शनिबार, साउन ३१, २०८२

विदेश बस्ने नेपालीले नयाँ पार्टीलाई भोट दिने चौधरीको चिन्ता

 |  आइतबार, साउन ७, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

आइतबार, साउन ७, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरीले विदेशमा बस्ने नेपालीहरूले चुनावमा नयाँ पार्टीलाई भोट दिन प्रेरित गरिरहेको बताएका छन्। आइतबारको केन्द्रीय समिति बैठकमा धारणा राख्दै चौधरीले कांग्रेसले फेरि एकपटक आफूलाई रूपान्तरण गरेर अघि बढ्ने बेला आएको बताए।

उनले भने, ‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरूले पुराना पार्टीका गतिविधिका कारण हामीहरू विदेशिन बाध्य भयौं। ती पार्टीलाई भोट दिने होइन नयाँ पार्टीलाई दिने हो भन्छन्।’ उनले विदेशमा रहेका नेपालीका विषय समाधान गर्न पनि कांग्रेसले भूमिका खेल्नुपर्ने बताए। ‘जनताले रोजगारी चाहेका छन्। कांग्रेस यसका लागि सक्षम छ भन्ने सन्देश जानुपर्ने अवस्था छ,’ उनले भने।

उनले थपे, 'अहिले नयाँ नयाँ पार्टीहरु जुन रुपमा सलबलाइरहेका छन्, जुन रुपमा स्थानीय तहमा गतिविधि गरिरहेका छन्, नाम नै नसुनेका उमेदवार उठ्दा पनि हजारौं भोट पाउँछन्। खासगरी युवा पंक्तिहरु, नयाँ पढेलेखेका, देशबाहिर रहेका युवाहरुले आफ्नो परिवार, पार्टीकै परिवारका सदस्यले पनि घरमा फोन गरेर अब नयाँ पार्टीलाई भोट हाल्नुस्। पुराना पार्टीका कारण हामी विदेशिएका हौं भनेर नयाँलाई मतदान गर्न भनेर परिवारका सदस्यमा दबाब दिइरहेको अवस्थामा हामीहरु एकढिक्का हुनुको साटो आफ्नै पार्टीका कतिपय नेताहरुबाट असहयोग हुनुले स्थिति झनै गम्भीर रहेको म यहाँहरुलाई जानकारी गराउँछु।'

चौधरीले आफूलाई चुनाव हराउन पार्टीभित्रैबाट खेल भएको बताए। चौधरीले निर्वाचनको समयमा आफूले दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेको जिकिर गरे। उनले भने, 'मैले आफ्नो चुनावको अनुभव राख्दा, कस्तो स्थितिको सामना गर्नुपरो भने, मैले टिकट पाउनेबित्तिकै त्यहाँ एउटा ठूलो तप्का चुनावमा कसरी जिताउनेभन्दा पनि कसरी रोक्ने, छेक्ने, कसरी विरोधको वातावरण बनाउने अनि कसरी अफ्ठ्यारो पार्ने खालका गतिविधि भए। मेरो निर्वाचन क्षेत्रमा त कसरी अर्को विरोधी उम्मेदवारलाई विजयी गराउने भन्ने क्रियाकलापमा हाम्रै पार्टीका केही व्यक्तिहरु प्रत्यक्ष संलग्न भए। यसका प्रमाणहरु निर्वाचनकै बेला छरपष्ट भइसकेका छन्।  मैले निर्वाचनका बेला अत्यन्तै दुर्भाग्यपूर्ण स्थितिको अनुभव गरेँ। म जस्तै धेरैले यस्तो अनुभव गरेको मैले पाएको छु।'

उनले पार्टी ठूलो बनाएकोमा सभापति शेरबहादुर देउवालाई धन्यवाद पनि दिए। ‘गठबन्धन र पार्टीलाई चुनौतीका बेला पनि सुझबुझपूर्ण ढंगले अगाडि बढाउनुभयो,’ उनले भने।

Metro Mart

 

प्रकाशित: Jul 23, 2023| 12:20 आइतबार, साउन ७, २०८०
प्रतिक्रिया दिनुहोस्