आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेताहरुले सरकारको विरोध गरिरहँदा माधव नेपालले भने - गठबन्धन तोड्ने षडयन्त्र भयो

कांग्रेस नेताहरुले सरकारको विरोध गरिरहँदा माधव नेपालले भने - गठबन्धन तोड्ने षडयन्त्र भयो

 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा बोल्दै केन्द्रीय सदस्यहरुले अहिलेको सरकारको विरोध गरिरहेका छन्। केही कांग्रेस नेताहरुले त गृहमन्त्री र अर्थमन्त्रीको राजीनामासमेत माग गरे। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले यसअघि नै प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै संसद् नै अवरुद्ध गरेको थियो। 

National life

हाल एक क्‍विन्टल सुन प्रकरणमा नेकपा एमालेको भ्रातृसंस्था युवा संघले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा माग गर्दै शुक्रबार मसाल जुलुस नै निकालेको थियो। यसरी प्रतिपक्षले सरकारको विरोध गर्नु स्वभाविक भए पनि सत्तापक्षले नै सरकारको विरोध गरिरहँदा अर्का सत्ता साझेदा नेकपा एकीकृत समाजवादीमा अध्यक्ष माधव कुमार नेपालले पनि गठबन्धन तोड्‍ने षड्यन्त्र भइरहेको बताएका छन्। 

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले सत्तारूढ गठबन्धनलाई तोड्ने अनेक षडयन्त्र भइरहेको दाबी गरेका हुन्। अध्यक्ष नेपालले कांग्रेसलाई कम्युनिस्टहरूको शत्रु हो भन्ने पारेर पनि सत्तारुढ गठबन्धन फुटाउने सक्ने भएकाले त्यसप्रति सचेत रहन आग्रह गरे। 

शनिबार काठमाडौंमा आयोजित ‘समाजवाद : बहस र संघर्ष’ विषयक कार्यक्रममा बोल्दै उनले एमालेप्रति लक्षित गर्दै कम्युनिस्ट भनिएकाहरुले पनि प्रतिगामीहरुसँग हातेमालो गरिरहेकाले त्यसलाई बुझेर आफूहरुले पनि सत्तारुढ गठबन्धनलाई कायम राख्दै आफ्नो शक्ति वृद्धि गर्ने कुरामा केन्द्रित हुनुपर्ने बताए।

‘घुमिफिरी शत्रु भनेको कांग्रेस हो भन्ने पारेर अनि अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षडयन्त्र हुन सक्दछ। त्यसकारण अघि मैले भने व्यवहार सोचेजस्तो हुँदैन। सिद्धान्त सोचेजस्तो हुँदैन,’ नेपालले भने, 'नेपालको यथार्थको अहिलेको धरातलमा टेकेर जानु पर्दछ। किन यहाँ कम्युनिस्ट भनिएकाहरूले पनि प्रतिगामीसँग हातेमालो गरिरहेका छन?’

अध्यक्ष नेपालले जनतासँगको सम्बन्धलाई एकाकार गर्दै अघि बढ्नुपर्नेमा पनि जोड दिए। ‘यो सबै अवस्था भित्र हामीले अहिलेको सन्दर्भमा राजनीतिक मित्रहरु र सँगसँगै उसमा रहेका राजनीतिक कमजोरीहरु, उसका आफ्नै सीमाहरू बुझेर उसमाथिको निर्भरता होइन, आफ्नो शक्ति वृद्धि गर्ने कुरामा जुटनुपर्ने भएको हुनाले त्यसलाई समेत ध्यानमा राखेर हामी अघि बढौं,’ उनले भने।

अध्यक्ष नेपालले व्यक्तिवाद हावी भएकै कारण तत्कालीन नेकपा समेत विभाजित हुन पुगेको उल्लेख गर्दै त्यसबाट सिकेर अघि बढनुपर्ने बताए। पूँजीवादले मुनाफा मात्रै हेर्ने भएकाले पनि जनताको हितका लागि समाजवादको विकल्प नभएको जिकीरसमेत उनले गरे। 

प्रकाशित: Jul 22, 2023| 17:26 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्