आइतबार, वैशाख २७, २०८३
  • गृहपृष्ठ
  • राजनीति
  • कांग्रेस बैठकको तेस्रो दिन: नेतृत्व परिवर्तन बेमौसमी बाजा, बालकृष्णबारे के गर्ने ?

कांग्रेस बैठकको तेस्रो दिन: नेतृत्व परिवर्तन बेमौसमी बाजा, बालकृष्णबारे के गर्ने ?

गुटको राजनीतिले कांग्रेस ओरालो लागेकाले पार्टीलाई एकढिक्का बनाएर लैजान बैठकले ठोस पहल र निर्णय लिनुपर्ने नेतृत्वलाई केन्द्रीय सदस्यहरुको सुझाव छ।
 |  बिहीबार, साउन ४, २०८०

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ४, २०८०

काठमाडौं- दुई साउनदेखि सानेपामा जारी नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा आज बिहीबार तेस्रो दिन पनि केन्द्रीय सदस्यहरुले धारणा राखिरहेका छन्। टी ब्रेकअघि बोल्ने अधिकांश केन्द्रीय सदस्यहरुले पार्टी संगठन सुधार, नेतृत्व परिवर्तन, महामन्त्री गगन थापाबाट प्रस्तुत सांगठनिक अवधारणालगायत विषय वरपर रहेर भनाइ राखेका छन्।

National life

बैठकमा सहभागी केही केन्द्रीय सदस्यहरुले संस्थापनले नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री तथा केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन र कारबाही नगरेको भन्दै आपत्ति जनाएका छन् भने केहीले महामन्त्री थापाले संसदीय दलको नेतृत्व र पार्टी सभापति बदल्ने भनेर बोलेको कुराप्रति असहमति दर्ज गरेका छन्।

बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री एवं कांग्रेस कोशी प्रदेश सभापति उद्धव थापाले सरकारमाथि प्रश्न उठाउने अर्का सदस्य केशव बुढाथोकीलाई कारबाही गर्न माग गरे। गत निर्वाचनमा कांग्रेस उम्मेदवार हराउन बुढाथोकीले भूमिका खेलेको थापाको आरोप छ। उनले भने, ‘झापा २ मा कांग्रेस गठबन्धनको उम्मेदवार हराउने उहाँ नै हो। देउमान थेवेलाई भोट नदेऊ, हराऊ भनेर मेसेज गर्नुभएको छ। चुनावका बेला अस्ट्रेलिया जानुभयो। पार्टीलाई संकट पर्दा भागेर जाने? यस्तालाई कारबाही हुनुपर्छ।’

पार्टीभित्र अनुशासनलाई दृढतापूर्वक लागू गराउन बुढाथोकीले आग्रह गरेका थिए। जवाफमा मुख्यमन्त्री थापाले बुढाथोकीलाई एमालेका हिक्मत कार्कीलाई मुख्यमन्त्री बनाउन चुनौती दिए।

यस्तै, केन्द्रीय सदस्य प्रतिमा गौतमले निर्वाचनअघि भ्रातृ संस्था र विभाग गठन गर्नुपर्नेमा उल्टो बाटो हिँडिएको बताइन्। भ्रातृ संस्था र शुभेच्छुक संस्थालाई तदर्थवादमा राख्न नहुने उनको धारणा छ। कांग्रेसभित्रको व्यक्तिवादी प्रवृत्तिलाई प्रश्रय नदिन र अर्को निर्वाचनमा कसैको बैसाखी नटेकी मैदान उत्रिनका लागि यो बैठकले ठोस निर्णय गर्नुपर्ने उनले बताइन्।

केन्द्रीय सदस्य रंगमती शाहीले पार्टीको घोषणापत्रविपरीत बजेट ल्याइएको गुनासो गरिन्। केन्द्रीय समिति बैठकको पहिलो दिन पार्टीको वार्षिक क्यालेन्डर सार्वजनिक गरिए पनि कार्यान्वयन हुनेमा आफूहरुलाई आशंका रहेको उनले सुनाइन्। कांग्रेस गठबन्धन गरेर प्रत्यक्षमा मत पाए पनि समानुपातिकमा मत घटेको कारण खोतल्न उनले नेतृत्वलाई आग्रह गरिन्। गुटको राजनीति गर्दा पार्टी कमजोर भएको र ७ लाख सदस्य थप्ने विषय सकारात्मक भएकाले युवामुखी कार्यक्रम ल्याउनुपर्नेमा उनले जोड दिइन्।

यस्तै, केन्द्रीय सदस्य उर्मिला नेपाल केसीले पार्टीमा नेतृत्व परिवर्तनको विषय बेमौसमी बाजा भएको टिप्पणी गरिन्। उनले कांग्रेसमा वडा तहसम्मै गुट, उपगुट रहेको अवस्थामा पार्टीलाई एकढिक्का बनाएर जानुपर्ने बेला नेतृत्व परिवर्तनको विषय उठान गर्नु जायज नभएको दाबी गरिन्। उनले भनिन्, ‘कांग्रेसभित्र गुट, उपगुट झाँगिएको विषय सबैलाई थाहा छ। बैठकले गुट, उपगुट अन्त्य गर्नुपर्छ। शेरबहादुर देउवाको विकल्प कोही हुँदैन कांग्रेसमा। नेतृत्व परिवर्तन बेमौसमी बाजा हो। अधिवेशन सकिएको धेरै समय भएको छैन। नेतृत्वलाई काम गर्ने मौका दिनुपर्छ।’ गत निर्वाचनमा गठबन्धनका कारण कांग्रेसलाई ठूलो पार्टी बनाउनमा सभापति देउवाको योगदान रहेको उनको दाबी छ।

केन्द्रीय सदस्य डा. चन्द्रमोहन यादवले पार्टी बैठक लाइभ उचित भए पनि सबैलाई समेट्न नसकिएको बताए। कांग्रेसलाई पार्टी बनाउन पदाधिकारी केन्द्रीय कार्यालयमा बस्नुपर्ने, नेतालाई चाहेको समय भेट्न पाउनुपर्ने, पार्टी सभापति, महामन्त्रीसँग सबैको पहुँच हुन सके मात्रै कांग्रेस सफल हुने उनको भनाइ छ। उनले रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि रिक्त वरिष्ठ नेताको पदमा शेखर कोइरालालाई राख्दा उपर्युक्त हुने सुनाए। क्रियाशील सदस्यता वितरणमा सिन्डिकेट रहेकाले यसलाई नसुधारे पार्टीलाई क्षति हुने उनले चेतावनी दिए।

अर्का केन्द्रीय सदस्य प्रकाश स्नेही रसाइलीले राजनीतिक दल जनताको विश्वास जितेका दिनसम्म जीवित रहने हुँदा कांग्रेसले ८ लाख ६६ कार्यकर्ताका लागि मात्रै राजनीति गर्न नहुनेमा जोड दिए। तीन करोड जनताका लागि काम गर्नुपर्ने उनको धारणा छ। महामन्त्री थापाको दस्तावेजले महिला हिंसा र सामाजिक न्यायका विषयमा नबोल्नुको कारण उनले माग गरे। कांग्रेसलाई सामाजिक सञ्जालमा भ्रष्टाचारको संरक्षकको भएको दाबी गरिँदै आए पनि यसबारे नेतृत्व नबोलेको उनको गुनासो छ। पार्टीको विधानमा कसले के काम गर्ने भनेर प्रस्ट लेखेकाले पार्टी सभापति देउवालाई विधानमा उल्लिखित विषय भदौ मसान्तसम्म अक्षरश पालना गर्न उनले आग्रह गरे। महामन्त्रीलाई विधानमा अधिकार नहुँदा उनीहरु चरी जेलैमा जस्ता रहेकाले समन्वयको खाँचो उनले औंल्याए।

केन्द्रीय गुरु बरालले कांग्रेससहित ठूला दलप्रति वितृष्णा बढ्दै गएकाले यसको कारण खोजिनुपर्ने धारणा राखे। उनले भने, ‘जनताका बीचमा कांग्रेस मात्र होइन, मुलुकका ठूला पार्टीप्रति वितृष्णा बढेको छ। यसको कारणबारे केन्द्रीय समितिमा गम्भीर छलफल गर्न जरुरी छ।’

सुशासन दिन नसक्दा, भ्रष्टाचार र बेथितिले ठूला दलप्रति जनताको वितृष्णा रहेको आफूलाई लागेको उनले उल्लेख गरे। कांग्रेसले आगामी चुनावमा कसैसँग पनि तालमेल गर्न नहुने उनको धारणा छ। महामन्त्रीले ल्याएको कार्यतालिका चित्रमा राम्रो भए पनि कार्यान्वयन पक्ष मुख्य हुने उनले बताए।

केन्द्रीय सदस्य कुन्दनराज काफ्लेले पार्टीले केन्द्रीय सदस्यलाई काम दिन नसकेको गुनासो गरे। पार्टीका काम–कारबाही सञ्चार माध्यमबाट थाहा हुने परिपाटी नहटाउँदासम्म कांग्रेसलाई बलियो बनाउन नसकिने उनले दाबी गरे। उनले भने, ‘कांग्रेस आन्तरिक रूपमा अलमलमा परेको छ। सानातिना सुधार र टालटुलेबाट कांग्रेस पुरानो अवस्थामा फर्किन गाह्रो छ।’ रुखको टुप्पोमा पानी हालेर रुख मर्ने हुँदा जरोमै पानी राख्नुपर्ने अवस्था रहेको उनले सुनाए। भ्रातृ संस्था विस्तार जथाभावी नगर्न उनले नेतृत्वलाई चेतावनी दिए।

केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेर पुर्पक्षका लागि थुनामा रहेका केन्द्रीय सदस्य बालकृष्ण खाणबारे पार्टी बैठकले ठोस निर्णय लिन सक्नुपर्ने बताए। बालकृष्णलाई संरक्षण गर्दा पार्टीलाई अहित हुने उनको टिप्पणी छ। उनले बालकृष्णबारेको धारणा प्रस्ट पार्न नेतृत्वसमक्ष आग्रह गरे। 'कांग्रेस सुशासनको हिमायती भए पनि नेताहरुबाट भएका अनियमितता र भ्रष्टाचारका विषयबारे कार्यकर्ता बोल्दैनन्। पार्टीले कुनै पनि भ्रष्टाचार भ्रष्टाचारीलाई काँध थाप्नु हुँदैन। नेताबाट भ्रष्टाचार भएकै हो भने अदालतलाई जिम्मा दिएर पार्टीलाई आरोपीलाई संरक्षण गर्न छाडिदिनुपर्छ,'  उनले भने।

प्रचण्ड नेतृत्वको सरकारमा कांग्रेस रहेका बेला केन्द्रीय सदस्य खाणलाई अलग–अलग आरोपमा पुर्पक्षका लागि थुना पठाइए पनि नेतृत्व नबोलेको भन्दै उनले रोष प्रकट गरे। उनले भने, ‘सभापतिज्यू, यो प्रकरणमा हाम्रो द्विविधा अचम्मकै छ। वरिष्ठ केन्द्रीय सदस्य खाणप्रति अन्याय भयो भन्ने हो भने कांग्रेस सरकारबाट हट्नुपर्यो। होइन भने आफ्नै साथीहरू संलग्न सरकारले थुनामा पठाउँदा आरोपी निलम्बन गर्नुपर्छ कि पर्दैन?'

प्रकाशित: Jul 20, 2023| 15:18 बिहीबार, साउन ४, २०८०
प्रतिक्रिया दिनुहोस्