काठमाडौं- नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरुले 'वरिष्ठ नेता'को खोजी गरेका छन्। पार्टीलाई विधि र विधानअनुसार सञ्चालन गर्नुपर्ने विषयमा खरो प्रस्तुत हुँदै आएका केन्द्रीय सदस्यहरुले नै पार्टीमा अमूक व्यक्तिलाई वरिष्ठ नेता बनाउनुपर्ने प्रस्ताव गरिरहेका छन्।
कांग्रेसको विधानले 'वरिष्ठ नेता' सम्बन्धी कुनै प्रावधान राखेको छैन। विधानमा कुनै प्रावधान नभए पनि केही केन्द्रीय सदस्यहरुले भने आफू निकटका नेतालाई वरिष्ठ नेता दिनुपर्ने माग गरिरहेका छन्। नेपाली कांग्रेसको २०७५ मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा सम्पन्न महासमिति बैठकबाट केन्द्रीय कार्यसमितिलाई प्रत्यायोजित अधिकार बमोजिम महासमिति बैठकमा प्राप्त सुझावसमेतका आधारमा केन्द्रीय कार्यसमितिको २०७५ फागुन १२ गतेको बैठकबाट स्वीकृत भई संशोधनसहित पारित गरिएको विधान हो यो।
केन्द्रीय सदस्यहरुले एकातिर नेतृत्व र पदाधिकारीका कारण पार्टी विधानबमोजिम चल्न नसकेको आरोप लगाइरहेका छन् भने अर्कोतिर विधानमा नै व्यवस्था नभएको 'वरिष्ठ नेता' बनाउनुपर्ने समेत माग गरिरहेका छन्। गुटको चपेटामा पर्दा पार्टी कमजोर भइरहेको आरोप एकातिर लगाइरहेका छन् भने सोही गुटको छाया बनेर आफू निकटका व्यक्तिलाई वरिष्ठ नेता बनाउनुपर्ने मागसमेत केन्द्रीय सदस्यहरुले गरिरहेका छन्।
बैठकमा केन्द्रीय सदस्यहरु बोल्ने क्रम जारी छ। जारी बैठकमा बोल्दै केन्द्रीय सदस्य सीतादेवी देवकोटाले बुधबार गोपालमान श्रेष्ठलाई वरिष्ठ नेता बनाउन माग गरिन्। उनले भनिन्, 'गोपालमान श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता बनाइयोस्। उहाँले पार्टी बनाउन धेरै दुःख गर्नुभएको छ। पार्टीमा धेरै संघर्ष गरेको व्यक्ति हुनुहुन्छ। वरिष्ठ नेता बनाउन उपयुक्त हुन्छ।'
यसअघि चैत दोस्रो साता बसेको कार्यसम्पादन समितिको बैठकमा केन्द्रीय सदस्य जिपछिरिङ लामाले गोपालमानलाई वरिष्ठ नेता बनाउन माग गरेका थिए। उनले भनेका थिए, 'गोपालमान दाइले तत्कालीन सभापति शेरबहादुर देउवा जेलमा हुँदा ११ औं महाधिवेशन सफलतापूर्वक सम्पन्न गराउनु भयो। रामचन्द्र दाइ राष्ट्रपतिमा जानुभयो। अब गोपालमान श्रेष्ठलाई वरिष्ठ बनाउनुस् भनेको छु।'
कांग्रेस बैठकमा केन्द्रीय सदस्यहरुको बोल्ने क्रम शुक्रबार पनि जारी रहनेछ। केन्द्रीय सदस्यहरुले बैठकमा आफ्नो धारणा राख्ने क्रममा बिहीबार पनि वरिष्ठ नेताको खोजी गरेका छन्। केन्द्रीय सदस्य चन्द्रमोहन यादवले हाल २५ औं वरीयतामा रहेका र सभापतिमा पराजित शेखर कोइरालालाई पार्टीको वरिष्ठ नेता बनाउन प्रस्ताव गरे। यादवले भने, 'पार्टीमा वरिष्ठ नेताको अभ्यास छ। विगतमा रामचन्द्र पौडेल वरिष्ठ नेता हुनुहुन्थ्यो। उहाँ राष्ट्रपति भएपछि त्यो पद रिक्त छ। त्यसमा अब शेखर कोइरालालाई वरिष्ठ नेता बनाएर जानुपर्छ भन्ने प्रस्ताव गर्दछु।'
उनले त्यसरी कोइरालालाई वरिष्ठ नेता बनाउँदा पार्टीमा समन्वय, समझदारी र सहकार्यका लागि थप सजिलो हुने समेत दाबी गरे। विगतमा सभापतिमा पराजित भएको व्यक्तिलाई वरिष्ठ नेता बनाउने प्रचलन कांग्रेसमा थियो। तर, १४ औं महाधिवेशनपछि भने पार्टीले वरिष्ठ नेता बनाएको छैन। सभापति देउवाले विधानमा नै नभएको पद सिर्जना गरेर अमूक व्यक्तिलाई सुम्पिँदा विवाद हुने भन्दै 'वरिष्ठ नेता' तोकेका छैनन्।
बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको कार्यशैलीको चर्को आलोचना भइरहँदा पछिल्लो समय सभापति देउवासँग निकट देखिएका शेखरको भूमिकाको केही केन्द्रीय सदस्यले प्रशंसा गरेका छन्। केन्द्रीय सदस्य प्रकाश स्नेहीले बिहीबार बैठकमा आफ्नो धारणा राख्ने क्रममा कोइरालाको भूमिकाको प्रशंसा गर्दै भने, 'शेखर दाइले ठूलो गुटबन्दी गर्नुभएको छैन। वास्तवमा अहिले काम गर्नका लागि सभापतिजीलाई निकै सहज अवस्था हो।'
बुधबार केन्द्रीय सदस्य रामहरि खतिवडाले पार्टीमा शेखर कोइरालाले निभाएको भूमिका प्रशंसनीय भएको उल्लेख गर्दै भने, 'नेता शेखर कोइरालाले जुन भूमिका देखाइरहनुभएको छ, त्यो गुटगत हिसाबले भनौं वा प्रतिस्पर्धीको हिसाबले मात्रै हेरिएको छैन। उहाँले पार्टीको हित हेरेर काम गरिरहनुभएको छ, जुन प्रशंसा गर्न योग्य छ।'
विधानमा व्यवस्था नै नभएको 'वरिष्ठ नेता' बनाउन माग गर्ने केन्द्रीय सदस्यहरुले नै विधि र विधान अनुसार पार्टी चल्न नसकेको आरोप लगाउँदा भने उनीहरुकै आलोचना भइरहेको छ। केन्द्रीय सदस्यहरुले वरिष्ठ नेता बनाउनुपर्ने माग गरेका गोपालमान र शेखर क्रमश: पार्टीको १५औं र २५औं वरीयतामा रहेका छन्।
नेपाली कांग्रेसका पूर्वउपसभापति र कांग्रेस फुटेर नेपाली कांग्रेस (प्रजातान्त्रिक) हुँदा कार्यवाहक सभापति भएर महाधिवेशन गराएका श्रेष्ठ १५ औं वरीयतामा रहेका छन् भने कांग्रेसमा केन्द्रीय सदस्यमात्रै बनेर सीधा सभापतिमा चुनाव लडेका कोइराला पार्टीको मर्यादा क्रममा २५औं वरीयतामा छन्।
दुई साउनदेखि जारी कांग्रेस केन्द्रीय समिति बैठकमा आज ३५ जना केन्द्रीय सदस्यले बोलेका थिए।
सुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला (पौडेल), टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाह, डा. चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई. मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी., आमन्त्रित केन्द्रीय सदस्य नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आज धारणा राखेका थिए।
बैठकमा धारणा राख्ने क्रम जारी छ। बैठक शुक्रबार बिहान ११ बजे पुनः बस्नेछ।