मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • सडक ऐन संशोधन र सडक वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

सडक ऐन संशोधन र सडक वर्गीकरण प्रक्रिया छिट्टै अगाडि बढ्छ : मन्त्री ज्वाला

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

धुलिखेल– भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले पुरानो सडक ऐन संशोधन गर्नुका साथै सडक वर्गीकरण गर्ने प्रक्रिया छिट्टै अगाडि बढाइने बताएका छन्।

National life

काभ्रेपलाञ्चोकको पनौतीस्थित चौटकमा आज समाजवादी प्रेस संगठन नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आफू मन्त्री हुनेबित्तिकै गरेको पहिलो निर्णय नै यही दुई बुँदा रहेकाले त्यसलाई छिट्टै प्रक्रिया अगाडि बढाउने बताएका हुन्।

अहिले संघीय सडक, प्रदेश सडक र स्थानीय सडक कुन हो भनेर छुट्याउने अवस्था नरहेकामा अब छिट्टै त्यसको व्यवस्था गर्न मन्त्रालयले गर्ने तयारी गरिरहेको उनले बताए। मन्त्री ज्वालाले सडक सुरक्षाका लागि सडक यातायात व्यवस्था प्राधिकरणलाई तत्कालका लागि प्रमुख कार्यकारी अधिकृतको व्यवस्था गरी कामलाई अगाडि बढाउने निर्णय भएको र पछि व्यवस्थित गर्दै खुला प्रतिस्पर्धाबाट नियुक्ति गरेर अगाडि बढ्ने विषयमा मन्त्रालयले योजना बनाएको जानकारी गराए। 

उनले सडक सुरक्षा मापदण्ड बनाउने विषयमा गम्भीर भएर छलफल भइरहेको र भौतिक यातायात तथा पूर्वाधारमन्त्रीकै अध्यक्षतामा रोड सेफ्टी काउन्सिल गठन गर्ने बताए। ‘सडक सुरक्षाको विषय अत्यन्त महत्वपूर्ण छ’, उनले भने, ‘त्यसमा गम्भीरतापूर्वक काम गर्न लागिरहेको छु।’

सो क्रममा मन्त्री ज्वालाले सूर्यविनायक-धुलिखेल सडकखण्डका लागि अहिले भएको बजेटबाट काम सञ्चालन भइरहने र काममा अवरोध नहुने गरी रकमान्तर गरेर भए पनि बजेटको व्यवस्थापन गरेर कामलाई टुङ्गोमा पुर्‍याइने बताए। उनले छिट्टै स्मार्ट सवारी सञ्चालक अनुमतिपत्र उपलब्ध गराउने विषयमा छलफल भइरहेको जानकारी गराए।

सूर्यविनायक–रत्नपार्कसम्म द्रुत बस सेवा सञ्चालन गर्ने काम आगामी असोजसम्ममा गरिसक्ने उनले बताए। साथै सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्म दोस्रो चरणमा गर्ने योजनामा रहेको उनले बताए। त्यसले संघीय राजधानी आउनेजाने गर्नलाई सुविधा पुग्नेछ। 

 त्यस्तै धुलिखेलदेखि बर्दिबाससम्मको सडकलाई विस्तार गर्ने तयारीमा रहेको जनाउँदै उहाँले अब छिट्टै हुन लागेको आफ्नो जापान भ्रमणले त्यसको टुङ्गो लाग्ने बताए। त्यस्तै सडकको क्षमताभन्दा बढी भार भएका सवारीसाधन गुडाएर सडकको क्षति गराइ अस्तव्यस्त गराउने अवस्थालाई न्यूनीकरण गर्न तौल पुल प्रयोगमा ल्याउने व्यवस्था मिलाइने उनले जानकारी गराए।

प्रकाशित: Jul 22, 2023| 20:00 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्