काठमाडौं–सानेपामा जारी कांग्रेस केन्द्रीय समिति बैठकमा विभिन्न सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा कांग्रेस संसदीय दलका मुख्य सचेतक एवं केन्द्रीय सदस्य रमेश लेखकले गठबन्धन सरकारको स्थायित्वका लागि जारी बैठकले एउटै दृष्टिकोण बनाएर एकमत हुनुपर्नेमा जोड दिएका छन्। गठबन्धनको स्थिरता राजनीतिक विषयसँग जोडिएकाले केन्द्रीय समिति बैठकबाट ठोस निष्कर्ष आउनुपर्ने उनले बताएका हुन्।
उनले भने, ‘सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस तीनै तहको सरकार र संसदमा ठूलो दलको हैसियतमा छ। यसलाई उपलब्धि मानिनुपर्छ।’ उनले बैठकमा सहभागीले मुलुकको आर्थिक अवस्थाबारे पनि बोल्नुपर्नेमा जोड दिए।
रोजगारी सिर्जना, सरकारी खर्च, पूर्वाधारमा निजी क्षेत्रको लगानी बढाउने, मूल्यवृद्धि नियन्त्रणलगायतका विषयमा बैठक बोलिन सके सरकार र पार्टीलाई थप जिम्मेवार बनाउन सकिने उनको धारणा छ। बैठक कांग्रेसको संगठन सुदृढीकरणमा मात्र नभई नागरिकका मुद्दामाथि केन्द्रित हुनुपर्ने सुझाव लेखकले दिए।