मंगलबार, वैशाख २९, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • बैंकिङ विज्ञ बीएन घर्ती लिखित ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ प्रकाशित

बैंकिङ विज्ञ बीएन घर्ती लिखित ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ प्रकाशित

झन्डै तीन दशक बैंकिङ क्षेत्रमा बिताएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख, रचना पुस्तकमा अटाएका छन्।
 |  शनिबार, साउन ६, २०८०

नेपाल समय

नेपाल समय

शनिबार, साउन ६, २०८०

काठमाडौं– बैंकिङ क्षेत्रमा रुचि भएका सबैका लागि उपयोगी खुराक बैंकिङ विज्ञ बीएन घर्ती लिखित नयाँ पुस्तक ‘बैंकिङ अनुशासन–दिगो विकासका लागि’ बजारमा आएको छ। झन्डै तीन दशक बैंकिङ क्षेत्रमा बिताएका घर्तीले आफ्ना अनुभवदेखि अध्ययन अनुसन्धानमूलक लेख, रचना पुस्तकमा अटाएका छन्।

National life

बैंकिङ क्षेत्रका विविध विषयलाई विश्लेषण गर्दै नीतिगत मार्गदर्शन गर्ने, सचेतना जगाउने र जीवन उपयोगी हुने लेख तथा विचार पनि उनको पुस्तकमा समेटिएको छ। 
कर्मचारीलाई अनावश्यक बिक्री लक्ष्य दिँदाका बेफाइदा, पारिश्रमिक दिने गरी व्यावसायिक सञ्चालक नियुक्त गर्नुपर्ने कारण, बैंकहरू एक नम्बर हुने दौडमा सामेल हुदाँको प्रभाव, फाइनान्स कम्पनी र विकास बैंकको आवश्यकता, लघुवित्तको सकारात्मक र नकारात्मक पक्ष, बैंकिङ विकृति र नीतिगत विषयमा राष्ट्र बैंकको भूमिका, नीतिगत कमजोरीपूर्ण अवस्थालगायत विषय पुस्तकमा समावेश गरिएको छ।

पुस्तकबारे राष्ट्र बैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालले लेखक घर्ती आफैं पनि बैंकको तल्लो तहदेखि कार्यकारी नेतृत्वसम्मको जिम्मेवारी सम्हालेर अनुभव, अनुसन्धान र सिकाइमा समर्पित गरेकाले बैंक तथा वित्तीय संस्थाको जुनसुकै भूमिकामा रहेका व्यक्तिका लागि उपयोगी हुने भएकाले यो पुस्तक मार्गदर्शक बन्ने बताए।

पूर्वबैंकर सशिन जोशीले घर्तीद्वारा लिखित बैंकिङ अनुशासन शीर्षकको पुस्तकलाई नेपाली बैंकिङ इतिहासको अमूल्य खजानाको संज्ञा दिए। विगतमा भोगेका समस्याबाट पाठ सिकेर अघि बढ्न चाहनेका लागि मात्र होइन, भविष्यमा बैंकिङ व्यवसायलाई अझ बढी व्यावसायिक रुपमा व्यवस्थापन गर्न चाहने बैंकिङ पेसाकर्मी र बैंक नियामकका लागि पनि यो कृति उत्कृष्ट तालिम तथा सन्दर्भ–पुस्तक हुने जोशीको ठम्याइ छ। 

पुस्तक बढेपछि बैंकिङ क्षेत्रका कर्मचारीमा केही न केही परिवर्तन आउने लेखक घर्तीको विश्वास छ। व्यवस्थापन संकायका सबै विद्यार्थीका लागि गतिलो पाठ्यसामग्रीको रुपमा समेत पुस्तक उपयोगी हुने प्राध्यापकको भनाइ छ। 

त्रिभुवन विश्वविद्यालयमा व्यवस्थापन संकायका प्राध्यापक प्राडा विष्णु खनालले व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थीलाई सरल तरिकाले कुरा बुझाउन सक्ने क्षमता लेखक र पुस्तकमा रहेको धारणा व्यक्त गरे। 

बैंक तथा वित्तीय संस्था र इन्स्योरेन्सका विषयमा अध्ययन, अनुसन्धान र प्रशिक्षणको काम गर्दै आएका बैंक विज्ञ घर्तीको आफ्नै संस्था बैंकिङ एन्ड इन्स्योरेन्स म्यानेजमेन्ट प्रालि (बीआईएम)ले पुस्तक प्रकाशन गरेको हो।

प्रकाशित: Jul 22, 2023| 13:53 शनिबार, साउन ६, २०८०
प्रतिक्रिया दिनुहोस्