शनिबार, साउन ३१, २०८२

'गठबन्धन भत्किएर केपी ओलीको नेतृत्वमा सरकार बन्यो भने के हुन्छ?'

 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले वर्तमान गठबन्धन भत्किएर एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बने के हुन्छ भनेर प्रश्न गरेका छन्। पार्टी मुख्यालय सानेपामा जारी केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उनले आगामी चुनावमा कांग्रेसले गठबन्धन नगरी चुनाव लड्नुपर्ने बताए।

उनले भने, ‘गठबन्धन नगर्दा क-कसले चुनाव हार्थे, गफ गरेर हुन्छ? अर्को पटक गठबन्धन नगरौं भनेर मैले पनि भनिरहेको छु। एक्लै लड्न सक्ने पार्टी बनाऔं।’ अहिले गठबन्धनको विरोध गर्नुको स्वार्थ रहेको उनले बताए। ‘गठबन्धनको विरोध गरेर भएको गठबन्धन टुटाएर यसको के स्वार्थ छ? गठबन्धन भत्काउने मेलो हो। गठबन्धन भत्किएर केपी ओलीको नेतृत्वमा सरकार बन्यो भने के हुन्छ? सबैले आफ्नो ठाउँबाट जित्ने गरी बसौं,’ उनले भने।

स्वास्थ्य मन्त्रीसमेत रहेका बस्नेतले पार्टीभित्र केही नेताले गफ दिएर सबै कुरा भद्रगोल गर्न खोजेको बताए। आफ्नो क्षेत्रमा सबैले दु:ख गरेर आएको छ भन्दै उनले केही नेताले गफ दिएर पार्टीलाई भद्रगोल गर्न खोजेको आरोप लगाए।

आक्रोशित मुद्रामा प्रस्तुत भएका बस्नेतलाई सभापति शेरबहादुर देउवाले बैठक लाइभ भइरहेको छ भन्ने ख्याल गर्न सम्झाएका थिए। ‘कुनै गुटले पनि नपत्याएपछि अहिले केही मानिसहरू गुट चाहिन्न भनिरहेका छन्।  हिजो एकपछि अर्को गुटमा गएर उनीहरूले के-के अवसर लिए?’ उनले भने। उनले महामन्त्री गगन थापाको नाम नलिई टिकट वितरणबारे थापाले बोलेका अभिव्यक्तिमा कटाक्ष गरेका थिए।

‘दाइ-भाउजूले टिकट बाँड्छन् भन्ने? ठूला कुरा गर्नेहरूले स्थानीय चुनावमा सिन्धुपाल्चोकमा कारबाही सिफारिस गरेकालाई गुटबाट प्रदेश समानुपातिक उम्मेदवार सिफारिस कसले गरेको?’ उनले भने। मौका पाउँदा सबैले गुटबाट फाइदा लिएको उनको भनाइ थियो।

Metro Mart

आफूलाई गत चुनावमा हराउन खोजेको आरोपसमेत उनले बताए। ‘माओवादीका अग्निप्रसाद सापकोटा नलड्ने भएपछि सिन्धुपाल्चोक क्षेत्र १ मलाई किन दिइएन? हामीलाई दिनुपर्छ भनेर क-कसले बोल्‍नुभयो? हराउन क्षेत्र नम्बर २ मा पठाएको होइन? तपाईंहरूको दुर्भाग्य मैले चुनाव जितेर आएँ,’ बस्नेतले भने।

उनले मन्त्री हुन नपाएकाहरूले सरकारका कामकारबाहीको विरोध गरेको आरोप लगाए। साथै केहीले कांग्रेस कमजोर पार्न खोजेको उनको भनाइ थियो। ‘निश्चित व्यक्तिबाट कांग्रेस कमजोर बनाउन खोजिएको छ। पार्टी फुट्छ भन्ने प्रचार भए। घन्टी कांग्रेस, हलो कांग्रेसका कुरा आए,’ उनले भने। उनले युवा हुनुपर्ने र मै हुनुपर्ने प्रवृत्ति पार्टीभित्र हुर्किरहेको बताए। उनले गठबन्धनको विरोध नगर्न पनि आग्रह गरेका थिए।

‘पहिले माओवादी र एमाले मिल्दा सभापति शेरबहादुर देउवाले गठबन्धन गर्न सकेन भन्ने अनि अहिले गठबन्धन गर्दा गठबन्धनको विरोध गर्ने? गठबन्धन नगरेको भए क-कसले चुनाव जितेर आउँथे?’ उनले भने। उनले गठबन्धन भत्काउने काम गरे एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकार बनाउन सक्नेतर्फ पनि हेक्का राख्न आग्रह गरेका थिए।

प्रकाशित: Jul 23, 2023| 12:53 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्