NadaNada
सोमबार, भदौ २, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेसलाई संकटबाट पार लगाउन सिटामोलले पुग्दैन, सर्जरी नै गर्नुपर्छ: प्रदीप

कांग्रेसलाई संकटबाट पार लगाउन सिटामोलले पुग्दैन, सर्जरी नै गर्नुपर्छ: प्रदीप

 |  शुक्रबार, साउन ५, २०८०
nespernesper

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन ५, २०८०

vianetvianet

काठमाडौं- नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले विभिन्न समयमा भएका घटनाले पार्टी संकटमा पुगेको बताएका छन्।

संकट पार लगाउन 'सिटामोल' ले नपुग्ने, सर्जरी नै गर्नुपर्ने उनको भनाइ छ। ‘कांग्रेस संकटमा छ भन्ने मानेर कसैको दाइ, भाइ र अनुयायी नभई आत्ममूल्यांकन गर्न जरूरी छ,’ शुक्रबारको केन्द्रीय समितिमा धारणा राख्दै पौडेलले भने, ‘पार्टीलाई सुधार गर्न जरूरी छ, सर्जरीकै आवश्यकता छ।’

लामो समयदेखि पार्टीमा भएका विभिन्न घटनाले पलायनता, निष्कृयता र विद्रोहको मानसिकता देखिन थालेकोले यो स्थिति अन्त्य गर्नुपर्ने उनले बताए।

उनले पार्टीलाई रूपान्तरण गरेर लैजानुपर्ने बताए। त्यसका लागि महामन्त्रीहरूले पेश गरेको एजेन्डा मात्र पर्याप्त नहुने उल्लेख गरेका छन्। पौडेलले कांग्रेसको सदस्यता वितरण खुकुलो बनाउनुपर्ने बताए। ‘कांग्रेस मासबेस पार्टी हो। यहाँ सदस्यताको वर्गीकरण गर्न हुँदैन। लिन चाहनेलाई सजिलोसँग सदस्यता दिनुपर्छ,’ उनले भने।

उनले निर्वाचन प्रणाली बदल्न कांग्रेसले नेतृत्व लिनुपर्ने बताए। प्रतिनिधि सभा समावेशीसहित २०१ सिटको पूर्ण प्रत्यक्ष हुनुपर्ने उनको भनाइ छ। राष्ट्रिय सभा समावेशीसहित ३५ सिटको बनाउन सकिने उनले बताए।

Metro Mart

उनले पार्टीका सबै तहका चुनाव प्रत्यक्ष हुनुपर्ने पनि बताए। प्राइमरी इलेक्सन गरेर उम्मेदवारहरू छनौट गर्नुपर्ने उनको भनाइ छ। ‘एक व्यक्तिलाई चार पटकभन्दा संघीय संसदको टिकट दिन हुन्न,’ उनले भने, ‘प्रदेशमा २ पटक मात्रै टिकट दिँदा राम्रो हुन्छ।’

उनले समानुपातिकमा एक पटक मात्रै अवसर दिनुपर्ने बताए। ‘मुख्यमन्त्री र मन्त्री पनि २ पटक भन्दा बढी हुन दिनु हुँदैन,’ उनले भने। कार्यसम्पादन समितिका निर्णय २ महिनाभित्र केन्द्रीय समिति बसेर अनुमोदन नभए बदर हुने व्यवस्था गर्न उनको माग छ।

उनले भ्रष्टाचारमा जोडिएकाहरूलाई छानबिनमा सहयोग गरिनुपर्ने बताए। ‘गणतन्त्रपछिका चर्चित घटनाको छानबिनको नेतृत्व कांग्रेसले गर्नुपर्छ। उच्‍च पदस्थको सम्पत्ति छानबिन गर्नुपर्छ,’ उनले भने। अहिले सरकारमा बसेर काम नगर्ने हो भने २०८४ को चुनावमा जनतासँग गएर भोट माग्ने आधारसमेत बाँकी नरहने उनले बताए।

‘अहिले केही काम गरियो र पूरा भएन भने २०८४ को चुनावमा जनताका बीचमा गएर मत माग्ने आधार बाँकी रहन्छ। अहिले सरकारमा बसेर केही काम गर्न सकिएन अबको चुनावमा मत माग्ने आधारसमेत बाँकी रहन्न,’ उनले भने।

प्रकाशित: Jul 21, 2023| 13:56 शुक्रबार, साउन ५, २०८०
प्रतिक्रिया दिनुहोस्