काठमाडौं– चौथो दिनदेखि मुख्यालय सानेपामा जारी सत्तारुढ कांग्रेसको आज पनि केन्द्रीय समिति बैठक बसिरहेको छ। आजको बैठकमा सहभागी केन्द्रीय सदस्यहरुले आ–आफ्ना धारणा राखिरहेका छन्।
बैठकमा केन्द्रीय सदस्य जितजंग बस्नेतले कांग्रेस नेताहरू भ्रष्टाचार र अनियमितताबारे नबोल्दा कार्यकर्तालाई जवाफ दिन धौ–धौ भएको बताए। उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम राईको विभिन्न भ्रष्टाचारका काण्डमा मुछिएर नाम आउँदासमेत कांग्रेस नेता र पार्टी नबोलेको भन्दै चित्त दुखाए। ‘भुटानी शरणार्थी प्रकरणमा अख्तियार प्रमुखको नाम जोडियो। कांग्रेस बोलेन, हामी बोल्न सकेनौं। भ्रष्टाचारका विषयमा नबोल्दा पार्टीको साख गुम्न सक्छ।’
बुधबार एक क्विन्टल अवैध सुन कारोबारमा एमाले अध्यक्ष केपी ओली, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पूर्वसभामुख कृष्णबहादुर महरा पनि नाम जोडिएर आए पनि कांग्रेस प्रतिक्रियाविहीन हुन उदेकलाग्दो भएको उनको भनाइ छ।
बस्नेतले भने, ‘१०० किलो अवैध सुन बरामदमा गृहमन्त्री, ओली र महराको नाम आएको छ। पार्टी र नेताले उनीहरुको राजीनामा माग्नुपर्दैन? कांग्रेस नेता भ्रष्टाचारमा मुछिएको नाम आउँदा उनीहरुले राजीनामा, छानबिन माग्ने, हामीले अहिले नमाग्ने? यसबारे नेतृत्वले सुनोस्।’ कांग्रेस नेताहरुको प्रतिस्पर्धा एकआपसमा गालीगलौज गर्नु मात्रै देखिएको बैठकले सबैलाई एकजुट बनाउनुपर्ने धारणा उनको छ।