NadaNada
आइतबार, भदौ १, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस नेताको नजरमा वीपी: राजनीति र साहित्यका च्याम्पियन, अन्तर्राष्ट्रिय छवि

वीपीको ४१औं स्मृति दिवस

कांग्रेस नेताको नजरमा वीपी: राजनीति र साहित्यका च्याम्पियन, अन्तर्राष्ट्रिय छवि

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको समयमा परेको वीपी स्मृति दिवसमा नेताहरुले वीपीको विचार, चिन्तन र योगदानलाई स्मरण गरेका छन्।
 |  शनिबार, साउन ६, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसले संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको स्मृति दिवस शनिबार विभिन्‍न कार्यक्रम गरी मनाएको छ। नेपाली राजनीति र साहित्यमा कोइरालाको योगदानको स्मरण गरी कांग्रेसले देशभर ४१ औं स्मृति दिवस मनाएको हो।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक चलिरहेको समयमा परेको वीपी स्मृति दिवसमा नेताहरुले वीपीको विचार, चिन्तन र योगदानलाई स्मरण गरेका छन्। कोइरालाको ४१ औं स्मृति दिवसको अवसरमा सुनसरीको इनरुवा नगरपालिका –९ बबियामा शनिबार पूर्ण कदको सालिक अनावरण गरिएको छ। पार्टी सभापति शेरबहादुर देउवाले शालिक अनावरण गर्दै जननायक विश्वेश्वरप्रसाद कोइरालाले गरेएको योगदानको प्रशंसा गरेका छन्।

विभिन्न राजनीतिक उतार–चढावहरू भोगेका कोइरालाले देश र जनताका लागि गरेको योगदान सदैव स्मरणीय रहने सभापति देउवाले बताए। देउवाले कोइराला राजनीतिक र साहित्य क्षेत्रका च्याम्पियन भएको उल्लेख गर्दै उनका राजनीतिन दर्शक र साहित्यिक कृति नेपाली माझ रहिरहने बताए।

सभापति देउवाले वीपी अन्तर्राष्ट्रिय रुपमा प्रभावशाली व्यक्तित्व भएको उल्लेख गर्दै भने, 'भारतमा रहेको ब्रिटिस साम्राज्यवादविरुद्ध पनि लड्नुभएका कोइराला अनेक जेल-नेता र यातना सहनुभएको थियो। लामो अनुभव बटुलेका भारतीय नेताहरूसँग वीपी कोइरालाको सुमधुर सम्बन्ध थियो।'

NG-Sunsari1690024256.jpgत्यसैगरी महामन्त्री विश्‍वप्रकाश शर्माले विश्वेश्वरप्रसाद कोइरालाको विचार र चिन्तनको जगमा कांग्रेसलाई अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्। कोइरालाको स्मृति दिवसका अवसरमा ‘प्रजातान्त्रिक विचार समाज’ले आयोजना गरेको विचार गोष्ठीमा बोल्दै महामन्त्री शर्माले बिपीको विचार र चिन्तनलाई समावेश गरेर कांग्रेस केन्द्रीय समिति अगाडि बढ्ने बताएका हुन्। उनले भने, 'लोकतान्त्रिक निधिका रुपमा हामीले बिपीलाई चिन्‍नुपर्छ, वीपी दुरदर्शी र परिपक्क नेता हुनुहुन्थ्यो, वीपी कोइरालाको विचारलाई कांग्रेसले छाडेको छैन।'

Metro Mart

नेपालको कम्युनिष्ट आन्दोलनले बिपीलाई समयमा चिन्न नसकेको गुनासो गर्दै महामन्त्री शर्माले भने, 'वीपीलाई कम्युनिष्ट आन्दोलनले चिन्‍न नसक्दा झापा आन्दोलन र माओवादी आन्दोलन भयो, उक्त आन्दोलनका कारण देशले ठूलो क्षति व्यहोर्नुपर्‍यो।'

कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले वीपीको विचार कालजयी भएको बताएका छन्। वीपी स्मृति दिवसका अवसरमा शनिबार रामेछापको भंगेरीमा आयोजित वृक्षारोपण कार्यक्रमपछि सम्बोधन गर्दै प्रमुख सचेतक लेखकले भने, 'वीपी कोइरालाले नागरिक र मुलुकको भलो प्रजातान्त्रिक समाजवादबाट मात्र हुन्छ भनेर प्रतिवादन गरेको त्यसबेलाको विचारमा आज सबै अटाउन सक्नु नै उहाँको विचार कालजयी हुनु हो।'

उनले लोकतन्त्रमा विश्वास नगर्ने कम्युनिस्टहरूलाई पनि लोकतन्त्रमा विश्वास गर्ने अवस्था बनाएको उल्लेख गर्दै वीपीले प्रतिपादन गरेको कांग्रेसको विचारले सबै विचारलाई जितेको बताएका छन्।

अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जननायक विश्वेश्वरप्रसाद कोइरालाको साहित्यलाई गाउँ-गाउँसम्म पुर्‍याउनुपर्ने बताएका छन्। वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै डा. महतले पार्टीले वीपी कोइरालाको साहित्य क्षेत्रलाई छपाएर गाउँ-गाउँसम्म पुर्‍याउनुपर्ने उल्लेख गरेका हुन्।

‘थोरै साक्षरतादर भएको समयमा वीपी कोइरालाले साहित्य सिर्जना गर्नुभएको थियो, त्यसलाई छपाएर गाउँ-गाउँमा लैजान सके युवा पुस्ताले वीपीको साहित्यबाट  प्रेरणा लिन सक्थे,' उनले भने,'प्रजातान्त्रिक समाजवादको लक्ष्य लिएर अगाडि बढ्नुभएका वीपी लोकतान्त्रिक मूल्यमान्यताका आधारमा समतामूलक समाज निर्माण हुने कल्पनाका साथ अगाडि बढ्नुभएको थियो।'

गण्डकी प्रदेश सरकारका मुख्यमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्रराज पाण्डेले वीपी कोइरालाले देखाएको बाटोमा नेपाली कांग्रेस हिँडे पनि उनले परिकल्पना गरेको आर्थिक समृद्धिमा पुग्‍न बाँकी रहेको बताएका छन्।

नेपाली कांग्रेस बागलुङले स्मृति दिवसका अवसरमा प्रसिद्ध धार्मिकस्थल बागलुङ कालिका मन्दिर परिसरमा आयोजना गरेको वृक्षरोपणपछि मुख्यमन्त्री पाण्डेले 'वीपी व्यक्ति होइन, विचार हो' भन्ने कुरा सबै राजनीतिक दलले स्वीकार गरिसकेको बताए।

उनले वीपीको समाजवादसँगै आर्थिक विकासको पाटोमा अझै धेरै काम गर्न बाँकी रहेको बताए। 'वीपीले देखाएको बाटोमा कांग्रेस हिँडिरहेको छ, अन्य दलहरुले समेत वीपीको विचारलाई मान्ने गरेका छन्, तर वीपीले परिकल्पना गरेको आर्थिक समृद्धि र आर्थिक उन्नयनको पाटोलाई सार्थकता तुल्याउन नसकेको अवस्था छ,' मुख्यमन्त्री पाण्डेयले भने, 'उहाँले परिकल्पना गरेको आर्थिक समृद्धि हासिल गर्नका लागि सबैले आ-आफ्नो स्थानबाट लागौँ, देशमै उद्योगधन्दा, कलकारखाना र पर्यटनका माध्यमबाट देश आर्थिक समृद्धितर्फ जानेछ।'

कांग्रेस केन्द्रीय सदस्य प्रदीप पौडेलले वीपी कोइराला प्रधानमन्त्री भएर १७ महिनामा गरेका काम आजसम्म कुनै पनि सरकारले गर्न नसकेको दाबी गरेका छन्। वीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेस क्षेत्र नं ५ ले आयोजना गरेको कार्यक्रममा बोल्दै पौडेलले भने, 'आर्थिक दृष्टिकोणविना राजनीति अगाडि बढ्न सक्दैन भन्ने वीपीको विचार थियो, वीपी कोइरालाको सरकारलाई अपदस्थ नगरेको भए नेपालको धेरै आर्थिक उन्नति गर्थ्यो।'

नेता पौडेलले वीपी प्रधानमन्त्री भएका बेलामा ६ हजार विद्यालय र विश्वविद्यालय स्थापना गर्ने लक्ष्य लिएको उल्लेख गर्दै भने, 'कांग्रेसले बनाउने नीति, योजना र कार्यक्रमलाई वीपी कोइरालासँग जोड्न सके मात्र उनीप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।' ३८ राजद्रोहको मुद्दा हुँदाहुँदै नेपाल फर्किएका वीपी कोइराला देशको सच्चा नेता भएको नेता पौडेलले बताए।

नेपालमा प्रजातन्त्रको स्थापनाका लागि कठोर संघर्ष गरेका कोइरालाको विसं २०३९ साउन ६ गते निधन भएको थियो। उनले नेपाली साहित्यका क्षेत्रमा पनि महत्त्वपूर्ण योगदान पुर्‍याएका छन्। कोइरालाको जन्म १९७१ भदौ २४ गते भएको हो। विसं २०१५ को संसदीय निर्वाचनपछि २०१६ जेठमा उनी पहिलो निर्वाचित प्रधानमन्त्री बनेका थिए।

नेपाली साहित्यमा मनोवैज्ञानिक यथार्थवादी धाराका प्रवर्तक कोइरालाका डेढ दर्जन कृति प्रकाशित छन्। उनका ‘तीन घुम्ती’, ‘मोदी आइन’, ‘हिटलर र यहुदी’, ‘सुम्निमा’, ‘नरेन्द्रदाइ’, एवं ‘बाबु, आमा र छोरा’ गरी छ उपन्यास प्रकाशित भएका छन्।

त्यसैगरी, दुई कथा सङ्ग्रह ‘श्वेत भैरवी’ र ‘दोषी चश्मा’,हरिप्रसाद शर्माको सम्पादनमा ‘विश्वेश्वरप्रसाद कोइरालाका कथा र कविता प्रकाशित छ। यस अवसरमा आज संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले सुन्दरीजलमा बिपी कोइराला राष्ट्रिय पुरस्कार वितरण गर्ने कार्यक्रम आयोजना गरेको छ। कांग्रेसले केन्द्रदेखि जिल्लासम्म विभिन्न कार्यक्रमको आयोजना गरेको छ।

 

प्रकाशित: Jul 22, 2023| 16:55 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्