काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य विमलेन्द्र निधिले पार्टीभित्र रूपान्तरण आवश्यक रहेको बताएका छन्। तर, रूपान्तरण नेतृत्वमा रहेकाहरूको अनुहार बदल्न मात्र सीमित हुन नहुनेमा उनले जोड दिए।
आइतबारको केन्द्रीय समितिमा धारणा राख्दै उनले भने, ‘आजकल देश र पार्टीभित्र पनि रूपान्तरण बहस चलेको छ। तर अनुहार, पदमात्र फेर्नु रूपान्तरण होइन।’
उनले देश र जनताका लागि काम गर्नुपर्ने बताए। साथै चुनावको तयारी अहिलेदेखि गर्नुपर्ने निधिको भनाइ छ। ‘अहिले गठबन्धन ठिकै छ। तर, ५ वर्षपछि चुनावमा कसरी कांग्रेसले बहुमत ल्याउँछ?’ उनले भने, ‘त्यसका लागि संगठन बनाउन सबै लागौं।’
उनले प्रदेशलाई अधिकार दिइनुपर्नेमा जोड दिए। बरू यसका लागि संविधान संशोधन र कानुन परिमार्जन गर्नुपर्ने भए पनि गर्नुपर्ने उनले बताए। 'अनुहार, नाम, पद फेर्नेले मात्र कांग्रेलाई रूपान्तरण र लक्ष्यमा पुर्याउँदैन। संघीयता छ, तीन तहको सरकार छ। तीनै तहमा गर्नुपर्ने काम धेरै छ, रूपान्तरणका लागि। राज्यको पुनर्संरचनापश्चात् संघीयता, लोकतान्त्रिक गणतन्त्र प्रणालीका लागि अझै काम गर्नुपर्नेछ। यसका लागि कांग्रेसलाई तयार पारौं।'
उनले पार्टीको नीति महाधिवेशन अहिलेको आवश्यकता भएको बताए। रूपान्तरणको कुरा गरिरहँदा तल्लो तहमा बस्ने मानिसको जीवनस्तर कसरी परिवर्तन हुन्छ, पार्टीको एजेन्डा त्यो हुनुपर्ने उनको भनाइ छ। 'कांग्रेसभित्रै मात्र कांग्रेसभित्र रूपान्तरण हैन। वडा र टोलमा बसोबास गर्ने सबै समुदायका जीवनस्तरमा रूपान्तरण कसरी ल्याउने हो, त्यो एजेन्डामा बहस गरौं, निर्माण गरौं। यसले पार्टी रूपान्तरण सहजै हुन्छ। त्यो अत्यन्त जरुरी छ,' उनले भने।
केन्द्रीय सदस्य निधिले व्यक्ति र नामभन्दा पनि दृष्टिकोणमा परिवर्तन गर्नु आवश्यक रहेको जिकिर गरे। 'अझै पनि नेपाली कांग्रेसमाथि जनताले भरोसा गर्छन्। पाँच वर्षपछि रूपान्तरणका लागि बहुमत ल्याउने गरी चुनावको तयारी गरौं। प्रदेशको अधिकार प्रदान गरौं। संविधान र कानुनमा संशोधन आवश्यक भए गरौं,' उनले भने।