काठमाडौं– उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बाहिरिएको एक क्विन्टल सुन प्रकरणमा राजनीतिक नेक्सस वा जोसुकै संलग्न रहे पनि कारबाहीको दायरामा ल्याइने दाबी गरेका छन्। विमानस्थल सुन प्रकरणको अनुसन्धानलाई जरैसम्म पुर्याइने र भविष्यमा यस्ता घटना हुन नदिन योजना बनाउने उनले बताए।
आज त्रिविस्थित विमानस्थल भन्सार कार्यालय अनुगमनपछि पत्रकारसँगको प्रतिक्रियामा गृहमन्त्री श्रेष्ठले बुधबार बरामद भएको र त्यसअघिका अवैध सुन प्रकरणका सत्यतथ्य खोजिने दाबी गरेका हुन्।
उनले भने, ‘सुन प्रकरणमा छानबिन र अनुसन्धानको प्रक्रिया जरैसम्म पुग्ने गरी अगाडि बढाउने हो। जस्तोसुकै र जोसुकै भए पनि अवैध कारोबारको नेक्सस र गुटमा पुग्ने गरी कारबाही प्रक्रिया अघि बढाउँछौं। यसका लागि आजै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग यही विषयमा कुराकानी गरेको छु।’
उनले अवैध क्विन्ट सुन बरामदको घटनाबारे छानबिन भइरहेकाले राज्यका अरु निकायले पनि त्यसमा सघाउनुपर्ने धारणा व्यक्त गरे। ‘भ्रष्टाचार वा अपराधका घटनामा अनुसन्धान गर्दा कुनै पार्टी, कुनै कोट, कुनै टार मलाई मतलब छैन। बदमासी गर्ने जोकोही भए पनि समातिन्छन्,’ उनले भने।