब ३३ बिघा नौ कट्ठा क्षेत्रफलमा फैलिएको यो कारखाना सरकारको मात्रै होइन, नागरिकको पनि जीवनको अभिन्न अङ्ग बन्यो। ‘५० वर्ष पुरानो इतिहास बोकेको यो कारखानासँग चुरोट मात्रै होइन, देशको अर्थतन्त्र जोडिएको थियो। मधेशका जनताहरुको जीवन र नेपालीहरुको श्वास जोडिएको थियो। हुँदाखाँदाको त्यो कारखाना अहिले कङ्काल जस्तै छ’, शर्माले एकछिन निःशब्द हुँदै भने।

विस्मृति र स्मृतिका ३२ वर्ष सम्झिँदा पनि आजै हो जस्तो लाग्छ उनलाई जचुकालीको आँगनमा हाँसेको खेलेको र ३२ वर्ष लामो उर्बर समय बिताएको। उनी जचुकालिको सुरुदेखिकै साक्षी छन्। त्यसको जन्म र अवसान हुँदासम्मका हरेक पलपलको हेक्का छ। त्यसैले त यो ठाउँसँग उनको अगाध प्रेम छ। त्यही प्रेमका कारण उनले कारखानाको मूलद्वार नजिकै घर बनाए तर अहिले खण्डहरजस्तो देख्दा उनलाई नमिठो लाग्छ।

कुनै समय नेपाली अर्थतन्त्रमा जगजगी र देश विदेशमा वाहवाही कमाएको त्यो संस्थाको कङ्काल हरेर बस्नुपर्दा विगतका सम्झनाले सताउँछ। विगत ताजा बनेर आउँछ, अनि मन भक्कानिन्छ। उफ ! अहिले त यहाँ किन बस्नुपरेको होला जस्तो लाग्छ ! मनमनमा जचुकाली ‘हुम्ला-जुम्लामा चुरोटको अभाव’ भनेर त्यो बेला सञ्चारमाध्यममा समाचार आउँथ्यो जसरी अहिले चामल र औषधिको आउँछ। अनि खैलाबैला भचिन्थ्यो।

तत्कालीन विभागीय मन्त्री र उद्योग मन्त्रालयको उच्च नेतृत्वबाट फोन आएपछि जचुकालिका महानिर्देशक र सम्बद्ध कर्मचारीमा एकखालको छटपटी हुन्थ्यो। चेतनाको अभावले पनि होला त्यो बेला अहिलेको जस्तो थिएन। अधिकांश नेपालीहरु धुम्रपानको अम्मली थिए। नागरिकको त्यो अम्मललाई पूरा गर्न ७५ जिल्लामा एक सय पाँच कार्यालय राखेर जचुकालिले आफ्नो उत्पादन जिल्ला जिल्लामा पुर्याउँथ्यो।

अधिकृत पुँजी ८ करोड र जारी तथा चुक्ता पुँजी चार करोड आठ लाख ३७ हजार रहेको यस कारखानाले दैनिक दुई अर्ब खिल्ली चुरोट उत्पादन गर्ने सामथ्र्य राख्थ्यो। पछि आफ्नो आम्दानीबाट उत्पादन क्षमता बढाई तीब्र अर्ब पुर्याइयो। जचुकालिबाट त्योबेला उत्पादित चुरोटमा देउराली, याक र गैंडा निकै चर्चित ब्राण्ड थिए।

churot karkhana janakpur1690174281.jpg

उत्पादन पनि राम्रो थियो। आकर्षण पनि थियो तर सडकबाटो विस्तार नभइसकेकाले मागअनुसार आपूर्ति गर्न निकै समस्या हुन्थ्यो। पूर्व–पश्चिम महेन्द्र राजमार्ग बनेको थिएन। सुरुमा रेलको माध्यमबाट जनकपुरबाट भारतीय बाटोको प्रयोग गरी (जयनगर) रक्सौल, वीरगञ्ज हुँदै काठमाडौं, पोखरा, नेपालगञ्ज, महेन्द्रनगर, धनगढीलगायतका मुख्य बजारमा ढुवानीको व्यवस्था मिलाइन्थ्यो। पछि पूर्व–पश्चिम राजमार्ग बनेपछि आफ्नै १० वटा जति ठूलो कन्टेनरको सहारामा ढुवानीको काम हुन थाल्यो।

यसमा स्थायी, करार, ज्यालादारी गरी करिब २९ सय कर्मचारी कार्यरत थिए। जचुकालिको कर्मचारी हुनुको मान, सम्मान र सान नै अर्कै थियो। उनले भने, ‘त्यो बेला झण्डै तीन-चार करोडको त सुर्ती खरिद गरिन्थ्यो। त्यसका लागि महेन्द्रनगर, ढल्केवर, गोदार, मिर्चैयालगायतका स्थानमा स्थानीय किसानहरुले सुर्ती खेती गर्थे।

यहाँबाट कच्चा पदार्थ नपुगेपछि छिमेकी भारतबाट आपूर्ति गरिन्थ्यो।’ सुरुमा राष्ट्रिय वाणिज्य बैंकमा खाता खोलेर पैसा राखिन्थ्यो तर उसले त्यसरी राखिने पैसाको ब्याज तिर्न नसक्ने बताएपछि नेपाल बैंक लिमिटेडलाई अनुरोध गरेर कारखाना परिसरमा शाखा राखिएको उनले जानकारी दिए।

जचुकालीले कमाउने मात्रै होइन, सामाजिक उत्तरदायित्वको नीतिअनुसार कर्मचारीहरुका लागि अस्पताल, तिनका सन्तानका लागि विद्यालय र जनकपुरका धार्मिक स्थल स्तरोन्नतिका लागि सहयोग, १२ बिघा मैदानमा माटो भरान तथा पर्खाल निर्माण, सार्वजनिक स्थलमा बिजुली, खेलकूदको विकासका लागि छुट्टै क्लब स्थापना जस्ता कामहरु गरेको थियो। ‘फापेन प्रजातन्त्र’ पञ्चायतको कडा अनुशासनमा उद्योग चलिरहेको थियो।

उद्योगका कर्मचारीहरु घडीको सुईजस्तै अनुशासित थिए। उनले भने, ‘बिहान ठीक ६ बजे कारखानामा बज्ने साइरनसँगै कर्मचारी र कामदारहरु उठेर कामका लागि तयार हुन्थे। त्यसले कर्मचारीलाई मात्रै होइन, जनकपुरलाई नै ब्युँझाएको थियो, जनकपुरलाई नै एउटा लयमा हिँडाएको थियो। त्यो आवाज अहिले पनि कानमा गुञ्जिरहेको आभास हुन्छ।’

वि.सं २०४६ सालमा प्रजातन्त्र पुनःस्थापनापछि धेरैलाई पहिलो जननिर्वाचित प्रजातान्त्रिक सरकारको सपना जोडिएको यो संस्था राजनीतिक दल र त्यो सत्तालाई आफ्नो सन्तानजस्तै लाग्नेछ भन्ने लागेको थियो। कडा अनुशासनमा चलेको संस्थामा राजनीति घुस्न थाल्यो। कर्मचारीहरु राजनीतिक दलको सदस्यमा परिणत हुन थाले।

महाप्रबन्धक राजनीतिक प्रभावका आधारमा नियुक्त हुन थाले। पञ्चायतका अन्तिम महाप्रवन्धक देवेन्द्रबहादुर साहलगायतको त्यो लय र प्रजातन्त्रका पहिलो महाप्रवन्धक अमृतनाथ रेग्मीलगायतको बोली, व्यवहार र रवाफ नै फरक देखिएको उनले स्मरण गरे।

पञ्चायतकालमा मन्त्रीहरु भ्रमणमा आएको बेला केही कार्टुन चुरोट चढाउने र वर्षमा एक दुई पटक उनी निकटका पत्रकार र पत्रपत्रिकालाई दुई-चार सयको विज्ञापन दिन हुकुम हुन्थ्यो तर प्रजातन्त्र आएपछि उद्योगको नियमअनुसार काम गर्नेभन्दा पनि आफ्नो चाहनानुसार उद्योग चलाउन थालिएको उनले बताए।

churot karkhana janakpur 6661690174280.jpg

कतिपयले त उद्योगलाई कमाउने र आफ्ना निकटस्थहरुलाई भर्ति गर्ने स्थल बनाए। जनताको मनमनमा रहेको, नेपाली अर्थतन्त्रलाई चलायमान र यहाँका नागरिकको जीविकोपार्जनको भरपर्दो आधारस्तम्भ रहेको यो कारखाना २०६८ चैतदेखि उत्पादन र २०७० असार २० देखि सम्पूर्ण रूपमा बन्द भयो।

वि.सं २०७० असार २० गते मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मी नेतृत्वको सरकारले जचुकालिमा कार्यरत रहेका कर्मचारीहरूलाई अवकास दिने निर्णयसँगै यो उद्योगमा ताला लागेको छ। सोही निर्णयका आधारमा कारखानामा कार्यरत स्थायी सात सय ५८ र ज्यालादारी तथा करारका करिब दुई सय जना कर्मचारीलाई एक साथ अवकाश दिइयो।

अहिले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको एउटा शाखाले जीर्ण संरचना र मेसिनहरुको रेखदेख गरिरहेको छ। केही सुरक्षागार्डले मेसिनहरूको सुरक्षा र निगरानी गरिरहेका छन् तर कारखानामा करोडौं मूल्यका मेसिन र उपकरणहरू खिया लागेर दिन प्रतिदिन प्रयोगहीन भएको शर्माले बताए।

बन्द रहेको जनकपुर चुरोट कारखाना क्षेत्रलाई मधेस प्रदेश सरकारले आफ्नो प्रशासनिक प्रयोजनमा प्रयोग गरिरहेको छ। अहिले यहाँ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को प्रशासनिक कार्य र निवासहरु छन्। राज्यले फेरि चुरोट उत्पादन गरी बेच्ने होइन तर एउटा इतिहास बोकेको संस्थालाई राजनीतिको थलो बनाउनुभन्दा उद्यमशीलताको केन्द्र बनाउनु उपयुक्त हुने उनको भनाइ छ।   -रासस

प्रकाशित: Jul 24, 2023| 10:13 सोमबार, साउन ८, २०८०
प्रतिक्रिया दिनुहोस्