आइतबार, वैशाख २७, २०८३

'कांग्रेस सभापति व्यक्ति हो, संस्था होइन'

 |  आइतबार, साउन ७, २०८०

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले पार्टीमा सभापति नै संस्था नभएको बताएका छन्। केही केन्द्रीय सदस्यले सभापति नै संस्था हो भन्ने हिसाबले धारणा राखेको उल्लेख गर्दै उनले त्यो कुरा मान्न आफू तयार नरहेको बताए।

National life

केन्द्रीय समिति बैठकमा आज धारणा राख्दै उनले भने, 'सभापति नै संस्था हो भन्ने कुरा म मान्दिनँ। संस्था भनेको विधि र पद्धतिलाई केन्द्रित गराएर एउटा समूहको संगठित आवाज हो। सभापतिलाई संस्था मान्ने सोच हामीले राख्न हुन्न। संस्थाको प्रमुख सभापति हो। विधि र नियम भए सभापति बलियो हुन्छ। सहमति भनेको आत्मसमर्पण होइन।’

उनले पार्टिभित्र पात्र होइन, प्रवृत्ति परिवर्तन हुनुपर्ने बताए। उनले चर्चित भ्रष्टाचार काण्डहरू छानबिन गर्न पार्टीले सहयोग र नेतृत्व लिनुपर्ने बताए। उनले भने,  'भुटानी शरणार्थी, बालुवाटारलगायत काण्डको छानबिन गर्नुपर्छ। नत्र हामी अर्को चुनावमा जनताका बीचबाट अस्वीकृत हुन्छौं।’ गठबन्धनको वैशाखी चढेर चुनाव जान नहुने आफूले पहिले बताएको उनले उल्लेख गरे।

केसीले स्वर्गीय सूर्यप्रसाद उपाध्यायलाई पार्टीको संस्थापक नेतामा पुनर्स्थापित गर्न प्रस्ताव राखे। इतिहासलाई मेट्न नमिल्ने भन्दै उनले यो वर्ष क्यालेण्डर बनाएरै कांग्रेस स्थापनाको हिरक जयन्ती मनाउन आग्रह गरे। केसीले यही हीरक जयन्तीबाटै सूर्यप्रसाद उपाध्यायलाई संस्थापक नेताका रूपमा पुनर्स्थापित गर्नुपर्ने बताए।

२००३ सालमा प्रजातन्त्र कांग्रेस स्थापना हुँदाका संस्थापक नेता उपाध्यायलाई कांग्रेसले आफ्ना संस्थापक नेताका रूपमा राख्ने गरेको छैन। वीपी कोइराला, सुवर्ण शमशेरहरूजस्तै सूर्यप्रसादलाई पनि संस्थापकमा राख्न केसीले माग गरेका हुन्। उपाध्याय २०१५ सालको निर्वाचनमा पूर्व २ नम्बर रामेछापबाट कांग्रेसको उम्मेदवार बने पनि गोरखा दलका बेनीबहादुर कार्कीसँग पराजित भएका थिए।

प्रकाशित: Jul 23, 2023| 12:31 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्